गायक स्व. अरुण थापाको स्मृतिमा खानेपानी मन्त्रीद्वारा वरिष्ठ गायिका घर्तीमगरलाई सम्मान



०५ साउन २०७६, काठमाडौं

नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना गरी विशेष कार्यक्रम सम्पन्न गरियो ।

नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व. थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गरेकी थिईन् । गायिका घर्ती मगरले करिब ५ सयजति लोक तथा आधुनिक गीतहरु गाएको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो चर्चित तथा लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताईन् । उनले आफूपनि गायक अरुण थापाको गीतको ठूलो प्रशंसक भएको स्पष्ट पारिन् ।

फरक प्रसंगमा उनले राज्य व्यवस्था परिवर्तनमा मगर समुदायले गरेको त्याग र बलिदानीको उच्च प्रशंसा समेत गरिन् । ‘मगर समुदायले राज्य व्यवस्था परिवर्तन गर्न बलिदान मात्रै दिन जानेको छैन उनले भनिन्, ‘ मगर समुदाय समृद्ध नेपाल निर्माणमा समेत सहयोग र साथ दिन सधैं तयार रहनुपर्छ ।’

गायक स्व. अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् ।

वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको असामयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्