नेकपाद्वारा सिन्धुलीको गोलन्जोर गाउँपालिका कार्यालय घेराउ



२३ भदौ २०७६, सिन्धुली/बलवीर भुजेल

नेकपा गोलन्जोर गाउँपालिका गाउँ कमिटीले सिन्धुलीको गोलन्जोर गाउँपालीकाको कार्यालय घेराउ गर्दै धर्ना दिएको छ  ।

बार्षिक ५० लाख आम्दानी भएकोे गाउँपालीकाले वार्षीक ७० लाख खर्च गर्ने गरि नगरप्रहरी भर्ना गर्न लागेको भन्दै नेकपा गोलन्जोरले विरोध गर्दै आएको थियो  । नगरप्रहरी अनावश्यक रुपमा भर्ना गर्न लागेको भन्दै नेकपा गोलन्जोर गाउँकमिटीले जनताका आशा अपेक्षा अनुसार बिकास निर्माण शिर्षकमा बजेट घट्न गई गाउँपालिकावासीलाई प्रत्यक्ष असर पर्ने जनाएको छ ।

नेकपा गोलन्जोर गाँउकमिटीले नगर प्रहरीको अलवा विद्यालयमा नर्स, कृषि प्राबिधिक जस्ता आवश्यक र रचनात्मक क्षेत्रमा कर्मचारी भर्ना गर्न आग्रह समेत गर्दै आएको छ । गाउँपालिकाले गत भदौ १० गते  १५ नगरप्रहरी भर्ना गर्न अवेदन खुलाएको थियो ।

यसअघि गोलञ्जोर गाउँपालिकाका ३ वडाध्यक्ष सहित सदस्यहरुले गाउँसभा तत्काल बोलाउन माग गरेका थिए । गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीलाई निवेदन बुझाउँदै वडा नं. ७ का वडाध्यक्ष रोमबहादुर देवकोटा, १ का वडाध्यक्ष मिनबहादुर सुनुवार र ४ नम्बरका वडाध्यक्ष बेगबहादुर गौदासे मगर लगायत १६ जनाले गाउँसभाको माग गरेका थिए ।

गाउपालिकाले प्रतिपक्षका  मागलाई वेवास्ता गरी अगाडी बढेकाले पहिलो चरणमा सांकेतिक रुपमा कार्यालय घेराउ गर्दै धर्ना दिएको नेकपा  गोलन्जोरका अध्यक्ष केपी पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार तत्काल प्रतिपक्षको मागको सम्बोधन नगरे थप संघर्षका कार्यक्रम अगाडी बढाउने, कुनैपनि अप्रिय घटना घटेमा र त्यसको जवाफदेही र जिम्मा गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले लिनुपर्ने जिकीर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्