लकडाउन : एक सुवर्ण अवसर



२० वैशाख २०७७, काठमाडौं

कुनै बेला राजा त्रिभुवन गाउँमा सवार भएछन् । घरबाट केही मान्छे निस्केछन् र भनेछन्, सरकार भोक लाग्यो । हामीलाई खाना चाहियो । यो सुनेपछि राजाले भनेछन्, के यिनीहरुले दूध र भात पनि खान पाएका छैनन् ? स्मरण रहोस् दूध र भात धनी मानीहरुको मात्र भोजन हुन्थ्यो त्यसबेला । प्रसङ्ग कोरोना महाव्याधि । वर्तमान सरकारले पनि त्रिभुवनकै चस्माले देशलाई नियालिरहेको छ ।

विश्वव्यापी महाव्याधिकै रुप ग्रहण गरेको कोरेना महामारीका कारण संसारले जति क्षति व्यहोर्नु परेको छ, यति क्षति कहिल्यै व्यहार्नु परेको थिएन । संसारकै लामो युद्धको नामले चिनिएको बाह्रौंदेखि चौधौँ शताब्दीसम्म चलेको धार्मिक युद्ध होस् या अन्य विश्वयुद्ध हुन् यत्तिको क्षति भएको थिएन । आज विश्व नै लकडाउन नामक नजरबन्दमा छ । विश्ववासीहरु त्राहिमाम भइरहेका छन् मानौं, डाक्टरले ब्लड क्यान्सरको बिरामीदाई एक हप्ताको डेट दिएको जस्तो । मिनेट मिनेटमा मृत्युको खबर आइरहेका छ । आफू पनि कतिबेला मरिने हो ? यही संत्रासले विश्व भावविह्वल भइरहेको छ ।

संसारको महाशक्ति राष्ट्र अमेरिमा नै मृत्युको दर सबैभन्दा बढी छ । संसारले करिब सवा दुई लाखभन्दा बढी मानिसले भाइरसका कारणले ज्यान गुमाउनु भनेको सक्काइसौँ शताब्दी र समग्र विज्ञानप्रविधिलाई नै चुनौती हो । कोरोना प्राकृतिक महामारी हो या कृतिम यो त समयले बताउला यद्दपि विश्व स्वास्थ्य सङ्गठनसँग सम्बद्ध वैज्ञानिक इग्नोर निकोलिनले यो मानव निर्मित नै हो र यसको उत्पादन पनि अमेरिकाले नै गरेको बताएका छन् । यस अघि पनि अमेरिकाले इरानलाई लक्षित गरी भाइस बनाएको उनको दाबी छ ।

नेपालमा यो भाइरस माघ १०,२०७६ मै देखिएको थियो । तर नेपाल सरकारले वास्तै गरेन । विश्व स्वास्थ्य सङ्गठनले बारम्बार नेपाल उच्च जोखिममा रहेको बताउदा पनि नसुनेको सरकारले चैत ५ गते सम्पूर्ण नेपालीलाई त्रसित बनाउँदै ६ गतेदेखि हुने एसइइ नै रोक्ने आदेश दियो । सम्पूर्ण तयारी भैसकेको अवस्थामा एकातिर सरकारको मिहनेत र लगानी खेर गयो भने अर्काे तिर लाखौँ विद्यार्थी घण्टौँ हिँडेर केन्द्रमा आई होटेलमा बस्दा हजारौँ रुपियाँ खर्च भैसकेको थियो ।

हुनत माध्यमिक तह कक्षा १२ सम्मलाई मानिसकेपछि एसइइमा तामझाम देखाउनुको कुनै तुक छैन । तर, बनाउनकै लागि गरिएको तयारीमा राष्ट्रले विनासित्ती ठूलो क्षति ब्यहोर्नुपर्याे । मेरो विचारमा एसइइ नै हुन नसक्ने वा बनाउन नसक्ने महामारी आएको थिएन र अहिले पनि छैन । देश नै ठप्प बनाउनुभन्दा पहिले अन्तर्राष्ट्रिय हवाई उडान रोकेर खुला सिमाना सिल गरेको भए जनता तर्सिने नि थिएनन् । लाखौँ विद्यार्थीको शैक्षणिक गन्तव्य अनिश्चि पनि हुने थिएन । यो नियोजित कृतिम महामारी सिर्जना गरिएको थियो भन्ने कुरा लक्डाउनपछिको सरकारका गतिविधिले छर्लङ पारेका छन् ।

