‘मनिषा दिदीको कर्मभूमि भारत भएपनि मातृभूमि नेपाल हो’ : धुर्मुस



१० जेठ २०७७, काठमाडौँ

मनिषा कोइरालाको समर्थनमा धुर्मुसले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले सुरुमा त नेपाल सरकारले नेपालको भूमि लिपुलेक र कालापानी समेटेको नक्सा सार्वजनिक गरेकोमो धन्यावाद दिए त्यसपछि मनिषाको पनि प्रशंसा गरे ।

उनले मनिषाको विरोध भारतले गर्नु पूर्ण रुपमा अर्थविहिन रहेको बताएका छन् । उनले कर्मथलो भारत भएपनि मनिषाको मातृभूमि नेपाल नै भएको र यो कुरालाई कसैले नकार्न नमिल्ने बताएका छन् ।

उनले मनिषाको लागि आफ्नो साथ, समर्थन र सम्मान सधैँ नै रहेको बताएका छन् ।

यस्तो छ धुर्मुसको स्टाटस-

हरेक सुख दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता हो । भुकम्पको पीडा होस् या संबिधान जारी गर्दाको खुसी, नाकाबन्दीको दुःख होस् या लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, यसले हाम्रो एकता कायम गरेकै छौं ।

सबैलाई आफ्नो देश प्यारो हुन्छ । सबैलाई आफ्नो छिमेक आवश्यक हुन्छ । तर छिमेकी छिमेकीको सम्बन्ध आकारले होईन भावनाले समान हुनुपर्छ । हामी भारतसँग यही चाहन्छौं । नेपाल सरकारलाई हार्दिक धन्यवाद जसले हाम्रो देशको सर्वाङ्ग तस्वीर सार्बजनिक गरेको छ । अब यसैगरी कुटनैतिक ढङ्गले भु भाग फर्काउन पहल गरौं । जसमा हामी राजनैतिक रङमा बाँडिएर हैन नेपालीको सुत्रमा बाँधिने छौं ।

हामीलाई कसैको भु-भाग जित्नु छैन, संसारको मन जित्नु छ र नेपाल आमाको रक्षा गर्नुछ ।

प्रसंग मनिषा कोईराला दिदीको, मनिषा कोईराला हिन्दी चलचित्रकी नायिका मात्र नभएर बि.पी. कोईरलाकी नातिनी पनि हुनुहुन्छ । जसका हजुरबाले आफ्नो सिंगो जीवन नेपालको हितका लागि दिनुभयो । उहाँको कर्मभुमी भारत होला तर उहाँको मातृभुमी नेपाल हो । उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन छ। त्यसको घोर भत्सना गर्दै दिदी प्रति उच्च सम्मान, साथ र समर्थन छ ।

अन्त्यमा, हल्ला र कोलाहलबाट हैन समस्या बार्ताबाट नै समाधान हुन्छ । हाम्रा सम्माननीय प्रधानमन्त्रीले भनेझैं सिंहको हैन् सत्यको जीत चाहान्छौं ।

 

प्रतिक्रिया दिनुहोस्