तीन दुनियाँका गुरु



२९ भदौ २०७५, काठमाडौं

अध्ययन गुरु
वैदिक गुरु व्रह्म चिन्थे । चिनाउँथे । पञ्चतत्व आफू हूँ भन्थे । पृथ्वी त्यही हो भन्थे । व्रह्माण्ड त्यही हो भन्थे । आफू चिन्दा व्रह्माण्ड चिनिन्छ भन्थे । यस अर्थमा नमूना (sample) चिनेकाहरु । त्यसैले भनीदिए व्रह्म उर्जाको पूञ्ज (potential energy) हो । हामी उर्जाको अंश (kinetic energy) हौं । अनि भन्थे उर्जाको पूञ्ज र हाम्रो उर्जाको बीच सहसम्बन्ध छ । जोडिन सक्ने । छोडिन सक्ने । तोडिन सक्ने । उनका शव्दमा परमात्मा व्रह्म उर्जा हो । उर्जाको पूञ्ज । आत्मा त्यसको चलायमान उर्जा हो । अंश उर्जा हो । त्यो बुझने बुझाउँने उनका तागत थिए । ध्यानमार्फत । नाक हेरेर । भृकुटी हेरेर । सास हेरेर । उर्जा संझेर । देव मूर्ति संझेर । अर्थात् आराधनाले । चिन्तनले । समर्पणले । ज्ञानले । ध्यानले । पूजाले । यस अर्थमा ती गुरुमा गुरुत्व थियो । छ । हुन्छ । त्यही तागतले शुत्र बनाउथे । ज्योति । निरञ्जन । निराकार ।

बुद्धमार्गी गुरुहरु शुन्य चिन्थे । चिनाउथे । सास हेर । अनुभूति गर । सुखको । दुःखको । अनुभूति आउँछन् । जान्छन् । संसार त्यही हो । आउँछ । जान्छ । श्रृष्टि बुझाँउने कुरा सासबाट चिनाउँथे । अनुभूति गराएर । विस्तारै शून्यमा पुग्थे । शून्य उज्यालो पनि हो । शून्य अध्यारो पनि हो । त्यहाँ मूर्ति छैन । अमूर्त छ । त्यही गुरुत्व हो । हर कुरालाई अभजमाउँने तागत दिन्थे । विश्वास नगर । परख (test) गर । उनको मन्त्र हो । शूत्र हो । अनुभूति भिन्न हुन्छ । भौतिक ज्ञान त्यही हो । परमानुभूति एउटै हुन्छ । त्यो शून्य हो ।

मुन्धुमी गुरु तागेरा चिन्थे । चिनाउथे । भन्थे तगेरा चिन्नेहरु मुक्त हुन । पूर्खा चिन्नेहरु भुक्त हुन् । भुक्तहरुले प्रकृति चिन्थे । चिनाउथे । मुक्तहरु शिक्षा दिन्थे । फेदाङबाहरु जनस्तरका । संस्कारमा सँस्थागत गरिएका । जनस्तरका । यसरी मुन्धुमी गुरुहरुले जीवन चिनाए । जगत चिनाए । तागत चिनाए । पितृ चिनाए ।

इस्लामी गुरु ‘नूर’ चिन्थे । चिनाउँथे । नाम भन्ने त्यही अल्लाह हो । एउटै अल्लाहका अलग नाम । प्रार्थना, ध्यान, भक्ति, कुर्वानी एउटैमा मिलाउँथे । त्यसैलाई संस्कार भन्थे । संस्कार संस्थागत गर्न मौलवी मौलानाहरु खट्थे । समाज परिचालन गर्न मुफतीहरु निर्णायक हुन्थे । मुफती नहुँदा मौलवी मौलानाले काम सम्हाल्थे । नूरसँग एकाकार हुनेहरु पीर बन्थे । यो क्रम जारी छ । रहन्छ । त्यो तागत गुरुत्व हो ।

