आजको सम्पादकीय : खेलकुदको अस्तव्यस्तता, हिमाली क्षेत्रमा राज्यविहीनतादेखि सांसदहरुको उदासीनतासम्म



२४ कार्तिक २०७६, काठमाडौं

आज प्रकाशित राष्ट्रिय दैनिकले खेलकुदको अस्तव्यतता, बजार लक्षित शिक्षा, हिमाली क्षेत्रमा राज्यविहीनता, बालहिंसा, अकुपाई टुँडिखेल अभियानको सन्देश, सांसदहरुको उदासीनता, संस्थागत बन्न नसकेको महासंघजस्ता विषयलाई सम्पादकीय बनाएका छन् ।

नयाँ पत्रिकाले आगामी मंसिर १५ मा हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका विषयमा विषयमा सम्पादकीय लेखेको छ । ‘खेलकुदको अस्तव्यस्तता’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ–तीन पटक म्याद थपेर नयाँ मिति तय गरिएको समयमा पनि साग आयोजनाका लागि पूर्वाधार तयार नहुनु राष्ट्रिय लज्जाको विषयमा हो ।

नेपालको औपचारिक शिक्षालाई समयानुकूल, व्यावहारिक, उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने प्रयासस्वरुप सरकारले नयाँ शिक्षा नीति लागू गरेको उल्लेख गर्दै गोरखापत्रले ‘सभ्यता र बजारलक्षित शिक्षा’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा वर्तमान नीतिलाई परम्पराको निरन्तरताभन्दा पनि वर्तमान आवश्यकता पूरा गर्ने औजारका बनाइनुपर्नेमा जोड दिएको छ ।

यता नेपाल समाचारपत्रले ‘हिमाली क्षेत्रमा राज्यविहीनता’ शीर्षकमा सम्पादकीय लेख्दै विश्वको सर्वोच्च सगरमाथाको आधार शिविर र माथिल्लो खुम्बु क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकले सरकारको स्वीकृतिबिना नै ‘ड्रोन’ प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । समाचारपत्रले ड्रोनको अवैध प्रयोगलाई नियन्त्रण गर्न ट्राभल एजेन्सी, सरकारी कर्मचारी र सुरक्षा निकायको समन्वय हुनुपर्नेमा जोड दिएको छ ।

अनाथ र असाय बालबालिकालाई उचित पालनपोषण र शिक्षादीक्षा दिन भनी खुलेका बालगृहबाटै पटकपटक बालबालिका उद्धार गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको उल्लेख गर्दै आजको कान्तिपुरले ‘बालहितका नाममा हिंसा’ शीर्षकमा सम्पादकीय लेखेको छ । काठमाडौं उपत्यकाका ६ वटा बालगृहबाट १९१ जनाको उद्धार गर्नुपर्ने अवस्था भयावह भएको भन्दै सम्पादकीयमा भनिएको छ –बालबालिकालाई बालगृहमा राख्नैपरे पनि स्थानीयतहबाट सिफारिस ल्याउनुपर्ने नियमको कडाईका साथ पालना गराइनुपर्छ । परोपकारको नाममा कसैलाई हिंसा गर्ने छुट कसैले पनि पाउनु हुँदैन ।

त्यसैगरी नागरिक दैनिकले टुँडिखेल अतिक्रमणको चपेटामा पर्दै गएपछि यसलाई बचाउन सम्पदा अभियन्ताहरुले पहलमा नागरिक स्तरबाट ‘अकुपाई टुँडिखेल’ आभियानको विषयमा सम्पदकीय लेखेको छ । ‘अकुपाई टुँडिखेल अभियानको सन्देश’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –टुँडिखेललाई पुरानै अवस्थामा जोगाएर खुला क्षेत्र राख्नुपर्ने पक्षमा ठूलो संख्यामा सर्वसाधारण रहेका छन् । …यो अभियान अभियान्ताको मात्र होइन, काठमाडौँवासीको अभिमत हो ।

यता जनप्रतिनिधिहरु अझै पनि जनताका काममा नफर्किको भन्दै अन्नपूर्ण पोस्ट्ले ‘सांसदहरुको उदासीनता’ शीर्षकमा संसद्लाई प्रभावकारी र जीवनन्त बनाउने जिम्मेवारी सम्हालेका सांसदको जनताका काममा ध्यान जानुपर्नेमा जोड दिइएको छ । सम्पादकीयमा भनिएको छ –सांसदहरु मुख्य काम छाडेर सरुवा र बढुवाका फाइल बोक्दै मन्त्रालयहरुमा धर्ना दिने, ससाना योजनामा पनि कसिसन खोज्ने र चार करोड बजेट विनियोजनमा मात्र सीमित हुनेजस्ता कार्यकार्यले संसद्प्रति अविश्वास बढ्दै जान्छ ।

त्यसैगरी आर्थिक क्षेत्रमा केन्द्रित भएर प्रशाशित हुने दैनिक पत्रिकाले पुँजीबजार र निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघमा देखिएको विवादका विषयलाई आफ्नो सम्पादकीयमा समेटेका छन् ।

आज प्रकाशित कारोबार दैनिकले ‘पुँजीबजारको सुस्त आधुनिकीकरण’ शीर्षकमा सेयर बजारलाई आधुनिकीकरणमा गर्नका लागि चालिएका कदमहरु कमजोर भएको भन्दा पनि प्रणालीगत सुधार एवं नीतिगत सुधारमा ध्यान नगएको उल्लेख गरेको छ ।

आर्थिक अभियानले नेपाल उद्योग वाणिज्य महासंघ संस्थागत रुपमा नचलेको र कुनै पनि व्यक्ति वा समूहको लहडमा चलेको देखिएको भन्दै ‘संस्थागत बन्न नसकेको महासंघ’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –निजी क्षेत्रको आफ्ना मागहरुप्रति सरकार संवेदनशील हुन नसकेको, कर आतंकको मारमा परेको बताइरहँदा बलियो र चलायमान महासंघ अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्