एनटीएको राहत वितरण जारी



१७ बैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितिबाट मारमा परेका विभिन्न वर्गका परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत वितरणको कार्य जारी राखेको छ ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन लागू भएपछि हालसम्म एनटीएले करिब १ सय ५६ परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिसकेको एनटीएका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् । उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ९ वडा, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बाल आश्रम, बृद्धा आश्रममा राहत वितरण गरिएको छ । विपन्न खेलाडीका परिवार, दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर, सुत्केरी, अपाङ्ग र सुकुम्वासीलाई राहत प्रदान गरिएको हो ।

त्यस्तै २ स्वास्थ्य चौकी र १ प्रहरी चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको एनटीएले मृगौला रोगबाट पीडित २ जनालाई आर्थिक सहयोग पनि प्रदान गरेको छ । एनटीएसहित स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकको सहयोगमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्