महिलालाई आत्मनिर्भर बनाउन ‘सीप विकास प्रशिक्षण तथा विक्री केन्द्र’



०७ जेठ २०७६, इटहरी

मोरङको सुनवर्षी नगरपालिकाभित्र रहेका महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘सीप विकास प्रशिक्षण तथा विक्री केन्द्र’ संचालनमा आएको छ । सीप विकास केन्द्र संचालनमा आएपछि स्थानीय खुशी भएका छन् ।

सुनबर्सी नगरपालिकाका मेयर कालीप्रसाद दासले सोमबार एक कार्यक्रमको बिच उक्त केन्द्रको उद्घाटन गरेका हुन् । ‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुँदा समाजमा पछि परेकाले  महिलाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम संचालनमा नगरपालिको भनाई छ ।

सीप विकास प्रशिक्षण केन्द्रमा महिला तथा पुरूषका लागि विभिन्न सीपमूलक तालिम ल्याएको मेयर दासले बताए । मेयर दासले  सीप विकास प्रशिक्षण केन्द्रमा पहिलो चरणमा ४० जनाभन्दा बढी महिलाहरूलाई सिलाईकटाई सम्बन्धी तालिम दिने बताए ।  सीपमूलक तालिम संचालन गर्न नगरपालिकाले २२ वटा सिलाईकटाई मिसिन पनि खरिद गरेर ल्याएको छ । तालिममा पिछडा वर्ग, आदीवासी जनजाति, दलित समुदायका महिलाहरूलाई समेट्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका महिला तथा पुरूषहरूका लागि सीप विकास प्रशिक्षण केन्द्रमा वाइरिङ्ग, ब्यूटिपार्लर, अगरवत्ती,  मैनवत्ती बनाउने लगायतको विभिन्न सीपमूलक तालिम दिने बताईएको छ । नगरपालिकाले सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन ५० लाख रुपैयाँ नगर परिषद् बैठकबाट बजेट छुटयाएको नगरपालिकाको मेयर दासले जानकारी दिए । महिलाको जनचेतना अभिवृद्धिसँगै सीपमूलक तालिम दिएर क्षमता प्रदान गर्दै व्यवसायिक रूपमा आय आर्जनको काममा लगाउने योजना रहेको पनि दासको भनाइ छ ।

महिलालाई समग्र रूपमा आत्मनिर्भर बनाउन जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सीपमूलक तालिम लगायत आय आर्जन सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।  सीप सिकेपछि उनीहरूलाई व्यवसाय संचालन गर्न नगरपालिकाले प्रेरित गर्ने  र लामो अवधिको तालिम दिएपछि अनुदान उपलब्ध गराएर प्रत्यक्ष रूपमा आयआर्जन हुने व्यवसाय सञ्चालन गराउने र त्यसमा अन्य महिलाहरूलाई रोजगारी उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्