निचोडमा भन्दा धार्मिक गुरुहरु बैचारिक गुरुत्वले सम्मानित भए । संघीयता आउँदा पनि । नआउँदा पनि । त्यसैले उनीहरु वाहक भएनन् । निर्णायक भए । त्यही निर्णयको तागतले गर्दा उनीहरु गुरु नै रहे । छन् । हुन्छन् ।

भौतिक गुरु
ऋषि वृहस्पति भौतिकवादका गुरु हुन् । चार्वाक दर्शन यिनैको हो । मरे पछि न पुनर्जन्म । न स्वर्ग । न नर्क । वात्स्यायन यौन शास्त्रका गुरु हुन् । यौन नियन्त्रक होइनन । उपयोगी हुन् । हामी बबुराले मार्क्सलाई भौतिकवादको पर्याय मान्यौं । अल्पबुद्धिकै असर होला । कम्प्रोइडर बुर्जुवाकै बल होला । मान्छे पूर्वको । विचार पश्चिमाको । यस्ता गुरुहरुले धर्म निरपेक्ष शिक्षाको वकालत गर्याैं । त्यसका गुरुहरु प्रवृतिका थिए । छौं । हुन्छौं । यो स्थितिलाई राजनीतिज्ञहरुले उपयोग गरे । नेपाली काँग्रेस भएर । कम्युनिष्ट भएर । दुवै हुँदा हाम्रो गुरुत्व घटतै गयो । दलत्व हाबी भयो । निवृति हराउँदै गयो । प्रवृति बलवान भयो । हामी गुरु बने बनाइएकाहरु त्यही प्रवृतिको वरिपरि घुम्यौं । त्यसैले हाम्रो उफ्राइ त्यतिमै सीमित भयो । मार्क्सको समर्थनमा । मार्क्सको विरोधमा । मार्क्सको आंशिक उपयोगमा । हाम्रो कित्ताकाटे मानसिकताले हामीलाई अध्यात्ममा बन्देज लगायो । भौतिकमा बीचमै अडकायो । क्रमशः हामी दलका बन्यौं । दर्शनका बनेनौं । हाम्रो दलीय छाता त्यही कुराको द्योतक हो ।

हकिन्सलाई भौतिकवादी मान्यौं । उनले भने -सघन गुरुत्व विन्दू छ । त्यही विन्दू बढछ । संसार बन्छ । त्यही विन्दू खुम्चिन्छ । संसारको  अन्त्य हुन्छ । हिग्स बोसन पनि त्यही निर्णयमा पुगे । उनीहरुको खोजले भन्यो -असाधारण तत्व छ । त्यही तत्व बढछ । त्यही तत्व खुम्चिन्छ । यो भनाइ पनि हकिन्ससगै मिल्यो । वैदिक ज्ञानले भन्यो -एकातिर ज्योति छ । अर्कातिर महाशून्य । त्यहीं विष्फोट भएर श्रृष्टि हुन्छ । शून्य व्रह्माको रात हो । प्रलय हो । श्रृष्टि व्रह्माको दिन हो । आखिर भोतिक गुरुले पनि त्यही भने । अध्यात्मिक गुरुले पनि त्यही भने । यथार्थ एउटै हो । कुन गुरु मान्ने भन्ने कुरामा हामी विवादित बन्यौं । बेअर्थको विवादमा । त्यही विवादमा हामी विभक्त छौं ।

