३० वर्षदेखि जङ्गलमा बास



१४ जेठ २०७६, काठमाडौं

पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएको छ । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्नुहुन्छ ।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजीकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गर्नुभयो । “पहिले पनि मेरो नजीक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए ”, सुनारीले गुनासो गर्नुभयो ।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताउनुभयो । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आउनुभएको थियो । बुढेसकालको शरीर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउनुहुन्छ ।

अहिले भने गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उहाँले बताउनुभयो । सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आउनुभएको छ । माइक्रो ब्याक्टे«रियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउनुहुन्छ । कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुव्र्यवहार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्