वडा कार्यालयमै स्थानीयको भीड



०९ बैशाख २०७७, भजनी

टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् ।

वडा कार्यालयले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रही ढङ्गले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको भन्दै स्थानीयले धर्ना दिन सुरु गरेका हुन् ।

नगरपालिका वडा नंं. १ मा सबैभन्दा बढी समस्या देखिएको छ । राहतका लागि सङ्कलन भएको तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाहरु दिनहुँ वडा कार्यालयमा धर्ना दिने गरेका छन् । सामाजिक दूरी समेत कायम गरिएको छैन

एउटै टोलमा कसैले पाउने कसैले नपाउने भएको छ । साँंझ–बिहानको छाक दिनभरि श्रम गरेर मात्र पुग्ने श्रमिकहरुले राहत नपाएको र नगरपालिकाले आफूअनुकूल हुने गरी राहत वितरण गरेको गुनासो आइरहेको छ ।

टीकापुर नगरपालिका वडा नं. १ की लायकरानी डंगौरा थरूनीको परिवारमा ६ जना सदस्य छन् । श्रीमान् फरक क्षमताका (अपाङ्ग) छन् भने बुहारी एकल महिला हुन् । तीनजना नाती–नातिना छन् । ठेलामा व्यापार गरी गुजारा गर्दै आएकी उहाँले राहत नपाएको गुनासो गर्नुभयो । उहाँले तीन दिनसम्म वडा कार्यालय धाउँदा पनि कसैले सुनुवाई नगरेको बताउँदै गाउँमा तथ्याङ्क सङ्कलनका लागि पनि कोही नआएको बताउनुभयो ।

उमेरले ७० पार गरिसकेकी लायकरानीले भन्नुभयो, “गरीबको कोही हुँदोरहेनछ । सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ । सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन् ।”

वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक पीडितहरुको नाम छुटफुट हुन गएको स्वीकार गर्नुभएको छ । उहाँले आफू वास्तविक पीडितले राहत पाउनु पर्ने र कुनै राजनीतिक पूर्वाग्रहमा आफू नलागी मानव सेवालाई लागि परेको बताउनुभयो ।

वडाअध्यक्ष आचार्यले भन्नुभयो, “यस्तो अवस्थामा खाली बिरोध गर्नु मात्र धर्म होइन । चुनाव आउँदैछ । त्यसमा राजनीति गरौंला । तर, अहिले मानताको सवाल भएकोले सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्दछु ।”

वडा नं. ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवार अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपाङ्ग हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को दुबै खुट्टा चल्दैन । पूर्णरुपमा अपाङ्ग छन् ।’ उहाँले भनिन्, ‘वडाले राहत दिने नाम लिष्टमा आफूहरुलाई समेट्न सकेन । चारजना छोराछोरी र आफू कसरी जीविकोपार्जन गर्ने ?”

वडाअध्यक्ष रामसेवक महत्तोंले वडामा आएको २ सय १७ घरधुरीले राहत पाइसकेको बताउँदै तथ्याङ्क सङ्कलनका लागि गाउँका बड्घरहरुलाई पठाउँदा केही घरहरु छुट्न गएको स्वीकार गर्नुभयो । उहाँले वास्तविक पीडितको अवस्था बुझेर वडाले राहत वितरण गर्ने र कसैलाई पनि भोकै बस्न नपर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्