संघीय गुरु
संघीय नेपालले स्कूली शिक्षालाई स्थानीय सरकारमा लग्यो । बालशिक्षा उसकै रहयो । आधारभूत शिक्षा त्यही बस्यो । माध्यामिक शिक्षा उसकै जिम्मामा रहयो । प्रकारान्तले व्यावसायिक एवं प्राविधिक शिक्षा पनि त्यही पुग्ने भयो । अनौपचारिक तथा आजीवन शिक्षा त्यहीं बस्यो । यसरी हेर्दा हाम्रो जिम्मेवारी बढ्यो । स्थानीय शिक्षाविद् हामी भयौं । योजनाविद् हामी भयौं । पाठ्यक्रमविद् हामी भयौं । कानूनविद् हामी भयौं । स्थानीय सरकारका विदहरु । विद अर्को गुरुत्व थपियो । हाम्रो भूमिका भने अझै दलबाट हटेको छैन । किनकि साम्यवादीले भनेको जस्तो लालविद पनि बनेनौं । विचारमा लाल । व्यवहारमा विद् । पूँजीवादीले भनेजस्तो स्वेतविद् पनि बनेनौं । विद्हरुका विचार मिलाँउने व्यक्तित्व पनि बनेनौं । अहिलेको संघीयताले भने तीनै विद् खोजेको थियो । लालविद् । स्वेतविद् । मिलित विद् । बरु हामी अल्मलमा रहयौं । दलले भूमिका घटायो । प्रवृतिले अर्को बाटो समात्न बाध्य ग¥यो । निवृति बेकार हो भन्ने सोचले घर गरिरह्यो । स्थानीय सरकारले दबाउँछ कि भन्ने डर पस्यो । शिक्षक संघसंगठन तथा महासंघको भूमिका ट्रेडयुनियनभन्दा भिन्न हुने स्थिति आयो । पहिले पेशागत संगठन पछि ट्रेड युनियन । अर्को शव्दमा भन्दा ट्रेड युनियनले इन्जिनियर तथा मेडिकल काउन्सीलको ढँगमा काम गर्नुपर्ने स्थिति आयो । गतिला शिक्षकलाई सम्मान गर्ने । तिनको क्षमता र उपलव्धीमा गर्व गर्ने । कमजोरलाई सघाउँने । सारहीनलाई प्रणालीबाट धपाँउने । भोलिको बाटै बन्द गर्ने । यो स्थितिमा हामीले बाटो फेनुपर्ने भयो । दलीय नै बस्ने भए दलको शैक्षिक कार्यक्रम लागु गर्न थाल्नुपर्याे । पेशेवार हुने हो भने दलहरुका शैक्षिक कार्यक्रममा कार्यगत ऐक्यवद्धता खोज्नुपर्याे । कमजोरहरुले आफनै पेशाको बदनामी गरे भनी उनीहरुसँग टाढिनुपर्याे ।

संघीय शैक्षिक गुरु
गुरु बन्ने भए ओज थप्नुपर्याे । अध्यात्मको ओज थपे – अध्यात्म गुरु । भौतिकको ओज थपे भौतिक गुरु । संघीयतामा ओज थपे संघीय गुरु । संघीय शैक्षिक गुरु बन्ने हो भने – घरघरमा बालविकास शिक्षा सुनिश्चित गर्ने डिजाइन चाहियो । टोलटोलमा बालविकास सँस्थागत हुनुपर्याे । निजी, सरकारी र धार्मिक जहाँ पढे पनि समकक्षी बन्ने बनाउँने सुनिश्चित प्रबन्ध चाहियो । अनिवार्य र निशुल्क शिक्षा ग्यारेण्टी गर्नुपर्याे । घर गएर हुन्छ कि ? टोलटोलमा पुगेर हुन्छ कि ? सबैलाई विद्यालयमा ल्याउने, टिकाउँने, सिकाउँने र बिकाँउने उपाय निकालेर हुन्छ कि ? त्यसो हैन भने कोही स्कूल पढ्छन् । कोही घरै पढ्छन् । जहाँ पढे पनि पढ्छन् । पढ्नु अनिवार्य हो । पढ्ने थलो उनीहरुकै छनौटको कुरा हो । योग्यता बराबर हुने उपाय सुनिश्चित गर्नुपर्याे । सांकेतिक भाषा सबैले जान्नुपर्याे । सबैलाई सिकाउनुपर्याे । विद्यार्थीलाई । अभिभावकलाई । शिक्षकलाई ।

