हेटौँडामा प्रदेश विश्वविद्यालय स्थापना गर्न सहकार्य आवश्यक छः मुख्यमन्त्री पौडेल



१० असार २०७७, मकवानपुर

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायित्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र विकासको पूर्वाधार दीगो हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभा बैठकको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै प्रदेश सरकार र स्थानीय निकायको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्न नगरसभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गरे ।

उनले वाग्मती प्रदेशको हेटौँडामा प्रदेश विश्वविद्यालयको स्थापना गर्न र हेटौँडा अस्पतालकोस्तर उन्नतिको लागि प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्य आवश्यक रहेको र भविष्यमा ती योजनालाई कार्यान्वयन गर्न बजेट विनियोजित गर्न आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधिले आपसमा समझदारी कायम गरेर नगरक्षेत्रको वातावरणमा सुधार, खानेपानी, पर्यटन, खेलकूद, साहित्य र भ्यू टावर जस्ता योजनालाई सञ्चालन गर्न आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताए ।

उनले कोभिडको प्रभावले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई प्रत्यक्ष रोजगारको लागि वैकल्पिक रुपमा आय–आर्जन गर्ने प्याकेज कार्यक्रम ल्याउन पनि स्थानीय जनप्रतिनिधिलाई आह्वान गरे । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले आगामी आव ०७७÷७८ को लागि कूल दुई अर्ब ८६ करोड ६६ लाखको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् ।

सार्वजनिक गरिएको बजेटमा मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक स्थापित भएको पुरानो चुरिया सुरुङमार्ग सञ्चालन गर्ने र हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडामा निर्मित मनमोहन भ्यू टावरको स्तरोउन्नति गरी प्राविधिक प्रविधिबाट सञ्चालन गर्नेतर्फ बजेट विनियोजित गरिएको उनले बताइन् ।

उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट मृत्यु भएमा मृतकका आफन्तलाई रु तीन लाख राहतस्वरुप उपलब्ध गराउने उल्लेख छ । नगरमा जैविक फोहरको व्यवस्थापन र वैकल्पिक ऊर्जाको उत्पादन गर्ने, हेटौँडामा बिपी गणेशमान र मनमोहन पार्कको स्थापना गर्ने योजनालाई कार्यान्वयन गर्ने तर्फ जोड दिइएको छ ।

त्यसैगरी हेटौँडा अस्पतालमा मिर्गौला बिरामीलाई नियमित डाइलाइसिस सेवा उपलब्ध गराउनेतर्फ आवश्यक व्यवस्थापन गरिसकिएको र छिट्टै डाइलाइसिस सेवा शुरु गरिने पनि उपप्रमुख लामाले जानकारी दिइन् । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रभित्रका वडामा वातावरणको सुधार, खानेपानी, सडक, ढलको निकास, सडक कालोपत्र, वृक्षरोपण र कोभिड पत्रकार बीमा गर्ने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले सो अवसरमा मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई उपमहानगरपालिकाको तर्फबाट अग्रज पत्रकारिता पुरस्कारबाट सम्मान गरे । उनले नगद रु १७ हजारसहित प्रशंसापत्र प्राप्त गरेका छन् ।

यसैगरी विकास पत्रकारिता पुरस्कारतर्फ सुदिप शिवाकोटी, सुवास विडारी सरिता दाहाल, प्रकाश दाहाल, कृष्णउदास खनाल र सुरेश श्रेष्ठलाई सो अवसरमा पुरस्कृत गरियो । उनीहरुलाई नगद रु १३ हजार ५०० र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्