नेपाली भाषा ज्ञान प्रतियोगिता



२१ भदौ २०७६, पोखरा

विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थी त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको उत्तर फटाफट दिन्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे ।

जुन दृश्य नेपाली भाषा शिक्षक परिषद् कास्कीको संयोजन एवम् नेशनल प्याब्सन कास्कीद्वारा आयोजित ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को हो । पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थतालाई दृष्टिगत गरी प्रतियोगिता आयोजना गरिएको हो ।

हाजिरीजवाफको शैलीमा विद्यार्थीलाई वर्णविन्यासदेखि शब्द हुँदै वाक्य स्तरका ज्ञानका तहमा समेटी सिङ्गो कार्यक्रमलाई विभिन्न चरणमा बाँडिएको थियो । हिज्जे, पर्यायवाची÷विपरीतार्थी, अन्ताक्षरी, पदवर्ग, कोठेपद, अनुवाद, अक्षर मिश्रित, द्रुतगति, र सङ्केत गरी कुल नौ चरणमा बाँडेर प्रतियोगिता गरिएको हो । नेपाली भाषालाई केन्द्रमा राख्दै भाषिक क्षमता अभिवृद्धिका लागि यस किसिमको प्रतियोगिता राखिएको नेशनल प्याब्सनका अध्यक्ष रामबहादुर मोचीले बताउनुभयो ।

निजी विद्यालय नेपाली भाषामा कमजोर रहेको आरोप निराधार रहेको उल्लेख गर्दै उहाँले कार्यक्रममा विद्यार्थीको सहभागिता, उनीहरूले प्राप्त गरेको प्राप्ताङ्क आदिले कुरालाई प्रस्ट पारेको बताउनुभयो । भाषालाई संस्थाअन्तर्गतका विद्यालयले स्थापनाकालदेखि नै विशेष जोड दिँदै आएका र हरेक विषयमा गुणस्तरीय शिक्षा दिनका लागि सक्रिय बनेका उहाँले बताउनुभयो ।

नेपाली भाषा शिक्षक परिषदका अध्यक्ष डोलराज अर्यालले नेपाली भाषामा आधारित रहेर यस प्रकारको बृहत् कार्यक्रम गरिनु आफैँमा महत्वपूर्ण रहेको बताउँदै यसको निरन्तरता आवश्यक भएको धारणा राख्नुभयो । कूल ३६ विद्यालय सहभागी भएको कार्यक्रममा एलपी देवकोटा मेमोरियल स्कुल प्रथम, अञ्जुली आवासीय मावि द्वितीय, सिद्धिविनायक बोर्डिङ स्कुल तृतीय र चिल्ड्रेन्स एकेडेमीले चतुर्थ स्थान प्राप्त गरेको कार्यक्रम संयोजक एवम् नेशनल प्याब्सनका सहक्रियाकलाप संयोजक एवम् संस्थाका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो ।

भाषा विज्ञ डोलराज अर्याल, विक्रम पौडेल र डिल्लीराम अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सचिव मनकाजी गुरुङ, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल लगायतले नेपाली भाषाका विविध आयाममा विद्यार्थीको दक्षता, क्षमता अभिवृद्धि गर्न यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्