खानेपानी मन्त्रीद्वारा विद्यालयलाई एक लाख सहयोग घोषणा



२७ मङ्सिर २०७५, कञ्चनपुर

खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले उक्त रकम विद्यालयको सहयोगार्थ प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभएको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग जुटाउने उहाँले बताउनुभयो ।

त्यसैगरी विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउन समेत उहाँले रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा मंसिर २७ गते बिहीबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गते सम्म चल्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्