९५ हजार संखुवासभालीले यस आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र पाउने



१२ पुस २०७५, संखुवासभा

पाँचथर जिल्लाबाट मंसिर ३ गतेदेखि वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र यस आर्थिक वर्षमा संखुवासभामा पनि वितरण हुने भएको छ । यो वर्ष संखुवासभा सहित सात वटै प्रदेशको १५ वटा जिल्लामा वितरण हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले पहिलो चरणमा प्रदेश १ का झापा र संखुवासभामा परिचय पत्र वितरण गरिने जानकारी गराएको छ । संखुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

दोस्रो चरणमा हरेक प्रदेशका ३ जिल्लामा परिचयपत्र वितरण गरिने भएको छ । प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को चितवन, ललितपुर र रसुवा, गण्डकी प्रदेशको स्याङजा र तनहुँ, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चरपुरमा यसै आर्थिक वर्ष भित्र परिचयपत्र वितरण गरिने विभागले जनाएको छ ।

विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारी गरी एकलाख १७ हजार जनालाई परिचयपत्र वितरण गरिसकेको छ ।

विभागले यस आर्थिक वर्ष भित्र ७ वटै प्रदेशका १५ वटा जिल्लाका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्रमा जैविक तथा व्यक्तिको विवरणसहितको विद्युतीय चिप एवं सुरक्षण हुनेछ । यो सबै प्रकारका बैंकिङ तथा प्रशासनिक कामका लागि प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्