अध्ययनको खुलासाः एक चुम्बनले सर्छ करोडौं ब्याक्टेरीया



२५ कार्तिक २०७६, काठमाडौं

एक पटक चुम्मन गर्दा नै करोडौं ब्याक्टेरीया मुखबाट प्रवेश गर्छ भन्दा धेरैले विश्वास नगर्न सक्छन्। तर, नेदरल्याण्डका वैज्ञानिकहरूले गरेको एक अध्ययन अनुसार, यस्तै तथ्य सार्वजनिक भएको छ।

नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को अध्ययन रिर्पोट अनुसार १० सेकेन्ड चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया दुवै जनाको मुखमा प्रवेश गर्छ। सो अध्ययनमा सम्लग्न वैज्ञानिकहरूले २१ जोडीले गरेको चुम्बनलाई आधार मानेर अध्ययन गरेका थिए।

उनीहरूलाई दिनभरमा ९ पटक चुम्बन गर्न लगाइएको थियो र सोही अनुसार अध्ययन गरिएको थियो। सो अध्ययनले मानिसले चुम्बन गर्दा मुखमा ७ सय प्रकारका ब्याक्टेरीया करोडौंको संख्यामा प्रवेश गर्ने र निकै नै तिव्र गतिमा सक्रिय हुने पुष्टि गरेको छ।

ती वैज्ञानिकरूले गरेको अध्ययन जर्नरल माइक्रोबिओममा सन् २०१४ मा छापिएको थियो। नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को एक टोलीले जोडले चुम्बन गर्ने बानीसँग सम्बन्धित प्रश्न पनि सोधेका थिए।

अध्ययनमा सहभागिहरुलाई दिनमा कति पटक चुम्बन गर्ने गरिएको छ र अन्तिम पटक लिप किस कहिले गरेका थिए भनेर सोधिएको थियो। त्यसपछि एक जोडीलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो, जसको मद्दतले ब्याक्टेरीयाको पहिचान सजिलै गर्न सकिन्थ्यो।

त्यसपछि जोडीको दोस्रो चुम्बनको क्रममा अर्को जोडीको मुखमा कति ब्याक्टेरीया मुखमा जान्छ भनेर पनि वैज्ञानिकहरुले पत्ता लगाएका थिए। वैज्ञानिकका अनुसार एकदेखि दश सेकेन्डमा चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया एक अर्काको मुखमा प्रवेश गर्छ।

टोलीका प्रमुख प्रोफेसर रेमको कोर्टका अनुसार फ्रेन्च चुम्बनका बेला ब्याक्टेरीया बढी तिव्र हुन्छ र अत्यधिक मात्रामा एकअर्काको मुखमा प्रवेश गर्छ। सो अध्ययनको माध्यमले ब्याक्टेरीयासँग सम्बन्धित समस्याको उपचार पत्ता लगाउनमा मद्दत मिल्ले आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्