डाक्टर बन्न नपाएका शंकर आचार्य (वरिष्टे)लाई कलाकारिताले दिएको खुशी



०५ भदौ २०७५, काठमाडौं

२०३४ मा नाटकबाट कलायात्राको प्रारम्भ
सानैमा गरीबी, अभाव र पीडालाई नजिकबाट बुझेका उनी डाक्टर बन्न चाहन्थे । काठमाण्डौमा  जन्मिएका कलाकार, निर्देशक तथा निर्माता शंकर आचार्य विभिन्न संघर्ष गर्दै अध्ययनका लागि भने काभ्रेमा अनाथालय पुगे ।

चञ्चले स्वभावका आचार्यले प्राथामिक तहको शिक्षा पाँचखालमा रहेको समाजकल्याण केन्द्रबाट लिएका हुन् ।२०३४ सालबाट कलायात्रामा निस्किएका आचार्यले २०४२ सालमा सर्वमंगला माद्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे ।

तत्कालिन राजारानी पाँचखाल जाँदा राष्ट्रिय गान, स्वागत गान गाएका आचार्यले प्रशंसा बटुले । त्यसपछि २०३४ मा परिवारनियोजन संघले आयोजना गरेको ‘बाटुलो चौरको सभा’ नाटकमा सहभागी भएर कला यात्राको प्रारम्भ गरेका हुन्, आचार्यले ।

तत्पश्चात पाँचखालमै नाटक लेखन, निर्देशन र अभिनयमा सक्रिय हुन थाले । तत्कालिन समयमा केटीहरुलाई नाटकमा अभिनय गर्ने अनुमति नभएकाले केटी बनेर अभिनय पनि गर्थे उनी ।  हरेक हप्ताको शुक्रबार मञ्चन हुने उक्त नाटक हेर्न  पाँचखाल वरपरका मानिसको भिड लाग्थ्यो ।

‘स्टेजमा जाँदा वाहा शंकर वाहा ! घरमा गयो घ्याम्पो रित्तो’
त्यसपछि अध्ययनका लागि काठमाण्डौ झरेका निर्देशक आचार्यले ४–५ वर्ष अभिनय अध्ययन गरे ।त्रिचन्द्र कलेजबाट  विज्ञान संकायमा २०४५–४६ मा प्लसटु गरेका हुन् ।

त्यसपछि ‘निर्मलगंगा’, ‘धर्मपुत्र’ लगायतका थुप्रै नाटकको लेखन, निर्देशन र कलाकारको रुपमा काम गर्न थाले ।आचार्यले आर्थिक अभावका कारण डाक्टर बन्ने इच्छालाई पन्छाउँदै शंकरदेव क्यापसमा ब्याचलर अध्ययन गर्ने जमर्को गरे पनि समय अभावले अध्ययन नै छाडे ।

‘स्टेजमा जाँदा वाहा शंकर वाहा ! घरमा गयो घ्याम्पो रित्तो । त्यसकारण २०४५ सालपछि मैले केहि समय कलाकारितालाई रोकेर व्यवसायतर्फ लागेँ, उनले भने ।’२०४७ सालमा ‘रुपमती’ टेलिश्रृंखलामा ‘विरुपाक्ष पण्डित’को अभिनय गरेका  अचार्यले शुसिला रायमाझी, रवि शाह तथा निर्देशक रुद्रराज पाण्डेबाट निकै प्रशंसा पाए ।

‘२०४८ सालमा पुनः रुद्रराज पाण्डेकै भोक र भित्रामा अभिनय गरेँ । त्यसपछि नाटक, टेलिश्रृंखला, चलचित्रमा अभिनय गर्दै अहिलेको स्थितिमा आइपुगेको छु , उनले भने ।’ आमा र दुई दिदीले कलाकारितालाई निरन्तरता दिँदा राम्रो हुन्छ भनेर उनलाई प्रेरणा दिएका थिए ।

‘भद्रगोल’बाट झनै चर्चा’
आचार्यले सयौँ नाटक, ४–५ दर्जन टेलिशृंखला, भिडियो फिल्म, म्युजिक भिडियो र डेढ दर्जन चलचित्रमा अभिनय गरेका छन् ।

तीमध्ये ‘रुपमती’, ‘यथार्थ यात्रा’, ‘उल्टोसुल्टो’, ‘शंका’, ‘खुसी पलभरको’, ‘भद्रगोल’ लगायतका टोलिशृंखलाले उनलाई शंकर आचार्य भनेर परिचित गराउनमा महत्पूर्ण भूमिका खेलेको छ । त्यस्तै  विभिन्न भूमिकामध्ये ‘शंका’मा गरेको ‘विष ‘पात्र र भद्रगोलमा गरेको ‘वरिष्टे’ निकै चर्चित पात्र हुन्  ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको चर्चित पारिवारिक टेलिश्रृंखला शंकाको लेखन, निर्देशन ,निर्माण अभिनय गरेका आचार्यको  दुई छोराहरुले पनि अभिनय गरेका थिए ।त्यस्तै  नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखला भद्रगोलको ‘हजुर वरिष्ट  हस्त नमस्ते ‘ थोगो रहेको ‘वरिष्टे’ पात्रले निकै चर्चित बनायो ।

भद्रगोलमा एक निर्माता ,निर्देशक तथा कलाकरको रुपमा रहेका आचार्य एक वर्षदेखि ‘भद्रगोल’मा देखिदैँनन् । भन्छन्, ‘कार्यव्यस्तताका कारण एक वर्षदेखि भद्रगोलमा देखिन सकेको छैन् ।’

