महिला सुरक्षित हुने दिन कहिले आउँछ ?



महिला सुरक्षित हुने दिन कहिले आउँछ ?

मानव सर्वोकृष्ट र संवेदनशील प्राणी । मानवता र नैतिकता मानवमा हुनुपर्ने गुण तर अहिलेको २१औं शताब्दीमा यस्ता गुण विलीन हुँदै छन् । मानिस भौतिक सुखसुबिधा लिप्त हुन लागे । योग ,ध्यान र पाठपूजा त मानौं एकादेशको कहानी जस्तो हुन लाग्यो । हाम्रा बाजे बराजु तथा पूर्खाले गर्दै आएका कतिपय काम कुरालाई नजरअन्दाज गर्दैछौं । र ती वैज्ञानिक भएपनी हामीले अनुसरण गर्न हिच्किचाउँछौं । आधुनिकता पछ्याउँदै गर्दा हाम्रा मूल्य मान्यता हराउँदै गरेको हामीले देखिरहेका छौं । जताततै छलकपट, काटमार, हिंसा, विभेद र बलात्कारका समाचार दिनानुदिन सुन्नमा आइरहेका छन् । समयमै हामी मानवजातिले बुद्धि नपुराउने हो भने मानवता के हो भन्न इतिहास पल्टाउनुपर्ने दिन नआउला भनेर भन्न सकिँदैन ।

अहिले विश्व नै कोरोनाको महामारीमा डुबेको छ । लाखौं मानिसले ज्यान गुमाइरहेका छन् । यस्तो बेलामा पनि मानिस संवेदनशील नभएर विभिन्न घटनाहरु घटाइएहेका छन् । कतै भष्ट्राचार, कतै काट्मार,कतै लूटपात त कतै बलात्कार भइनैरहेका छन् । मानिस पशुभन्दा पनि संवेदनहीन भएका छन् । मानिसमा स्वार्थीपनको हावी भएको अनुमान सजिलैसँग गर्न सकिन्छ ।

यस्तो किन भैरहेको छ त । मानिसमा नकारात्मक सोच बढी भएको विभिन्न अनुसन्धान तथा खोजले बताएको छ । आजकल हरेक कुरामा मानिसले अनावश्यक प्रतिस्पर्धा गर्न थालेका छन्, जसले गर्दा मानसिक रोगको शिकार भैरहेका छन् । आजकल समाचार पढ्दा लाग्छ, मानिस मसिनजस्तै भावहीन भएका छन् । बच्चदेखि प्रौढसम्मको हातमा मोबाइल छ, जसले गर्दा चाहिने नचाहिने कुराहरु देखेर तथा पढेर राम्रोभन्दा पनि नराम्रो कुराहरुको अनुसरण गरिरहेका छन् । आपराधिक गतिविधिहरु सजिलैसँग गर्न सक्ने आँट गर्दछन् ।

अहिले विश्वभरी नै बलात्कार जस्तो जघन्य अपराधहरु बढिरहेका छ । लाग्छ, मानिस हिंस्रक बनिरहेको छ । यस्तो गतिविधि पकै पनि गम्भीर मानसिक रोगीहरुको हुनुपर्दछ । जुन, मानवरुपी दानव हुन् । यहाँ त न एउटा छिमेकीले अर्को छिमेकीलाई, दिदीबहिनीले दाजुभाइलाई, छोरीले बाबुको, कुनै पनि अफिस तथा घरमा काम गर्ने महिलाले हाकिम तथा मालिकको, केटी साथीको केटा साथीको, बिरामीले डाक्टरको, विद्यार्थीले शिक्षकको, बाटोमा हिँड्ने बटुवाको विश्वास गर्न सकिने नै स्थिति कहाँ छ र ? हरेक उमेरका चेलीबटी र नारी बलात्कारको शिकार भएको दिनानुदिन आएका समाचारले पुष्टि गर्दछ । कहीँकतै पनि नारी सुरक्षित छ्रैनन् । घरका परिवार आफ्ना छोरी बुहारी घर आइनपुग्ने बेलासम्म तनावमा हुन्छन् । कुनै पनि परिस्थिति किन नहोस् नारी लुटिएकै छन् ।