विद्यार्थीहरुको भाषा बटुल्ने तर्किब चाहियो । बहुभाषी शव्दकोष बनाउँने बुद्धि चाहियो । रहर चाहियो । जाँगर चाहियो । मातृभाषामा पढाउँने कि ? मातृभाषालाई विषयको रुपमा पढाउँने कि ? मातृभाषा मार्फत अर्को भाषामा लाने कि ? मातृभाषाको लिपि, संस्कृति र भाषाको संरक्षण मात्रै गर्ने कि ? टुँगो गर्नैपर्याे । लागु गर्नुपर्याे । दलित, विपन्न र अपाँगता भएका बालबालिकाहरुलाई निशुल्क रुपमा उच्च शिक्षासम्म पढाउँने प्रबन्ध गर्नुपर्याे ।

पढाइ व्यवहारिक, बैज्ञानिक, जनमुखी र उत्पादनमुखी बनाउँने काम हाम्रै काँधमा आयो । यसका लागि शिक्षण शैली बदल्नुपर्ने भयो । हर पाठमा दर्शन, विज्ञान, प्रविधि र सूत्र खोजे खोजाए पाठहरु बैज्ञानिक हुन्छन् । भोगाइबाट कक्षा शुरु गरे व्यवहारिक हुन्छ । जनताको ज्ञानमा टेकेर पढाए जनमुखी हुन्छ । काम गर्ने ठाउँमा विद्यार्थीलाई अनिवार्य रुपमा लाने व्यवस्था गरे उत्पादनमुखी हुन्छ । जनताको घरदैलोमा टाँसिएर जानकारी लिनुपर्ने परियोजना कार्य दिए उत्पादनमुखी बन्छन् । उत्पादन गर्नेहरुको सत्सँग गराएर उत्पादनमै लाग्छन् । काम गर दाम कमाउ भन्ने अभियान चलाए उत्पादनमुखी बन्छन् ।

उत्पादनमै लाग्न बढी सीप चाहिन्छ । त्यसले सँस्थागत तालिम खोज्छ । इन्टर्नस एउटा उपाय हो । सुर्खेतको बड्डीचौरको जनता माध्यमिक विद्यालय नमूना हो । बाग्लुङको अमरज्योति माध्यमिक विद्यालय अर्को नमूना । यी र यस्ता नमूना स्कूलको सिको गर्नुपर्याे । इच्छुक सबैलाई केही न केही सीप सिकाउनु अनिवार्य भयो । गरेर खान पाउँने सीप । यसको बजार स्थानीय सरकारमै सुनिश्चित गर्नुपर्याे । सोही सरकारले किन्ने एउटा उपाय हो । सरकारमार्फत अन्यत्र पठाउँने अर्को उपाय हो । यसका लागि संघीय शैक्षिक गुरु प्रवृत हुनुपर्याे । लाग्नुपर्याे ।

प्रत्येक विद्यार्थीको ज्ञान, सीप, क्षमता र अभिवृत्तिको लेखाजोखा गर्नु शैक्षिक गुरुको काम हो । द्रोर्णाचार्यले अर्जुन र एकलव्यको लेखाजोखा गरे जस्तो । राजर्षी जनकले अष्टावक्रको लेखाजोखा गरेको जस्तो । ज्ञान जाच्ता गहिराई थाहा पाउनुपर्याे । सीप जाँच्ता जीउने तागत । क्षमता जाँच्ता सिद्धान्त र व्यवहार मिलाउँने कला । अभिवृत्ति जाँच्ता झुकाव पहिचान गर्ने व्यवस्था । सोह्रकलाका कृष्ण । आठकलाका राम । चारकलाका संघीय शैक्षिक गुरु । बन्नै पर्याे । बनाउँनै पर्याे ।

