भद्रगोलका ‘बाहुन डन’ को जीवन कथा



कुञ्जरमणि भट्टराई  -विक्रम संवत २०५९ देखि आफ्नो जादूमय आवाजले २०७२ सम्म दर्शक तथा स्रोतालाई मन्त्रमुग्ध बनाए उनले । छोटो समयमा सांगीतिक कार्यक्रम मार्फत रेडियो तथा नेपाल टेलिभिजन हेर्ने दर्शक स्रोतामाझ सञ्चारकर्मीको आफ्नो छुट्टै पहिचान बनाएका अशोक धिताल २०७० पछि ‘बाहुन डन’का रुपमा परिचित छन् ।

सिन्धुपाल्चोकको लागर्चेमा २०४० सालमा जन्मिएका अशोक धिताल दुई वर्षको उमेरमा नै परिवारसँग काठमाण्डौ भित्रिए । बाल्यकालमा धोवी खोलामा पौडी खेलेको र माछा मारेको सम्झना उनको मानशपटलमा ताजै छ ।

 

काठमाण्डौमा आफ्नै घर भएकाले उनले तीन वर्षको उमेरमा नै अध्ययन गर्ने अवसर प्राप्त गरे । चाबहिलमा रहेको चन्द्रविनायक जगत मन्दिरमा कक्षा तीनसम्म अध्ययन गरेका धितालले जोरपाटीमा रहेको सरस्वती स्कुलबाट २०५७ मा एसएलसी उत्तीर्ण गरेका हुन् । सानैदेखि नृत्यमा रुची राख्ने धितालले ब्रिलेन्ट कलेजमा कक्षा ११ मा पढ्दा नै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए ।

जादूमय आवजका कारण अरुलाई छिट्टै आफूतर्फ आकर्षण गर्न सक्ने क्षमता भएका धिताल कक्षा १२ मा पढ्दा नै एचविसी एफएममा आबद्ध भए । एचविसीका तत्कालिन स्टेशन म्यानेजर प्रकाश थापको प्रेरणाबाट  सञ्चार तथा कलाकारिता क्षेत्रमा सक्रिय भएका धितालले रत्नराज्य क्याम्पसबाट पत्रकारिता बिषयमा स्नातक गरेका छन । विशेषगरी लोकदोहरी कार्यक्रम सञ्चालन गर्ने धिताल २०६६ सम्म रेडियो एचविसीमा आबद्ध रहे ।

रेडियो कार्यक्रम र म्युजिक भिडियोमा व्यस्त रहेका धितालले २०६३ बाट नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्न थाले । नेपाल टेलिभिजनमा दैनिक बिहान ७ः३० बजे ‘सांगीतिक कोशेली’ , हप्ताको एकपटक लाइभ कार्यक्रम ‘टिफिन टाइम’ लगायतका कार्यक्रम लिएर उपस्थित हुने गर्दथे । त्यस्तै एनटिभी प्लसबाट ‘टप फाइभ’, ‘संगीत सर्गम’ गुञ्जिने गर्दथ्यो । भन्छन्, ‘२०६६ तिर नेपाल टेलिभिजनबाट दोहोरिँदा हप्तामा २२ वटा कार्यक्रम प्रशारण हुन्थ्यो ।’

तत्पश्चात केहि समय म्युजिक भिडियोमा व्यस्त रहेका धितालले २०६८ सालमा वादी समुदायको  कथामा आधारित चलचित्र ‘मेरो कथा’मा अभिनय गरे । म्युजिक भिडियोमा अभिनय गरिरहेका धिताललाई चलचित्रमा काम गर्न खासै असहज भएन । उक्त चलचित्रले पटकथा विधातर्फ २०७० मा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्यो ।

२०६९ मा धिताल रेडियो सिटीमा आबद्ध भए । कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ सँग अशोकको प्राय:जसो भेटघाट भइरहन्थ्यो । छोटो समयमा निकै चर्चा कमाउन सफल टेलिशृंखला भद्रगोलको तेस्रो भाग छायांकन भइसकेको थियो । ‘भद्रगोल’का पाँडेले धिताललाई  एउटा भूमिका गरिदिन आग्रह गरे । २०७० मा उक्त भूमिका गरेपछि अशोक धितालको परिचय फेरियो । उनी ‘बाहुन डन’का रुपमा चिनिन थाले । भन्छन्, ‘बाहुन डन’को भूमिका दर्शकहरुले निकै रुचाउनुभयो , त्यसपछि फर्केर हेर्नुपरेन् । बाहुन डनको भूमिका निकै रुचाइएपछि उनले २०७२ मा  रेडियो सिटी पनि छाडे ।

सानै उमेरमा रेडियो कार्यक्रम चलाएका धितालले भने, ‘मेरो आवाज र कार्यक्रम सञ्चालनको शैलीले केटीहरु त  फिदा नै हुन्थे । केटाहरुले पनि मेरो शैली अरुको भन्दा फरक छ भनेर प्रशंसा गर्थे । कतिपय केटीहरु आवाज सुनैकै भरमा भेट्न बोलाउँथे अनि फुच्चे रहेछ भन्दै फर्कन्थे ।’ धितालले २०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । चरी गुँणैमा, मेरो माया उनान्सय, भेटिन्छ कि कतै उनका चर्चित म्युजिक भिडियो हुन् ।

नेपालको कलाकारिता र सञ्चार क्षेत्र त्यति बलियो छैन भन्ने सोचेर उनले २०६३ सालबाटै व्यवसायमा पनि हात हालेका थिए । सुरुवातमा बाइक रिकन्डिसन सञ्चालन गरेका धितालले केहि समय जग्गाको कारोवार पनि गरे । हाल उनी बाबा एजुकेशन कन्सल्टेन्सी तथा इची वान रेष्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । भन्छन्, ‘इची वान भद्रगोल टिमले सञ्चालन गरेको हो ।’ भद्रगोलको टिम  मिलेर ‘फनफनी’ चलचित्र बनाउन लागेको जानकारी पनि दिए ।

‘स्कृप्ट लेख्दा, सुटिङ गर्दा हामी हाँसी नै रहेका हुन्छौँ । धेरै जस्तो सुटिङहरु हाँसो लाग्दा हुन्छन् । दुई सय भन्दा बढी दर्शकहरु ७७ औँ भागको सुटिङ हेरिरहेका थिए , सधैँ उपद्रो गरिरहने पाँडेलाई मैले किक हान्नुपर्ने सिन थियो । मैले पाँडेलाई किक हान्दा दर्शकहरु फटाहा बुढोलाई ठिक्क भयो भन्दै हाँसे, धितालले हाँस्दै भने ।’

उनी विभिन्न समयमा विदेशमा आयोजना हुने कार्यक्रमहरु पनि सहभागी हुने गर्दछन् । उनले त्यहाँ कुनै कार्यक्रममा बाहुन डनको भूमिका निवार्ह गर्दछन् भने कतिपय कार्यक्रममा उद्घोषकको भूमिका पनि निवार्ह गर्ने गर्दछन् । छिट्टै केहि कार्यक्रमका लागि विदेश जाने तयारी पनि छ उनको ।

पछिल्लो समय भद्रगोलले हाँस्य तथा सन्देशमूलक टेलिशृंखलाको प्रतिनिधित्व गरिरहेको उनको भनाई छ । हाल कलाकारिता तथा व्यवसायमा सक्रिय धिताल आफू अझै संघर्षको चरणमा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्