अनुभूतिका आँकुरा गोडमेल गर्दै



०६ जेठ २०७६, काठमाडौँ

धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई भाग हुँदो रहेछ । त्यसैले मैले पुस्तक विमोचनका लागि बोलाएको त्यो तिथिमिति भुसुक्कै बिर्सिएँ तर उपयुक्त कारण भएर नै जान नपाएको हुँ भन्ने सम्झना अझै पनि ताजै छ । निकै दिनपछि कार्यक्रममा भेट भयो र पुस्तक हातमा प¥यो, म खुसी भएँ ।

रचनाकार स्रष्टाहरुको बोलावटलाई नकार्न बहुत गारो लाग्छ । कार्यक्रममा गइहालेपछि केही न केही नयाँ विचार सुन्न पाइन्छ । पुग्न नसक्नु आफ्नै लागि घाटा पनि हो । मानिसले प्रत्येक अवसरमा केही न केही सिक्तै हुन्छ । त्यसैले अर्काको विचार सुन्न सक्नेले नै आफ्नो विचार दिन पनि सक्छ । सुन्ने अवसर पाइएन भने पढेर लिन सक्ता पनि राम्रै हुन्छ । पुस्तक पाएपछि मनमा यस्तै यस्तै कुरा आए ।

पुस्तकभित्र राम्रा कुरा पाइलैपिच्छे छन् । जीवनमा भोगेका, देखेका, रुचाएका वा नरुचाएका कुराहरु नै रचनामा समावेश हुन्छन् । प्रत्यक्ष अनुभव समेटिएको रचना नै शक्तिशाली हुन्छ । विचारका दृष्टिले यसमा समेटिएका मुक्तकहरु शक्तिशाली हुनुको यथार्थ पनि यही नै हो । देशबाट बौद्धिक र भौतिक शक्ति विदेसिँदा कति खालको नोकसानी र अप्ठारो हुन्छ भन्ने कुरा सविस्तार लेख्ता निकै ठुलो पुस्तक बन्छ । त्यसै विषयमा धेरैतिरको भाव समेटेको क्रमसङ्ख्या ३४ को मुक्तक हेरौँ-

तिमी गयौ सात समुद्र तरेर पराइको देशमा ।
बस्छौ अझै कति दुःख गरेर पराइको देशमा ।
डाँडा पाखा पखेरू खोला खोजी रहन्छन् तिमीलाई,
नबस्नू है मेरा सन्तान बसाइँ सरेर पराइको देशमा ।

भाव पक्षबाट हेर्दा- मायाप्रीति, देशभक्ति, आर्थिक अभाव, युवाशक्ति, रोजगारी, समाजसुधार, राजनीति, भ्रष्टाचार, महिला अधिकार जस्ता धेरै कुरामा यहाँ सङ्कलित मुक्तकहरुले आवाज उठाएकै छन् । त्यसका अतिरिक्त पनि धेरै खालका भिन्न विषयहरु समेत आएका देखिन्छन् । क्रमसङ्ख्या १९६ को मुक्तकमा हेरौँ-

कसैलाई स्वार्थ र अनुकूलको लागि प्रयोग गर्ने नगरौँ ।
शरीरमा तागत छउन्जेल कसैको भर पर्ने नगरौँ ।
सकेसम्म कसैलाई वचनको भालाले रोप्ने गर्नु हुन्न,
स्वार्थ लुट्न बारम्बार हजार ठाउँ चहार्ने र सर्ने नगरौँ ।

यसरी विचार गर्दा मुक्तकहरुमा विचारको विविधता देखियो । अर्थको प्रचुरता हुनु आफ्नै ठाउँमा छ, त्यसका अतिरिक्त मानिसका जीवनमा नैतिक शिक्षाको कमी रहेको अनुभव रचनाकारलाई भएको अनुमान यहाँबाट गर्न सकियो । मान्छेसँग ‘आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्’ भन्ने हेक्का रहनुपर्छ भन्ने भावना रचनाकारले मुक्तकका हरफमा उदाहरणका साथमा प्रस्तुत गरेको यहाँ देखिन्छ । त्यसै गरी अर्को क्रमसङ्ख्या २१४ को मुक्तकमा हेरौँ-

खोज्नु हुँदैन हजुर दाउ, निहुँ र भाउ जिन्दगीमा ।
स्वार्थ पूरा गर्न मोल्न हुन्न अरुको पाउ जिन्दगीमा ।
एक गल्ती छिपाउन अरु हजार गल्ती गर्नुपर्छ,
गल्ती नै गल्तीले नबनाऔँ मुटुमा घाउ जिन्दगीमा ।

यसरी हेर्दा निदाएको नाटक गर्नेहरुले पनि समाजमा दुःख थपेको हो भन्ने भाव रचनाकारले अघि ल्याउन खोजेको अनुमान हुन्छ । स्वार्थ सिद्धिका लागि मानिसले ‘आफ्ना आँगनको भैँसी नदेखेर अर्काका आङको जुम्रो देखेका’ घटनाहरुसँग हाम्रो जम्काभेट हुने गरेकै छ । स्वभावलाई स्वच्छ बनाउन सकियो भने नै समाजलाई स्वस्थ बनाउन सकिन्छ भन्ने विचारलाई यसरी कलात्मकता प्रदान गर्ने सिपलाई सराहना गर्न यस मुक्तक सङ्ग्रहमा पाइएको छ । अझ धेरै र अझ शक्तिशाली रचनाहरु फेरि पनि पढ्न पाइयोस् भन्ने आशा पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्