फेरिएको जनकल्याण



१५ असोज २०७५, काठमाडौँ

‘गरे के हुँदैन र ?, नेपाली समाजको प्रचलित भनाई । छोटो समयमा नै उक्त भनाईलाई चरितार्थ गरेको छ जनकल्याण माध्यामिक विद्यालयले ।

केहि वर्ष अघिसम्म लड्न लागेको पर्खाल, सिमित भौतिक संरचना, शौचालय र खानेपानीको अपर्याप्तता यस्तै थियो जनकल्याणको अवस्था । सायद, केहि वर्षअघि बौद्ध महाङकालको बाटो भएर ओहोर-दोहोर गर्ने कतिपय मानिसहरुका लागि महाङकाल ओह्रालो छेउमा पनि विद्यालय छ भन्ने कुराको ज्ञान नहुन पनि सक्छ । तथापी हाल उक्त बाटो भएर हिड्ने जोकोहीको आँखा जान्छ मुहार फेरिएको जनकल्याणमाथि ।

हाल भौतिक संरचना र आकर्षक रंगरोगनले चिटिक्क देखिएको जनकल्याणको इतिहास भने छोटो छैन् । विद्यालयको अभिलेख हेर्ने हो भने राणा शासनको अन्त्य पश्चात शिक्षाप्रतिको मोहले तीन जना विद्यार्थी साथमा लिएर विक्रम संवत २०१० सालमा स्थापना भई पाटीमा सञ्चालन भएको देखिन्छ, जनकल्याण ।

२०७२ मंसिर २० गतेबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी कुमारीकमला राई २०५१ मा शिक्षिकाको रुपमा जनकल्याण प्रवेश गर्दाको अवस्था सम्झँदै भन्छिन्, ‘जनकल्याण त्यतिखेर निकै अप्ठ्यारो स्थितीमा थियो । भवन नहुँदा  एउटै कोठमा दुईवटा कक्षा सञ्चालन गर्यौँ ।साथै अफिस र कक्षाकोठा सँगसँगै थियो । खुल्ला आकाशमा नै अध्यापन गरायौँ भन्दा फरक पर्दैन् ।’

विभिन्न संघर्षका वावजुद २०५४ मा निमावि तथा २०५७ मा माविको कक्षा सञ्चालनको अनुमति प्राप्त गरेको जनकल्याण २०५८ मा पहिलोपटक एसएलसी परीक्षामा सामेल भएको थियो । संयोग कस्तो रह्यो भने लामो समय सहायक प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी कुमारीकमला राईले निमित्त प्रअको जिम्मेवारी निर्वाह गर्दा जनकल्याणले २०६४ बाट उच्च मावि सञ्चालन गर्न पुग्यो ।

‘२०६९ असारमा विद्यालयको पर्खाल भत्किएर विद्यालय बग्ने स्थितीमा पुगेपछि हामीले आम भेला, क्षेत्रगत भेला बोलायौँ । त्यसबाट कुनै पनि निष्कर्ष नआएकाले राजनीतिक दलका प्रतिनिधिहरुको भेला गर्यौँ । त्यहाँबाट तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखरनाथ आचार्यको अध्यक्षतामा तत्कालिन प्रअ नर्वदा पोखरेल सदस्य सचिव , तत्कालिन सहायक प्रअ कुमारीकमला राई कोषाध्यक्ष तथा राजनीतिक दलका व्यक्तिहरु सम्मिलित भवन निर्माण समिति गठन गर्यौँ, उनले भनिन् ।

उक्त समितिले तदारुकताका साथ काम अघि बढाएपछि भवन निर्माणका लागि काठमाण्डौ महानगरपालिकाको ६० प्रतिशत र विद्यालयको ४० प्रतिशत लगानीमा सडक छेउको भत्किएको पर्खाल विस्थापन गरी ब्लक बि र सि भवन निर्माण गरियो ।  साथै जिल्ला शिक्षाकार्यालय काठमाण्डौबाट ७० प्रतिशत र विद्यालयको ३० प्रतिशत लगानीेमा  ब्लक ‘ए’  भवन निर्माण गर्यौँ । साथै  बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगबाट ब्लक ए र बि मा तला थप्ने काम भएको प्रअ राई बताउछिन् ।

जनकल्यणको भौतिक संरचना परिवर्तन हुनुको श्रेय २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पलाई पनि जान्छ । भूकम्पले विद्यालय भवनमा निकै क्षति पुर्यायो ।तत्पश्चात अस्थायी संरचनाका निमित्त प्रत्येक राजनैतिक दललाई आब्ह्वान गर्दा तत्कालिन माओवादीले दश वटा अस्थायी टहरा निमार्ण गरेको थियो भने  बौद्धनाथ समितिले दुई लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।

