राष्ट्रिय गानको अपमान भयो कि



२२ भदौ २०७६, काठमाडौं

सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकामा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाउनुभयो । उहाँले राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्न माग गर्नुभयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सहभागी हुने कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेमा जोड दिँदै उहाँले पशुपतिनाथ मन्दिर परिसरमा नै राष्ट्रिय गान बजाउने निर्णय धर्म र संस्कृति विरोधी भएको जिकिर गर्नुभयो ।

सांसद प्रधानले भन्नुभयो, “किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने भन्ने प्रश्न उठेको छ । यसलाई सरकारले ध्यान दिनु जरुरी छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिने आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था गरिएको छ । चलचित्र भवनमा समेत राष्ट्रिय गान बजाउने भनेर सरकारले दिएको निर्देशन ‘पञ्चायतकालीन झल्को’ आएको उहाँको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्