‘रिल लाइफमा डाक्टर बन्ने लक्ष्य छैन’
रिल लाइफमा पनि डक्टरको भूमिका निभाएका छैनन्, आचार्यले । ‘जीवनमा डक्टर बन्ने चाहना थियो त्यो पूरा भएन । तर कलाकारिता क्षेत्रमा दर्शकहरुको साथ, माया हौसला पाएको छु । त्यो चाहिँ मैले डाक्टर बन्दा पाउने माया र सद्भाव भन्दा कुनै कम छैन ।

आफूले बनाउने चलचित्रमा चाहीँ डाक्टरको रोल गर्दिन् । कसैले गर्नैपर्छ भन्ने अफर गरेर फिल्म बनाए मात्रै हो । रियल लाइफमा डाक्टर नबनेपनि रिल लाइफमा भएपनि डाक्टर बन्ने मेरो लक्ष्य छैन ।’

कलाकारिता क्षेत्रलाई केहि समय रोकेर व्यवसाय गर्दाको समय स्मरण गर्दै भन्छन,‘व्यवसायमा लाग्दा धेरै दुःख गरियो । म सँधै मेहनत गरेर इमान्दारिताका साथ अघि बढेँ ।  मैले बाल्यकालमा गरिवीका कारण जुन अभाव,पीडा भोग्नुपर्यो ।

तर मेरा सन्तानहरुले चाँहि गरिवि, अशिक्षा र अभावको पीडा भोग्नु नपरोस भन्ने उद्देश्यका कारण निरन्तर कलाकारिता क्षेत्रमा समय दिन नसके पनि थोरै थोरै समय दिदैँ आएको छु ।’

२०४५ सालमा एक वर्ष जति प्रेम सम्बन्धमा रहेर विवाह गरेका आचार्य भन्छन्, ‘प्रेमका साथमा मागी विवाह भएको हो । भागी विहे हैन मागी विहे नै हो ।’शंकरका एक छोरी र दुई छोरामध्ये चर्चित टेलिश्रुंखला ‘तितो सत्य’मा दीपक र दीपाको छोरा बनेर खेल्ने राज आचार्य हाल सिए पढ्दैछन भने जेठा छोरा आशिक आचार्य सन् २०१५ मा सिए पास गरिसकेका छन ।

‘६६ हजार भोल्टको करेन्ट लाग्दा पनि बाँचे’

आचार्य जीवनको अविस्मरणीय क्षण प्रायः जसो दुःखद नै भएको बताउँछन्। ‘ मेरो जीवनमा धेरै नै अविस्मरणीय घटना घटेका छन् । ती घटनाहरुमध्ये २०२९ सालको एक घटनालाई म कहिल्यै बिर्सन सक्दिन् ।

‘देवीघाट त्रिशुलीको बिजुली काठमाडौं ल्याइएको छ । जुन ६६ हजार भोल्टको हाइटेन्सन् लाईन हो । वि.सं. २०२९ सालमा  ६६ हजार भोल्टको करेन्टमा परेर करिब ८० फिट माथिबाट खम्बाबाट खसेर ६ महिनामा होस आएको हो । म निरन्तर एक वर्ष वीर अस्पतालमा उपचार गराएपछि  डिस्चार्ज भएँ। त्यतिबेला डा. अन्जनीकुमार शर्माले मलाई बचाउनुभएको हो ।’

त्यस्तै २०३३ सालमा बुवा र २०५७ सालमा आमा बित्दाको समय अविस्मरणीय छ ।त्यस्तै राष्ट्रिय नाँचघरमा निर्मलगंगा नाटक गर्दा रगत नै छादियो । र एक वर्ष क्षयरोगको  औषधी पनि खाएँ  ।’

‘मेरो जीवनमा दुःखद क्षण नै धेरै छन् । ‘कालखण्ड’ टेलिश्रृंखला गर्दा २०५८ मा मेरो गोडा फ्याक्चर्ड भयो । उता म्युजिक भिडियो गर्नेक्रममा रुखबाट फलाल्दा गोडा नै भाँचिएको छ ।’

‘पढाई छाडेकोमा पछुतो’
उनी पढाईमा अब्बल थिए । तर व्यवसाय र कलाकारितालाई अघि बढाउँदा समय अभावका कारण अध्ययनलाई स्थनगन गरेका आचार्यलाई अहिले पछुतो लाग्छ ।भन्छन्, ‘सकेसम्म डिग्री चाँहि गनुपर्ने रहेछ । त्यतिखेर कलाकारिता र व्यवसायमा लागेकाले समय भएन भनेर आफैँलाई ठगेँ अहिले दु:ख लाग्छ ।२०७० सम्म पनि सपनामा कलेज गइरहेको हुन्थेँ । ए मत कलेज गएको रहेछु भनेर खुसी हुन्थेँ । व्युझिँदा ला सपना पो  रहेछ भनी दुखी हुन्थेँ  ।’

चलचित्र बनाउने तयारी
उनले २०६९ सालमा चलचित्र ‘लभफरेभर’ निर्माण गरेर ठूलो नोक्सानी व्यहोरे । तथापी उनी अको चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् ।भन्छन्, ‘नयाँ चलचित्रका लागि स्किृष्टको तयारीमा छु । पहिले बनाएको चलचित्रबाट ६०–७० लाख डुबाइसकेँ । अब अर्को चलचित्र बनाएर डुब्नु भनेको ठूलो मुर्खता हो । त्यसैले राम्रा कलाकार लिएर दर्शकले मनपराउने चलचित्र लिएर आउँछु  ।’

भावी योजना
‘कस्तो कस्तो’ नामक कमेडी टेलिश्रृंखला दर्शक माझ ल्याउने तयारीमा छन् उनी । साथै चलचित्र बनाउने तयारी पनि छ । बाँचुञ्जेल सक्रिय भएर कलाकारितामा लागिरहने सोचमा छन् उनी ।

प्रतिक्रिया दिनुहोस्