गाउँपालिका सचिवविहीन



०५ मंसिर २०७५, कावासोती

नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

गाउँपालिकामा छ वडा छन् । छवटै वडामा एक वर्षदेखि सचिव भने छैनन् । वडासचिव नहुँदा वडाबाट हुने काम प्रभावित हुने गरेका छन् । नवलपुरको विकट पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकामा वडासचिव नहुँदा स्वास्थ्यका कर्मचारीको सहयोग लिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष शशीकिरण वस्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पंजिकाको काम स्वाथ्यका कर्मचारीसँग सहयोग मागेर गर्दै आएका छौँ, अध्यक्ष वस्तोकाटीले भन्नुभयो, “नियमित रूपमा बस्ने वडासचिव भएजस्तो काम हुँदैन, यसले समस्या सिर्जना भएको छ ।”

वडामा सचिव नहुँदा स्थानीयवासीलाई समस्या भएको आफूले महसुस गरे पनि वडासचिवको व्यवस्थापन हुन नसक्दा समस्या पर्दै आएको अध्यक्ष वस्ताकोटीले बताउनुभयो । वडासचिवको व्यवस्थापनका लागि जिल्ला समन्वय समिति कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो ।

पहाडी विकट क्षेत्र भएकाले कर्मचारी कामका लागि आउन नखोज्ने र सम्बन्धित निकायले समेत चासो नदिँदा समस्या सिर्जना भएको अध्यक्ष वस्ताकोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्