कुखुराको दाउ पुर्पुरोमा घाउ



काठमाडौं, २८ वैशाख

कथा 

धेरै वर्ष पहिले कोशीको किनारमा एउटा जङ्गल थियो । जङ्गलको छेउमा एउटा गाउँ थियो । त्यस गाउँमा कुखुराहरूको राज थियो ।

एउटा जखमले सिउरे भालेलाई चाराटोलका कुखुराहरूले नाइके बनाएका थिए । सिउरेको रासो-वासो र चासोमा भने लालपङ्खे पर्थ्यो । लालपङ्खे अर्कै समूहको नाइके थियो । त्यस भालेकी समकक्षी र सहकर्मी कट्याक नामकी पोथी थिई । कट्याक असाध्यै राम्री थिई । उनीहरू दुवैसँग सिउरेको सम्बन्ध सुमधुर थियो ।

खासगरी लालपङ्खेले अाफ्नो बथान चलाउन सिउरेको मद्दत लिन्थ्यो । त्यसैकसो सिउरेको ध्यान भने कट्याकमा थियो ।

एक दिनको कुरो हो, लालपङ्खे खोरमै भएका बेला सिउरे पुगेछ । उसको खातिरी सकेर ऊ बाहिर निस्कन्छ । ऊ चल्ला हेर्न छेवैको चौरीतिर लागेको हुन्छ । त्यहाँ उसले जे देख्नपुग्छ, अनौठो थियो ! एउटा बढेमानको चील उसका सन्तानलाई रङ्गीचङ्गी चारो खुवाउँदै थियो । बोली पनि चारोजस्तै मिठो !

उसलाई देख्नेबित्तकै त्यो चील एक तमाशले उडेेको थियो । उडुवापञ्छी गएपछि उसले सबैलाई नजीकै बोलाएर भन्छ, “मेरा प्यारा चल्लाहरू हो, सुन । पराईको चिल्लो बोली घातक हुन्छ, सुन्न सकिन्छ तर मान्न हुँदैन । शिकारी चाल अनेकौँ हुन्छन्, बुझ्यौ ? हमेशा सावधान रहनुपर्छ ।”

कण्ठेले अावाज गर्यो : बुझ्यौँ । पराईको बोली अाज तपाईँले बोलेकोजस्तै मिठो थियो । खानेकुरा पनि उस्तै ! क्या मजाको ! अर्को चल्लो सोतेले भन्यो : तर कुरा कायदाकै लाग्यो । हामीलाई त पराईले तपाईँहरूको उल्टोपाल्टो सबै भन्दिनुभएको छ । र, अब अरु कसैको कुरा सुनिरहनु पर्दैन पनि अरे ! भनेको नमाने जुनी-जुनी माफ नदिने अरे ।

लालपङ्खे चकित हुन्छ र भयभीत पनि । उसका अाफ्ना चल्ला अर्काको बखान गर्दैथिए । ब्यङ्गको ढङ्ग उदेकलाग्दो थियो नै ! भोकलागेकालाई भोजनको लोभ देखाई गोलमिठाई बाँड्नेहरू यहाँपनि अाइपुगेछन् । अाफ्नो थैली कस्नैपर्ने भयो ठानी ऊ बचराबचरीलाई सम्झाइबुझाइ गर्छ । “कसैले थर्काएको भरमा डराउनु पर्दैन, नानी-बाबू हो । यो दुनियाँ कसैको पेवा होइन । हामीलाई अर्घेलो देखाएर पराई फाइदा लिन खोजिरहेका छन् । अाफ्ना कुरा बँचे अाफू बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । हाम्रा पनि ईष्ट छन् । हामी डराउनु पर्दैन ।”

चल्लाहरूलाई मत्थर पारी लालपङ्खे खोरमा फर्किन्छ । सिउरेको सहयोग लिएर पराईलाई ठिक पार्ने योजना एक्कासी भताभुङ्ग भएको महसुस गर्छ । अब यतिखेर अाएर चैँ उसलाई पीडा बोध हुन्छ ।

उसकी राम्री भनेकी कट्याक नाङ्गा पँखेटा लिएर बसेकी हुन्छे । उसका प्वाँखहरू सिउरेका पोल्टामा हुन्छन् । हेर्दाहेर्दै गोप्य अङ्गको माथ्लापट्टिको प्वाँख पनि उखेलेर सिउरेको हातमा राख्तै ऊ खुसीले भन्दैथिई, “पछि चैँ ब्याजसहित दिनुपर्छ नि !”

“हुन्छ, माया !”

उसकै अगाडि कट्याकलाई च्वाप्प म्वाईँ खाएर सिउरे अोझेल पर्छ, फेरिफेरि अाइरहने वाचा गर्दै ।

यता अाफ्ना दिलका टुक्रा चल्लाहरू खेमाखेमामा विभक्त चिच्च्याउँदै थिए … उता उसकी पोथी कसैको बहकावमा डुब्दैगइरहेकी थिई ! “हे भगवान, म ई सब समस्याबाट मुक्ति चाहन्छु !” अचानक उसका हात पुर्पुराबाट खस्छन् र उसको मुहारमा चमक देखिन्छ । अस्तु !

-नारायण नेपाल

रामहिटी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्