ढुङ्गासँगै भाग्य पुटाउँदै बालिका !



२४ पुस २०७५, इटहरी

१३ वर्षीया जुना र ११ वर्षीया लक्षी तामाङका हत्केलामा ठेलै ठेला छन् । पढाइबाट वञ्चित भएपछि यी दिदीबहिनीका कलिला हातले गिट्टी कुट्नु दिनचर्या बनेको छ । आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू भने घन हातमा लिएर ढुंगासँग पौठेजोरी खेलिरहेका हुन्छन् । संखुवासभा मकालु गाउँपालिका–५ नुममा उनीहरू ढुंगालाई टुक्रा–टुक्रा बनाएर भविष्य खोजिरहेका छन् ।

कलम, कापी र किताब च्यापेर स्कुल जाने बेला ठूला ढुंगालाई घनको सहायताले फुटाउँदै गरेको देख्दा जो कोहीको पनि मन चसक्क हुन्छ । सोलुखुम्बु सोताङ घर भएका उनीहरूको जन्मदर्ता बनेको छैन । यही कारण उनीहरूले पढ्न नपाएको खाँदबारी नगरपालिकाका नायबसुब्बा सुरेश कार्कीले बताए ।

‘जन्मदर्ता नभएपछि उनीहरू पढाइबाट वञ्चित बनेका रहेछन्’, नुम पुगेका उनले भने, ‘उनीहरूको अवस्था निकै दर्दनाक रहेछ ।’ उनीहरू पढ्ने वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ छ । पढ्ने रहर अधुरै रहेपछि दिदीबहिनीले किमाथाङ्का–विराटनगर सडक आसपास गिट्टी कुट्ने गरेको उनले सुनाए ।

उनीहरूका आमा पूर्णीमायाको २०७२ मा मृत्यु भएपछि मानसिक सन्तुलन गुमाएका बुवा सन्चेको अत्तोपत्तो छैन । ‘स्कुल जान नपाएपछि पढ्ने रहर मारेर दाजुसँगै गिट्टी कुटेर बसिरहेका छौं’, जुनाले भनिन्, ‘बिहान–बेलुका सँगै खेल्ने साथी विद्यालय जान्छन् । हामी भने गिट्टी कुट्न र ज्यालामा काम गर्न जान्छौं ।’

उनीहरूका दाजु प्रशान्तलाई श्रम गरेर बहिनीहरूलाई पढाउने धोको छ । ‘तर, स्कुलले जन्मदर्ता माग्यो’, उनले भने, ‘त्यो नभएपछि बहिनीहरूलाई पढाउन सकेको छैन ।’ नुमको सिंहेश्वरी माविले जन्मदर्ता नभएका कारण भर्ना लिन नमानेको उनले सुनाए । बाबुआमा नभएकाले सोताङ गाउँपालिकाले जन्मदर्ता नगरिदिएको उनको भनाइ छ । जन्मदर्ता गरेर पढाउने वातावरण बनाइदिन उनले आग्रह गरे । जन्मदर्ताकै अभावमा उनका १८ वर्षीय भाइ लाक्पाले नागरिकता बनाउन पाएका छैनन् ।

पूर्णीमायाले पहिलो श्रीमान्को मृत्युपछि दोस्रो विवाह गरेकी थिइन् । प्रशान्त र लाक्पा पहिलो श्रीमान्तर्फका हुन् भने जुना र लक्षी दोस्रोपट्टिका। प्रशान्तले भाइबहिनीलाई साथमा राखेका छन् । सोलुमा भएको घरजग्गाले खान नपुग्ने र सहारा दिने कोही नभएपछि काम खोज्दै तीन वर्षअघि मकालु गाउँपालिका आइपुगेको उनले सुनाए । उनका अनुसार सोताङकै स्कुलमा पछि जन्मदर्ता पेस गर्ने सर्तमा जुनाले ४ र लक्षीले २ कक्षासम्म पढे । आमाको मृत्यु र बाबु बेपत्ता भएपछि स्कुलले जन्मदर्ता खोज्यो । त्यसपछि पढाइ रोकिएको उनको भनाइ छ ।

उनका श्रीमती र छोरासहित ६ जनाको परिवारले गिट्टी कुटेर गुजारा चलाइरहेको छ । एक सातामा एक ट्र्याक्टर गिट्टी तयार पार्छन् । ६ देखि ७ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए । दिनभरको कमाइले कोठाको भाडा तिर्न र खान धौधौ परिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्