तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मतीमै शौचालय



०१ बैशाख २०७६, काटमाडौं

वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय बन्न छोडेको छैन ।

वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताउनुभयो । नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ ।

यसले गर्दा जति सफा गरेपनि हिँड्दैछ, पाइला मेट्दैछ भनेझै सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ । त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइका क्रममा भत्काइए पनि केही अझै बाँकी छन् । बल्खु क्षेत्रको नदी किनारमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेकाले यसरी नदीमै शौचालय बनाएका हुन् । उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन ।

अधिकार सम्पन्न वाग्मती समिति लगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा वाग्मती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ । सरकारले बनाएको आवासमा पनि नसरी सुकुम्बासीका नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्