‘भारतको पछिल्लो गतिविधी हामीलाई विल्कुलै स्वीकार्य छैन’ : राजेश हमाल



०८ जेठ २०७७, काठमाडौँ

नेपाल सरकारले लिपुलेक र कालापानी समेटेको नक्शा सार्वजनिक गरेपछि अहिले नेपाल र भारतीय मिडियामा यहि विषयमा मात्र चर्चा भैरहेको छ । नायिका मनिषा कोइरालाले एक ट्वीटमार्फत नेपालको समर्थन गरेपछि भारतीय मिडियाले उनलाई निकै आलोचना गरिरहेको छ ।

यसबारे नेपाली कलाकारले पनि आफ्नो विचार राखिरहेका छन् । महानायक राजेश हमालले पनि एक भिडियो सार्वजनिक गर्दै यसबारे आफ्नो विचार राखेका छन् । उनले भिडियो अंग्रेजी भाषामा तयार पारेका छन् ।

उनले हाल भारतले गरिरहेको गतिविधी नेपाललाई स्वीकार्य नभएको बताएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो ।’

हमालले भारतको पछिल्लो समयको गतिविधी स्विकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले, सम्पुर्ण नेपाली जनताले आफ्नो सिमाको बिषयमा कुनै पनि खालको संझौता नगर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कुटनितिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्