प्रेस रिभ्यू : भूमि रक्षामा राष्ट्रिय सहमति, प्रधानमन्त्रीको सचिवालय र मन्त्रिमण्डल फेरिँदै



२४ कार्तिक २०७६, काठमाडौं

आज कार्तिक २४ गते आइतबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले कालापानी क्षेत्रमा भारतले नेपालको भूभाग मिचेको विषयमा शनिबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको किचेन क्याबिनेटमा फेरबदलको तयारीको समाचारले आज प्राथमिकता पाएका छन् ।

भूमि रक्षामा दलहरुको एक मत

कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकोमा सबै राजनीतिक दल एक मत देखिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ । उनीहरूले उच्चस्तरीय कूटनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन्। यसबारे राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री केपी ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका हुन्। बैठकमा सहभागी दलका शीर्ष नेता, पूर्वपधानमन्त्री एवं कूटनीतिक विज्ञहरूले सीमा रक्षामा कटिबद्ध भएर लाग्न सरकारलाई आग्रह गरे। राष्ट्रिय सहमति र एकतालाई आधार बनाएर प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुपर्ने सर्वपक्षीय बैठकको निष्कर्ष छ। नेपालको भूमि फिर्ता ल्याउन सरकारले अगाडि बढाउने सबै कदममा साथ रहने प्रतिबद्धता सबै दलले व्यक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नागरिक दैनिकका अनुसार कालापानीको विषयमा राष्ट्रिय सहमति निर्माण भएको बताउँदै प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने प्रमाण र तथ्य संकलन गरी भारतीय पक्षसँग वार्ता र संवाद गर्ने बताए। ‘अहिले हामी कालापानी हाम्रो हो भन्ने प्रमाण संकलन गर्दै छौं,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्र यादवले भने, ‘सबै प्रमाण संकलन गरेर भारतीय पक्षसँग वार्ता र कूटनीतिक तवरबाट यसको समाधान निकाल्छौं।’

सचिवालय र मन्त्रिमण्डल हेरफेर

काम चित्तबुझ्दो नभएपछि प्रधामन्त्री केपी शर्मा ओल्लिे आफ्नो सचिवालय हेरफेर गर्न लागेको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । त्यसका लागि उनले सचिवालयका सबैलाई राजीजामा गर्न भनेका छन् । ‘आफ्नो कामको सहजताका लागि छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका छन् । रिमालले सचिवालयका सबै सदस्यको शुक्रबार बैठक गरी प्रधानमन्त्रीले बाटो सहज बनाइदिन आग्रह गरेको जानकारी गराएका थिए । नागरिक दैनिकका अनुसार प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरुलाई सामूहिक राजीनामा दिन लगाएर मन्त्रिमण्डल पनि हेरफेर गर्ने संकेत दिएका छन् । सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्ट नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग लगातारको छलफलपछि मन्त्रिमण्डल हेरफेरको तयारी गरिरहेको समाचारमा उल्लेख छ । सल्लाहकारहरुलाई मंसिर १ गतेदेखि लागू हुनेगरी राजीनामा गर्न निर्देशन आएको बताइएको छ । पार्टीभित्र र बाहिरबाट समेत सचिवालयको कामलाई लिएर आलोचना भएकाले प्रधानमन्त्री ओली सचिवालयमा अनावश्यक मान्छे धेरै भएको निष्कर्षमा पुगेको समाचारमा उल्ल्ेख छ ।

