घैलाडुब्बा सबस्टेशन सञ्चालनमा आएपछि झापाका उपभोक्ता हर्षित



१८ फागुन २०७५, काठमाडौँ

विद्युत्लाइन छैन भन्दा छ, तर पङ्खाबत्ती र पानी तान्ने मोटर चलाउनसमेत पाइँदैनथ्यो । बत्ती भए पनि टुकी बाल्नुपर्ने अवस्था थियो । धेरै उपभोक्ता हैरान थिए, तर बत्तीको बिलसमेत साविककै आउने गरेको थियो ।

पटकपटक लाइन ‘ट्रिप’ हुने र लाइन हुँदा पनि कम ‘भोल्टेज’का कारण समस्या भोग्दै आएका झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक, राजगढलगायत स्थानमा समस्या पर्दै आएको थियो । कम भोल्टेजका कारण बत्ती बालेपनि पछिल्लोपटक नेपाल विद्युत् प्राधिकरणले सो क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यका साथ घैलाडुब्बा सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल सरकार, प्राधिकरण र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सबस्टेशन सञ्चालनमा आएपछि झापाको सुरुङ्गालगायत क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन सञ्चालनमा आएपछि लामो दूरी र ओभरलोडका कारणले पटक–पटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा बत्ती, पङ्खा, मोटरलगायत विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “झापाका त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ । स्थानीयलाई सहज रुपमा विद्युत् सेवासमेत दिन सकिन्छ ।”

प्राधिकरणले अब अनारमनी सबस्टेशनबाट ३३ केभी वितरण लाइन हुँदै घैलाडुब्बा सबस्टेशनमा विद्युत् ल्याउने छ । घैलाडुब्बा सबस्टेशनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुङ्गा क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले जानकारी दिनुभयो ।

हाल अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ । लामो दूरी र ओभरलोडका कारणले त्यस क्षेत्रमा पटकपटक लाइन ट्रिप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता आजित थिए । घैलाडुब्बा सबस्टेशनबाट विद्युत् वितरण शुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रीड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रीड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउने लगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्