१५ फागुन २०७५, तुलसीपुर
पहिलो पटक यहाँका एक व्यक्तिले व्यावसायिकरुपमा कागती खेती शुरु गर्नुभएकोछ । लमही नगरपालिका–९ हरदवास्थित अम्मर कँवरले कागती खेती शुरु गर्नुभएको हो ।
अन्य बालीभन्दा कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि करीब एक बिघा जमीनका कागती खेती शुरु गरेको कँवरले बताउनुभयो । उहाँले ३५० बोट कागती लगाएर यस वर्षदेखि कागती बिक्री गर्न शुरु गर्नुभएको छ । केही कागती फल्न शुरु गरेको र केही बिरुवा सानै भएको उहाँले बताउनुभयो ।
उहाँले यस वर्ष करीब रु ३० हजार बराबरका कागती बिक्री गरेको बताउनुभयो । कृषिमा नमूना गाउँ बनाउने उद्देश्यले आफूले सो खेती शुरु गरेको उहाँको भनाइ छ । कागती प्रतिकिलो रु ७० देखि ८० सम्ममा बिक्री हुने गरेको छ । थोरै लगानी र राम्रो आम्दानी हुने भएकाले पनि अन्य बालीभन्दा कागती खेती शुरु गरेको उहाँको भनाइ छ ।