आजको नयाँ पत्रिका दैनिकमा ‘गण्डकको दुःख स् सिँचाइ भारतमा, डुबान नेपालमा’ शीर्षकमा मुख्य समाचार प्रकाशित छ । ०१६ मा नेपाल र भारतबीच २१ बुँदे गण्डक सम्झौता भएसँगै दुई देशमा सिँचाइका लागि गण्डक ब्यारेज बनेको हो । तर, भारतले हिउँदमा सबै पानी सोहोरेर आफ्नो जमिन सिञ्चित गर्छ, नेपाली भूमि सुक्खा बनाइदिन्छ । बर्खामा ढोका बन्द गरेर भेल नेपालतिर फर्काइदिन्छ र बस्ती नै डुबाइदिन्छ । यसरी दुवै देशमा सिँचाइ गर्ने प्रमुख उद्देश्यले भएको सम्झौताअनुसार बनेको ब्यारेज भारतका लागि फलिफाप बन्दा नेपालका लागि अभिशाप भइरहेको छ । दक्षिणी सिमाना गण्डकमा बनेको बाँधबाट १८ लाख ५० हजार एकड सिँचाइ गर्ने नहर भारततर्फ बगिरहेको छ जसले बिहार र युपीमा हरियाली छ । तर, नेपालतर्फ भने जम्मा ४० हजार एकड सिँचाइ गर्ने सम्झौता भएकोमा २४ हजार एकडको मात्रै संरचना बनेको छ, त्यसमा पनि पानी छोडिएको छैन भन्ने समाचारमा लेखिएको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनसम्बन्धी विवाद टुंगिएको समाचार पनि प्रकाशित छ । योसँगै अगाामी २९ कार्तिकमा बोलाइएको विशेष साधारणसभा स्थगित हुने भएको छ । आइतबार बोलाइएको स्थायी कमिटीको बैठकले स्थगनको निर्णय लिने निर्णय गरिने भएको छ । सहमतिसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भावी अध्यक्ष बन्ने पक्का भएको छ ।

नागरिक दैनिकले ‘काल बन्दै सवारी दुर्घटना : प्रत्येक दिन ५ जनाको मृत्यु’ भन्ने समाचार प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्। सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएको देखिन्छ। त्यस्तै दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन्। यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन्। यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्। यस अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ (गण्डकी) मा ५९, प्रदेश ६ (कर्णाली) मा ३४ जना र प्रदेश ७ (सुदूरपश्चिम) मा २५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको समाचार प्रकाशित छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र जिल्ला प्रशासनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनका भाई किशोर केसीले बताए। सात बुँदे माग राखी डा। केसीले कात्तिक १८ गते सोमबारदेखि अनशन सुरु गरेका थिए।

कान्तिपुर दैनिकले विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौँ ७ नम्बरमा परेको समाचार प्रकाशित गरेको छ । स्वीटजरल्याण्डका विशेषज्ञहरुको समूहले गत बुधबार सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाडौँ सातौँ स्थानमा परेको हो । यसअघि अन्य विशेषत्रले गरेका अध्ययनले पनि काठमाडौँ प्रदूषित १० नम्बर भित्र पर्ने गरेको थियो । वायु प्रदूषणले स्वास्थयमा परेको असरबारे अध्ययन गरेका डा. खेम बहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

त्यस्तै, औषधिसम्बन्धी जानकारी निभएका व्यक्तिले सर्वसाधारणलाई त्यसको विक्री गर्ने गरेको पाइएको भन्दै ‘प्रमाणपत्र एउटाको, औषधि बेच्ने अर्के’ भन्ने समाचार प्रकाशि छ । औषधि व्यवस्था विभागले देशभरका ३ हजार ४ सय ४ फार्मेसीमा गरेको निरीक्षणबाट यस्तो तथ्य बाहिरिएको हो । अनुगमन गरिएका मध्ये ६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको र बिक्री गर्ने व्यक्ति अर्के राख्ने गरेको पाइएको छ । ऐनविपरीत चलिरहेका १ सय १३ फार्मेसीलाई कारवाही पनि गरिएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले टनकपुरको जग्गा भारतीय कब्जामै रहेको समाचार प्रकाशित गरेको छ । टनकपुर बाँधको १४।५७ हेक्टर ९३६ एकड० नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो। भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेवसहित दोधारा–चाँदनीको १२०९ हेक्टर (२९८८ एकड) जग्गा दिएको थियो। सीमाबारे जानकार ऋषिराज लुम्साली भन्छन्, ‘भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो।’ ब्रह्मदेवसहित दोधारा–चाँदनीको सट्टाभर्नाबापतको जग्गा भारतले बर्दियामा दिएको भने पनि टनकपुरमा पाउनुपर्ने १४.५७ हेक्टर फिर्ता नदिएको लुम्साली बताउँछन्। ‘नेपालले पनि वैधानिक हिसाबले त्यो जग्गा फिर्ता लिन सकेको छैन’, लुम्साली भन्छन्, ‘सरकारले ताकेता नगरेसम्म जग्गा फिर्ता गर्न भारत तयार हुनेछैन।’ कञ्चनपुरको ब्रह्मदेवमा नेपालको २.९ हेक्टर जमिनमा भारतको टनकपुर जलविद्युत् आयोजनाको जलाशय रहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्