लकडाउनको पछिल्लो अवस्थालाई हेर्दा लाखौँ मजदुरहरुको बिचल्ली भएको छ । हजारौँ जनताले खानै नपाइरहेको तथ्य सार्वजनिक भइरहेका छन् । हुने नै भए । नेपालमा करिव २५ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि पर्दछन्, जसको मासिक आम्दानी ३ हजारभन्दा कम रहेको छ । विहान काम नगरे बेलुकी खाना नपाउने यो जनसङ्ख्याले दुई दुई महिनासम्म काम नपाउदा के अवस्था होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

बिचमै अल्पत्र परेका मजदूरहरु एक हप्तामा लकडाउन खुल्ने आशाले दुखजिलो गरी कुरे । त्यसपछि अर्का हप्ता र फेरि पन्ध्र दिन थपेपछि मर्नुभन्दा बहुलाउनु सही भन्दै , मरेपनि आफ्नै घरमा मरौला भन्ने ठानेर काखमा दूधमुखे बालकसहित, बालक, बृद्ध, गर्भवती, सुत्केरी सबैले आँट गरे सयौँ किलोमिटरको यात्रा पैदल । यो दृष्य पत्रकारले देख्छन् फोटो खिच्छन् सरकारले देखे केही उपाय देला भनेर । तर उल्टै प्रधानमन्त्री भन्छन् सरकारले नदेख्ने यात्रीलाई पत्रकारले कसरी देख्यो? यहाँ षडयन्त्र भैरहेको छ । मानौँ ती दृष्य कुनै नाटकका पटकथा हुन् ।

सरकार भन्छ ८० करोड राहत बाँडिक्यौ अझै कोही भोकै छर ? यदि कोही भोकै छु भन्यो भने सरकारले षड्यन्त्र ठानेर जेल हाल्न पछि पर्ने छैन । ८० करोड सिद्धिसकेपछि अब अर्काे किसिमको राहत प्याकेज पनि आयो । काम गरेपछि राहत पाइने रे । के काइते कुरा हो यो ? काम गरेपछि त पारिश्रमिक पो पाउनु पर्ने हो । राहत त काम गर्न नपाउने र नसक्ने बेला पो सक्नेले नसक्नेलाई हुनेले नहुनेलाई दिने सहयोग हो । जसले तत्कालीन अवस्थामा जीवन रक्षा गर्छ । सरकारले काम दिने, रोजगारी सिर्जना गर्ने कुरा त राम्रो हो । तर काम नगरेका कारण बाँच्नै पाउँदैनौ भन्न मिल्ला र ?

विश्वका सबै मुलुकका शासकहरु कोरोनाबाट कसरी आफ्नो जनतालाई सुरक्षित बनाउने कुरामै चिन्तित छन् । उनीहरुको ध्यान कोरोनाको औषधिदेखि जनताको जिउज्यानको रक्षामा नै केन्द्रित देखिन्छ ।

नेपालभने जनतालाई घरभित्र राखेर, सडकमा प्रहरी परिचालन गरी भ्रष्टाचारमा लिप्त छ । नाफाखोरी र कमिसनखोरी कार्यमा तल्लीन छ । कालोबजारियासँग मितेरी साइनो गाँसिरहेछ । दुई महिना अघिका फाइललाई खोल्दै नखोली रातारात २४ घण्टे टेण्डर खोल्छ । टेण्डरको अवधि नसकिँदै ओम्नीले सामान प्याक गरिसकेको हुन्छ । अनुमति भन्दा बढी सामान ल्याइन्छ । बजार मूल्यभन्दा दसौँ गुणा महङ्गोमा ल्याइएका सामाग्री पनि काम नलाग्ने डाक्टरहरु बताउँछन् । सर्वत्र विरोध हुन्छ । अन्नतः ओम्नीसँगको सम्झौता रातारात रद्द हुन्छ । तर छानविन हुँदैन । फेरि कुनै न कुनै मिसिमको कारोबार ओम्नीसँगै भइरहेको छ जबकि उक्त कम्पनीलाई कालो सूचीमा राखी कारबाही गर्नुपर्ने हो ।

