भारतीय स्कार्पियो सहित चोरको गिरोह नै पक्राउ



१३ भदौ २०७६, काठमाडौं

सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन ।

उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिकाभित्रका ४ वटा सटर फोरेर लाखौं रुपैयाँ चोरी गरेको जनाइएको छ । पक्राउ गरिएका अभियुक्तहरुमा भारत मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोही ग्राम पञ्चायत वडानम्बर १ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन ।

यसैगरी रौतहट गौर नगरपालिका वडानम्बर ३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोही ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका वडानम्बर ४ बस्ने ५२ वर्षीय सेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अलि असगर छन् ।

उक्त गिरोहले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए । यसैगरि सोहि समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाएर ४ लाख चोरी गरेका थिए ।

भियुक्तहरुले भाद्र ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट ४ लाख ९५ हजार र भदौ १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ ।  मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसपी विश्व अधिकारीले अभियुक्तहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए ।

अभियुक्तहरु समूहमा हिंड्ने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताए । भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनीहरुलाई पक्राउ गरेको अधिकारीले जानकारी दिनुभयो ।  प्रहरीले अभियुक्तहरुको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पीए २८३६ नम्बरको स्कार्पियो गाडी, ७ थान मोबाइल, नेपाली र भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, तन्नालगायतका सामग्रीसमेत बरामद गरेको छ । घटनाका मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोही व्यक्ति रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्