चिनियाँलाई पक्राउ गर्नुअघि सिआइबीमा बैठक, यसरी पुगेको थियो प्रहरी चिनियाँसम्म



०७ पुष २०७६, काठमाडौं

नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट १०० बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

भिसाको म्याद गुज्रिसकेपछि पनि नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकहाँ यससम्बन्धी सूचना आएपछि उनले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए। खनालको निर्देशनसँगै सोमबार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखालगायतका प्रमुखहरुको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय भएको थियो।

लगत्तै बूढानीलकण्ठ, बाँसबारी, धुम्बाराहीलगायतका स्थानमा प्रहरीले छापा मारेर १०० बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरु साइबरसम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ। विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ। प्रहरीले चिनियाँ नागरिकको साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिमलगायत बरामद गरेको बताइएको छ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको जानकारी दिए।

पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन्। पछिल्लो समय नेपालमा चिनियाँ नागरिकले बैंक ह्याक गरेर रकम लुटेको घटना पनि बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्