कर्णालीको प्राथमिकतामा विकास साझेदारले काम गर्नुपर्छ



१५ फागुन २०७५, सुर्खेत

कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा साझेदार निकायले लगानी गर्नुपर्दछ ।”

मन्त्री रावलले कर्णालीको विकास र समृद्धिमा टेवा पु¥याउन विभिन्न सङ्घ संस्थालाई आग्रह गर्दै सङ्घ संस्थासँग समन्वय गर्न यो प्रदेशमा सामाजिक विकास परिषद् गठन गरिने बताउनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले प्रदेशको योजनाभित्र छिरेर मात्र लगानी गर्न साझेदार निकायहरुसँग आग्रह गर्दै बस्तीस्तरबाट छनोट भएर आएका योजनामाथि टेकेर काम गर्दा लक्षित वर्ग समेटिने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गैससले सञ्चालन गर्ने कार्यक्रमलाई गरीबमैत्री हुनुपर्ने बताउँदै योजना र कार्यक्रमलाई दोहोरोपन हुन नदिन तीन तहका सरकारबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गैसस महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा गैससको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्