के डेंगु भएपछि अस्पताल नै जानुपर्छ?



३१ भदौ २०७६, काठमाडौं

केही वर्षअघिसम्म हामीले डेंगुको बारेमा नत सुनेका थियौं। नत पढेका नै थियौं।

तर केही महिनादेखि डेंगुले महामारीको रुपमा देखिन थालेको छ। ५६ जिल्लामा देखिएको डेंगुबाट करिब ७० हजारमा संक्रमण हुन सक्ने विज्ञहरु बताउँछन्।

यो वर्ष मात्र हालसम्म करिब ६ हजारभन्दा बढी डेंगुबाट संक्रमित भइ अस्पताल पुगेको तथ्यांकले दखाउँछ।

झन्डै ३ सय वर्षअघिबाट डेंगुबाट उष्ण प्रदेशीय देशको लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ। सन् १६३५ मा फ्रेन्च ओएस्ट इन्डिजमा यो पहिलोपटक महामारीको रुपमा देखिएको अध्ययनहरुले देखाएका छन्।

विश्व स्वास्थ्य संगठनका(डब्लूएचओ)अनुसार, डेंगु संक्रमण संख्या र संक्रमित देशको संख्या अपत्यारिलो तरिकाले उच्च हुँदै गइरहेको छ।

सन् १९९०-१९९९ बिच करिब ०.४७ मिलियन रहेको डेंगु रोगीको संख्या सन् २०००-२००८ सम्म आइपुग्दा ३ गुणाले बढ्दै १.६६ मिलियन पुगेको थियो। यो सांच्चै भयावह स्थिति पनि हो।

संसारभरका करिब २.५ बिलियन व्यक्तिहरु डेंगु संक्रमणको जोखिममा रहेको संगठनका विभिन्न तथ्याङ्कले देखाएको छ।

डेङ्गु रोगः लक्षण र बच्ने उपायको बारेमा जान्नुहोस्

प्रत्येक वर्ष ५० मिलियन डेंगु संक्रमण देखिने गर्दछ। झन्डै ५ लाख मानिसहरु प्रत्येक वर्ष यसैका कारण अस्पताल भर्ना हुने चिकित्सकहरु बताउँछन्।

नेपालमा भने सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेंगु संक्रमण देखिएको थियो। त्यसपश्चात् सन् २००६ मा भने यसले महामारीको रुप लिएको थियो।

झन्डै १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जना डेंगु प्रभावित रहेका पुष्टि भएको थियो।

अहिले देशभर डेंगुकोे सन्त्रास छ। पोथी लामखुट्टेले टोकेर हुने डेंगु नियन्त्रणका लागि सरकारले आफ्ना सबै निकायलाई सक्रिय बनाएको छ।

डेंगुबारेको पछिल्लो अवस्था निकै भयावह रहेको राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मनोलिसा पिया ले परिवर्तन खबरसँग बताए।

उक्त अस्पतालमा दैनिक ६ सयदेखि ८ सयसम्म बिरामीहरु आउने गरेको अस्पतालले जनायो।

अस्पताल पुगी डेंगुको बारेमा तयार पारिएको यो सामग्रीः

बिरामीको चापः

अधिकांश मानिस डेंगुको बारेमा नबुझेर अतालिरहेका हुन्छन्। टेकुस्थित शुक्रराज अस्पतालमा आउने प्रायः बिरामीहरु ज्वरोको बिरामी हुने गर्दछन्।

उक्त, अस्पतालमा दिनकै हाल ज्वरोको बिरामी ८ सय बढी आउने गरेका छन्। तीमध्ये ६ सय बढीलाई डेंगी परीक्षण गराईने गरिएको छ।

अझै, पनि डेंगु परिक्षण गर्न आउनेको संख्या ७०-८० प्रतिशत रहेको छ।

डेंगुबाट कति दिनमा छुटकारा?

मानिसमा डेंगुको लक्षण देखिइसकेपछि यसबाट निको हुनलाई करिब ७–१४ दिनसम्म लाग्छ।

अस्पतालका मनोलिसा पियाका अनुसार लामखुट्टले टोकेको सबैमा त्यो संक्रमण नदेखिन सक्छ। १० हजार जनालाई टोक्दा एक सयमा त्यो लक्षण देखिन सक्छ।

डेंगुकोे उपचारः अस्पताल/घरेलु

हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, ज्वरो आउने, ढाड दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता यस्तो सामान्य लक्षणहरु देखिएमा अस्पताल जानैपर्छ भन्ने छैन।

जुन लक्षण मध्ये डेंगुका कारण उल्टी बढ्ने, रगत देखिने, पेट धेरे दुख्ने जस्तो जटिल समस्या देखिएको खण्डमा अस्पताल जानैपर्ने हुन्छ।

लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नु नै डेंगुबाट बच्ने उत्तम उपाय रहेको सम्बन्धीत विशेषज्ञहरु बताउँछन्।

कति जोखिम?

डेंगु रोगको संक्रमण उल्टी बढ्यो, रगत देखियो, पेट धेरै दुख्यो यस्तो जटिल अवस्था नै भयो भने मात्रै जाखिमपूर्ण हुन्छ।

जसमा पनि एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्षमाथिका वृद्ध–वृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत जम्ने रोग भएका व्यक्तिहरुलाई यसको जोखिम हुन्छ।

आन्द्राबाट रक्तश्राव पनि हुन सक्छ। यसको भाइरसले रक्तनली नै लिक गरिदिन्छ। त्यसले समस्या उत्पन्न हुन्छ। समयमा उपचार नपाउँदा मान्छेको मृत्यु समेत हुन्छ।

महामारीको रुपमा फैलिदै डेङ्गु: यस्ता छन् विश्वव्यापी तथ्य

खासमा डेंगु रोगको खोप भने बनिसकेको छैन। यो रोग विश्वव्यापी छ।

कारणः

नेपालमा लामखुट्टे बढ्नुको मुख्य एक कारण अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण पनि हो।

शहरी क्षेत्रमा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीका कारण डेंगु संक्रमण बढाउँदै लैजान सक्ने देखिन्छ। लामखुट्टेले झन्डै ३ किमि क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ।

तसर्थ, डेंगु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन्।

पछिल्लो समय प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि अव्यवस्थित तवरबाट छाड्ने प्रवृत्तिले गर्दा डेंगु संक्रमण बढाएको पाइन्छ।

सन् २०८५ सम्ममा यही क्रममा बढ्दो जनसंख्या र वातावरणीय तापक्रम वृद्धि हुँदै गएमा संसारका करिब ५० प्रतिशत जनसंख्या डेंगु संक्रमणको उच्च जोखिममा रहने विज्ञहरुको अनुमान रहेको छ।

सुझावः

–लामखुट्टेको टोकाइबाट बच्नुहोस्।

–सामान्य ज्वरो आएको खण्डमा नआत्ति बस्नुहोस्।

–घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुहोस्।

–लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नुहोस्।

–झ्याल ढोकामा जाली राख्नुहोस्।

–पुरै शरिर ढाक्ने कपडा लगाउनुहोस्।

–सरसफाइमा ध्यान दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्