गत ३१ जेष्ठकै घटनालाई लिऔं, कैलालीको क्वारेन्टाइनमा बसेकी महिलालाई समेत ती तीन स्वास्थ्य स्वयंसेवकले छोडेनन् । महिलाले पीडामाथि पीडा सहन बाध्य छन् । महिलाले यस्तो पीडा कहिलेसम्म सहने ? कतिपय केश त इज्जतको डरले लुकाउन बाध्य छन् नारी । एक त बलात्कारीको शिकार अर्कोतिर समाजले हेर्ने दृष्टिकोणको कारणले कति महिला त आत्महत्या समेत गरेको घटनाहरु पनि छन् । कति महिला त बलात्कृत भएपछि मारिएका पनि छन् । कुनै जिउँदै जलाएर त कुनै छुरा तथा घाँटी रेटेर । यस्ता घटना सुन्दा र पढ्दा पनि आङ सिरिङ्ग भएर आउँछ । बिचरा ! त्यस्तो भोगेकोलाई कति पीडा हुन्छ होला सोच्दा पनि निसासिन्छ ।

हुन त सबै पुरुष बलात्कारी अवश्य हुँदैनन् । धेरै पुरुषहरू महिलाको सम्मान हर्ने, उनीहरुको हकाअधिकारको बारेमा लड्ने र आँखामा राखे पनि नबिझाउने छन् । तर, पिचासरुपी पुरुषको अमानवीय व्यवहारले गर्दा कतिपटक त सज्जन पुरुषले पनि पुरुष भएकोमा ग्लानी महसुस गरेको हुनुपर्दछ । यहाँ त्यस्ता बलात्कारी पुरुषहरूको बारेमा लेख्न मन लागेको, जसले एक पटक पनि सोच्दैन कि क्या हो, तिनीहरुको पनि नारीकै गर्भबाट जन्म भएको हो भनेर । घरमा आमा, दिदीबहिनी तथा श्रीमती पनि नारी हुन भन्ने । सायद त्यति सोच्न सक्ने भए मानवै हुन्थे होलान् नी ।

त्यस्ता अपराधीलाई बाँच्ने कुनै अधिकार हुँदैन । समाजका त्यस्ता काँडा जतिसक्दो छिटो पन्छाएकै राम्रो । ती आमाहरुलाई सम्झेर दुःख लाग्छ, त्यस्ता हिंस्रक सन्तान जन्मेकोमा उनीहरुको आत्मा कति रुन्छ होला ? बिचरा ! आफ्नो कोखलाई कति सराप्छिन् होला । धिक्कार छ, ती मानवरुपी दानवलाई जसले आमाको आत्मा पनि जलायो ।

हाम्रो संविधानमा त्यस्ता अपराधीलाई फाँसीको सजाय दिने कानून बनाउनु जरुरी छ । ती धर्तिका बोझ हुन् । त्यसैले शक्ति र पैसाको आडमा कुनै पनि अपराधी फुत्किन नपाउन् । संविधानका नियम कानून् ठूलाबडाको लागि चैन र सामन्य जनताको लागि ऐन नबनोस् । प्रत्येक आमा बाबू तथा घरका सदस्यले छोरालाई पनि राम्रो संस्कार दिऔं । नारीलाई माया साथसाथै सम्मान गर्न सिकाऔं । कतिपय व्यक्ति घरमा राम्रो वातावरण नपाएर हिंस्रक बनेका छन् ।

जसले गर्दा समाजमा जघन्य अपराध बढिरहेको छ । साथै बाबुआमाले पनि छोरीलाई सानैदेखि अनावश्यक दमन, पीडा र विभदेवि?द्ध डटेर सामना गर्न सिकाऔं । आइलाग्नेमाथि जाइलाग्न सक्नुपर्छ । अनि त्यतै किसिमको सीप सिकाऔं, सहनशील मात्रै होइन, परेको बेलामा कालीको ?प धारणा गर्न पनि सिकाऔं ।
आशा गरौं महिला हिंसा जतिसक्दो छिटो अन्त होस् ।

-सनम आचार्य सापकोटा

प्रकाशितः ०५ असार २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्