गुरुत्वहीन गुरु
गुरुत्वहीन गुरुलाई पुर्खाले ‘भृत्यज’ ठाने । किनुवा । एकाध छोडेर हामी भृत्यज हौं । भृत्यजबाट नउँठेका हामीले के सम्मान खोज्नु ? के सम्मान पाउँनु ? त्यसैले हिजो हामी ढिक्कियौं (bulkanized) । दलीय छातामा । पेशेवार छातामा । हिजो विरोधीसँग भिड्ने भिडाँउने दल आज बन्न बनाउनुपर्नेमा पुग्यो । तिनकै छातामा ओत लाग्नेहरुले तिनकै गीत गाउँनुपर्ने स्थितिमा पुग्यौं । पेशेवार छाताले क्रमशः गुणस्तर खोज्दै गयो । गुणस्तरीय शिक्षक । गुणस्तरीय पाठ्यक्रम । गुणस्तरीय वातावरण । एजुकेशन इन्टरनेशनलले त्यही भन्यो । यसको अर्थ हो – दलीय छाताले सम्बृद्धिको छाता चाह्यो । अब हामी सम्बृद्धि सिकाउने गुरु हुनुपर्याे । पेशेवार छाताले गुणस्तर खोज्यो । अब हामी गुणस्तरीय शिक्षक बन्नुपर्ने भयो । संघीयताले स्थानीय शिक्षाविद् खोज्यो । अब हामी आफनो क्षेत्रको विद् बन्नुपर्याे । अर्थात् हाम्रा हिजोका छाताहरु असान्दर्भिक बने । त्यसैले नयाँ गुरु बन्नुपर्याे । समस्या हो – हाम्रो गुरुत्व छैन । गुरु बन्ने रहर चाहिँ छ ।

रहरमै समाधान
स्वामि । सोऽहं । अहंव्रहमास्मि । वैदिक पुर्खाका गुरुको लागत हो । वह्बाट बुद्ध बन्ने बुद्धमार्गी पुर्खाको तागत हो । स्वामि हुँदा आफनो मालिक आफै हुन्छौं । कसैको अनुगमन खोज्दैनौं । नियमन खोज्दैनौं । आफनो जिम्मेवारी आफैं बुझछौं । संघीय शैक्षिक गुरु त्यस्तै हुनुपर्छ । सोऽहं हुँदा आफू, व्रह्म र व्रह्माण्ड एउटै चीज रहेछ भन्न सक्नुपर्छ । म पञ्चभूत । व्रह्माण्ड पञ्चभूत । व्रह्म भूतादिदेव । ‘भूतहरु’ जन्माउने मालिक । अर्थात संघीय शैक्षिक गुरु विद्यार्थी, आफू, अभिभावक, व्यवस्थापन समिति, प्रधानाध्यापक, स्थानीय सरकार सबैमा एउटै तागत देख्न । देख्न सक्नुपर्छ । एक अर्कालाई दोष्याँउने शिक्षक संघीय शैक्षिक गुरु बन्नै सक्तैन । हुदैन । अर्थात् ती सबैलाई बुझनुपर्छ । बुझे अनुसारको काम गर्नुपर्छ । बालबालिकाको व्रह्म नै मेरो व्रह्म हो भन्न सक्नुपर्छ । गर्न सक्नु पर्छ । त्यसो गर्न नसक्नेहरु पाखा लाग्नुपर्छ । प्रश्न यति हो – हामी त्यतातर्फ छौं कि छैनौ ? लाग्न सक्छौं कि सक्तैनौं ? लगाउँन सक्छौं कि सक्तैनौं ? यसको समाधान त्यसैमा छ । बाँकी प्राविधिक कुरा हुन् । पढ्ने कसरी ? पढ्न लगाउँने कसरी ? जाँच्ने कसरी ? यस्ता कुरा छिनमै बन्छन् । तर अहं कुरा हो – कुन खाले गुरु बन्ने ? कुन व्रह्म पछ्याँउने ? निर्गुण व्रह्म ? अध्यात्म गुरु बनिन्छ । प्रकृति व्रह्म ? भौतिक गुरु बनिन्छ । विद्यार्थी व्रह्म ? संघीय शैक्षिक गुरु बनिन्छ । हैन भने गुरु शव्दको घटोत्तरी गर्ने दोष शिक्षकमै लाग्छ । मर्जी हाम्रै हो ।

प्रतिक्रिया दिनुहोस्