‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानासँगै सलोन पनि फाइनल



०८ माघ २०७६, काठमाडौँ

सलोन बस्नेत नेपाली सिने जगतमा रुचाइएका कलाकार हुन् । विशेष उनको कमेडी पक्षलाई दर्शकले निकै रुचाउने गरेका छन् । लिड रोल नफापेको सलोनलाई सहायक रोल भने निकै फाप्ने गरेको छ ।

अझ ए मेरो हजुर सिरिजको उनी मेरुदण्ड नै हुन् । अब त उनीबिना ए मेरो हजुर नै खल्लो हुने दर्शकले अनुभूति गरिसकेका छन् । उनी ए मेरो हजुर २  र ३ मा थिए । यी दुवै सिरिजमा सबैभन्दा बढी सलोनको काममै तारिफ भयो । अब फेरि उनी ए मेरो हजुर ४ मा पनि देखिने भएका छन् ।

झरनाले केहीसमय अघि ए मेरो हजुर ४ मा अनमोल केसी र सुहाना थापा फाइनल भएको बताएकी थिइन् । अनमोल र सुहानासँगै चलचित्रमा सलोन पनि जोडिसकेका छन् । सलोन चलचित्रमा हरिको भूमिकामा देखिने भएका छन् ।

दर्शकले पनि सलोन र अनमोलको केमेष्ट्रि निकै रुचाएका छन् । सलोन र अनमोलले होस्टेल, गाजलु, ए मेरो हजुर ३ लगायतका चलचित्रमा एकसाथ काम गरिसकेका छन् । यी दुईजनाले पनि बारम्बार एकअर्कासँग काम गर्दा सहज र रमाइलो महशुस हुने बताउँदै आएका छन् ।

ए मेरो हजुर ४ फागुन १३ बाट फ्लोरमाा जाने बताइएको छ । चलचित्रका लागि अन्य कलाकारको छनोटको काम भैरहेको छ । चलचित्रलाई २०७७ सालको दशैँमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्