सरकार प्रमुखको उद्देश्य अर्काको पार्टी फुटाउनु रहेको सरकार प्रमुखले नै बोल्छन् । त्यही गर्न मिल्ने अध्यादेश ल्याउँछन् चोर ढोकाबाट । संवैधानिक निकाय जस्तो स्वतन्त्र निकायमा दुईजनाले नियुक्ति दिन मिल्ने गरी अध्यादेश आउँछ । कठैबरा यो अध्यादेश ल्याएर राजपालाई फोरेर संसदीय बहुमत र केन्द्रीय बहुमत आफ्नो पक्षमा पार्ने र संवैधानिक निकायमा आफ्नो आसेपासेलाई राखी मन्त्री र आफन्तलाई अरवपति बनाउने ओलीको चहाना चारदिन पनि टिकेन । उता संसद उपहरणजस्तो आरोप सरकारले खेपिरहेको छ । यस्ता कुकृत्यमा सरकार छ भने सरकारको नियत के रहेछ स्पष्ट छ ।

हाम्रो जस्तो सानो पूँजी भएको देशको अर्थतन्त्र उठ्ननसक्ने गरी थला परिसक्यो । किसानको उत्पादन विक्री भाको छैन । दूधले सडक पखाल्न थालिएको छ । तरकारी बारीमा ट्याक्टर लाउनु परेको छ । फर्ममै कुखुरा मरिरहेका छन् । दानापानी केही पाइको छैन । सरकारले यसबेला वैकल्पिक उपायले क्षति कम गर्न सकिने उपाय हुँदाहुँदै कुनै चासो देखाएको छैन । साना किसान र व्यावसायी पूरै धरापमा छन् ।

जनता त्रासमा छन् । बाहिर निस्क्यो भने पुलिसले भाटा हानी हाल्छ । रोगीहरुले उपचार पाको छैन । बृद्ध र बालकहरु सबैभन्दा जोखिममा छन् । गर्भवती र सुत्केरीहरु अकालमा मर्न सक्ने खतरा छ । मजदूरहरुको हरिबिजोक छ । हजारौंले रोजगार गुमाएका छन् । सीमापारी हुनेको कथा बेल्लै । आफू सीमापारी घरमा कसैले सन्तान गुमाएका छन् । कसैले आमा–बाउ । यो दुःखद घडीमा घरपरवारसँग रहेर दुःख बाडफाँट गर्नुपर्ने बेला पराईको गाली खादै आँसु पिउनु परिरहेछ ।

जनताले सरकारलाई कहिले भ्रष्टाचारको आहालमा देख्छन् कहिले कालो बजारियासँग सम्धी मिलाप गरिरहेको देख्छन् । कहिले सत्ताको अङ्गरक्षक बनेको देख्छन् । कहिले कुर्सीको पालेको रुपमा देख्छन् । त्यहाँभन्दा बाहिर सरकारलाई नि लकडाउन छ । उसको जनतालाई सुझाव छ । घरमै बसी कोरोना जित्नुपर्छ ।

न सदन चलेको छ । न प्रतिपक्ष सम्पर्कमा छ । न जनता सडकमा छ । सरकारलाई लकडाउन फलिफाप भइरहेको छ । मौकामा चौका हानेको हान्यै । लकडाउन थपिरहनु पर्छ । किनकि सत्ताका सबै तजविज आफू अनुकूल भैरहेका छैनन् । राजनैतिक स्वार्थ पूरा भाका छैनन् । यतिसम्म थपौं ।

सरकारका गल्ती जनताले नबिर्सिन्जेल सम्म । प्रतिपक्षको रिस नमरुन्जेलसम्म । वश ! यही विराट लक्ष्यसहित सरकार युध्दस्तरमा काम गरिरहेको छ ।

यो चरम विकृतिमा, कुकृत्यमा, अभावमा, उत्पीडनमा, विध्न समस्यामा पनि चुइक्क एक शब्द नबोली घरमा बसिरहन सक्नु नेपाली जनताको महानता हो ।

-जिएस स्मिथ

प्रतिक्रिया दिनुहोस्