रुदैँ आस्थाका पिताले भने : ‘छोरीको तर्फबाट म माफी माग्न चाहन्छु’



०८ माघ २०७६, काठमाडौँ

यतिबेला जताततै गायिका आस्था राउतको मात्र चर्चा भैरहेको छ । विमानस्थलमा भएको आस्था र प्रहरीबिचको सामान्य झगडाले उग्र रुप लिइरहेको छ ।  यस्तै यस बिषयमा आस्थाका पिता अर्थात नेपाली सांगितीक जगतका चर्चित नाम हरिबहादुर राउतले पनि केही बोलेका छन् ।

हरि यतिबेला छोरीका कारण निकै नै चिन्तित छन् । त्यसमाथि मिडियामा बढाइचढाई गरेर आएका कुराले उनको चिन्ता थप बढाइदिएको छ । आस्था हाल सिक्किममा छिन् । उनी नेपाल आउने बित्तिकै उनलाई पक्राउ गर्ने तयारी प्रहरीले बनाइरहेको छ ।

हरिले छोरीबाट केही गल्ती पक्कै पनि भएको तर बिनाकारण उनले कहिले कुनै कुरामा रियाक्ट भने नगर्ने गरेको हरिले बताए । उनले छोरीले लाइभमा आएर केही बोल्न नहुने शब्द बोलेको तर प्रहरीले पनि आस्थासँग नराम्रो व्यवहार गरेको हुनसक्ने उनले बताएका छन् ।

उनी भन्छन्, ‘सीसीटीभीको भिडियोमा दृश्य मात्रै छ, आवाज छैन । त्यसैले यो हेरेर मात्रै को दोषी हो भनेर निर्क्यौल गर्न कठिन हुन्छ । तर, म यतिचाहिँ भन्न सक्छु कि प्रहरीबाट गलत बोली-वचन नभएको भए छोरीले बिनाकारण त्यसरी आक्रोश पोख्ने थिइन । केही न केही गल्ती दुवैबाट भएको छ ।’

अहिले केही मिडियाले पनि तिललाई पहाड बनाएर समाचार सम्प्रेषण गरेको हरिबहादुरको दुखेसो छ । खासगरी ‘आस्था राउत फरार’ भनेर लेखिएका समाचारहरुले उनको मन दुखाएको रहेछ ।

हरिले मिडियाले जे पायो त्यहि लेख्नु गलत भएको बताए । उनले छोरी केहीदिनमै नेपाल फर्कने भएकाले उनलाई फरार नभन्नको लागि आग्रह गरेका छन् । छोरीका बारेमा बोल्दा हरिका आखाँबाट आँशु थामिएनन् । उनले छोरीले गरेको गल्तीको माफी म माग्छु भन्दै हात समेत जोडे । उनी यो समस्या चाडैँ नै निको होस् भन्ने चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्