जनकल्याणका प्रशासक तथा शिक्षक सुरेश कटुवाल विद्यार्थी संख्याको चाप, सहयोगी हातहरुको साथ , विद्यालयको अग्रसरतले  विभिन्न बाधा व्यवधानकाबीच पनि विद्यालयमा परिवर्तन आएको बताउँछन् । भूकम्पले क्षतिग्रस्त बनाएको जनकल्याणको स्वरुप परिवर्तन हुनमा नेपाल चीन कैलाश साँस्कृतिक सम्बर्द्धन विकास संघको विशेष हात रहेको छ । सुरुवातमा १३ वटा कोठा निर्माण गर्नका लागि आएको उक्त संघले विद्यालय व्यवस्थापनले दिलाएको विश्वासका कारण सबै संरचना निर्माण गरिदिएको छ ।

‘दाताले विद्यालयमा लगानी गर्दा लगानी सुरक्षित हुन्छ भन्ने सोचका साथ सबै संरचना निर्माण गर्नुभयो । हामीले दाताले गरेको सहयोग भन्दा बढि काम गर्यौँ र सबै भवन निर्माण गर्नुका साथै अन्य सहयोग पनि प्रदान गर्नुभयो, कटुवालले भने । चीन कैलाश साँस्कृतिक सम्बर्द्धन विकाससंघले जनकल्याणमा भवनसहित कम्पाउण्ड वाल, शौचालय, सिसि टिभी, फर्निचर, ग्राउण्ड, साइन्स ल्याब निमार्ण गरिदिएको छ ।
विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष दिलेन्द्र प्रसाद ढकालको टोली , भवन निर्माण समिति, विद्यालय परिवार तथा सरोकारवाला निकायको समिश्रणले जनकल्याणको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको प्रअ राई बताउछिन् ।

 शिक्षा विकास समन्वय इकाई काठमाण्डौले आइसिटीहल, कम्युटर ल्याब, पुस्तकालय, शौचालयमा लगानी गरिदिएको, प्रशासक कटुवालले बताए । शैक्षिक सत्र २०७५ मा शिक्षा विकास समन्वय इकाईबाट हजार भन्दामाथि विद्यार्थी हुने सामुदायिक विद्यालय भएकाले विभिन्न शीर्षकमा खर्च गर्ने गरी पाच लाख पुरष्कृत हुन सफल जनकल्याणमा हाल १४५६ विद्यार्थी अध्ययनरत छन् ।

कक्षा १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयले यस वर्षबाट स्नातकको कक्षा पनि सुरुवात गरेको छ ।  पर्याप्त दरवन्दी नरहेको जनकल्याणमा कक्षा १० सम्ममा ३३ तथा ११ र १२ मा गरी २४ जना  शिक्षक तथा कर्मचारी रहेका छन् । विद्यालयमा नर्सरीदेखि कक्षा आठसम्म अंग्रेजी माध्यम तथा कक्षा नौ र दशमा नेपाली माध्यममा पढाइ हुने गरेको छ । हामीले प्रविधिमा जोड दिन खोजिरहेका छौँ तर हामीसँग  पर्याप्त मात्रामा कम्युटर छैन । तथापी हप्ताको एकपटक विद्यार्थीलाई ICT ल्याबमा लैजाने गरेका छौँ । साथै विद्यार्थीहरुको क्षमता र शैक्षिकस्तर उच्च बनाउनका लागि अघि बढेका छौँ, उनले भनिन् ।

अतिरिक्त कृयाकलापमा अघि रहेका जनकल्याण सहभागी भएको कार्यक्रमहरुमा पुरष्कृत हुने गरेको छ । साथै विद्यालयले खेलकुदलाई पनि प्राथामिकतामा राख्दै आएको छ ।गर्मी मौसममा वर्षको एकपटक विद्यार्थीहरुलाई पौडी खेल्न लैजाने गरिएको प्रअ राईले बताइन् । के गर्दा विद्याथीहरुलाई न्याय गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरु चिन्तित हुनुहुन्छ । तथापी विद्यार्थीहरु निरन्तर रुपमा उपस्थित नहुने र अभिभावकले चासो नदिने अवस्थाप्रति हामी चिन्तित छौँ, प्रअ राईले भनिन् ।

संरचना मात्र नभएर शैक्षिक वातावरणको श्रृजना गर्न सफल जनकल्याणले  नर्सरीमा अडियो भिजुयल कक्षा सञ्चालन गर्दै आएको छ ।त्यस्तै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको  जनकल्याण बालमैत्री कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रत्येक कक्षाकोठमा सिसि टिभि, ICT ल्याब,किनर गार्डेन लगायतले झनै आकर्षक देखिएको छ । साथै व्यवस्थित प्रार्थना जनकल्याणको अर्को विशेषता हो  । समाजमा आफूलाई अब्बल बनाउन सफल बनेको जनकल्याण अन्य विद्यालयका लागि अनुशरण योग्य बनेको छ ।  ।

प्रतिक्रिया दिनुहोस्