दिप्लीघाटमा निर्माणाधीन बेलिब्रिजको ५० प्रतिशत काम सकियो



१४ फागुन २०७६, सोलुखुम्बु/जेपी थुलुङ

सोलुखुम्बुको दिप्लीघाटमा निर्माणाधीन बेलिब्रिजको ५० प्रतिशत काम पूरा भएको छ।

दुधकोशी पारी हुँदै भोजपुर, संखुवासभालगायतका जिल्लाहरु जोड्ने उक्त पुलको ५० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘निश्चल निसानी निर्माण’ सेवाले जनाएको छ।

हाल धमाधम भइरहेको पीलर निर्माणको काम अबको दुई महिनाभित्र सकिने निर्माण कम्पनीका प्रमुख दुर्गा खालिङले बताए।

यस्तै उनले पानी तान्ने मोटरमा आएको समस्याको कारण काम जुन रफ्तारमा हुनुपर्ने हो त्यो रफ्तारमा नभएको पनि बताए।

करिब दुई करोडको लागतमा सम्पन्न हुने अनुमान गरिएको उक्त पुल हाल सोताङ र महाकुलुङ गाँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा विनियोजन गरको १ करोड ६९ लाख रकमबाट निर्माण भइरहेको पनि कम्पनीले जनाएको छ।

थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिको बिचबाट बग्ने दुधकोशी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि राजधानी तथा कोशी पारीका दुई गाउँपालिकाबीचको सिधा सम्बन्ध विस्तार हुनेछ।

हलको लागि उक्त स्थानमा ह्यूमपाइप बिछ्याइ सवारी साधन आवतजावतमा सजिलो बनाइएको छ।

बेलिब्रिजको निर्माणपछि बाह्रै महिना कोशीपारीका गाउँपालिकाहरु सोताङ र महाकुलुङमा सवारी पुग्ने छ।

महाकुलुङबाट थप सडक विस्तार भएपछि भोजपुर, संखुवासभालगायतका जिल्लासँग पनि सोलुखुम्बुको सिधा सडक संजाल जोडिनेछ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्