डर



काठमाडौं, १४ वैशाख

डर, हिँड्दा हिँड्दै ठेस लागेर लढिन्छ कि भन्ने । डर, लढेर उठ्न सकिन्न कि भन्ने । डर, उठेर हिँड्न सकिन्न कि भन्ने । डर, हिँड्न सकेपनि कसैलाई उछिन्न सकिन्न कि भन्ने । डर, एकपटक उछिनेपनि, सधैँभरी उछिनिरहन सकिन्न कि भन्ने । थाहा छैन जीवन डरमा बाँचेको हो कि डर जीवनमा बाँचेको हो ।

डरले जिब्रो लरबररिन्छ । हातगोडा काँप्छन् । तर्कका धारलाई भुत्ते बनाइदिन्छ । मस्तिष्कका सुन्दर बिचारहरुलाई कुरुप बिचारले बिस्थापित गरिदिन्छन् । हिम्मतका पंखमा कैँची चलाइदिन्छन् । उत्साहको अँगेनामा जब खस्न थाल्छ डरका थोपाहरु, तब मानिसभित्र अकर्मण्यको हिमनदी जम्न थाल्छ ।

चोर, डाका, भूत, राक्षस र किच्कन्नीसितको डरले अक्सर मानिसको बाल्यकाल रातमैत्री हुन सक्तैन । असुरक्षा, असफलता शंका अनि प्रतिश्पर्धाको डरले जवानी दिनमैत्री हुन सक्तैन । यो डर हारसँगको डर हो । यो डर अरुसित होइन आफैँसित हो । आफ्नै क्षमतासितको हो । आफ्नै हिम्मतसितको हो ।

यहाँ डरमा बाँच्ने कति होलान् । रिजल्टको डरले परीक्षै नदिनेहरु होलान् । घाटाको डरले नयाँ व्यापारको आइडिया हुँदा हुँदै पनि शुरु नगर्ने होलान् । रिजेक्सनको डरले कसैलाई प्रेम प्रस्तावै राख्ने हिम्मत गर्न नसक्ने घायल प्रेमीहरु पनि होलान् । थाकिन्छ भन्ने डरले यात्रै नगर्नेहरु होलान् । नमीठो होला भन्ने डरले नयाँ खानेकुरा चाख्न हिच्किचाउने कति कति पो होलान् । गलतलाई गलत भन्न डराउने कछि छन् ।
डर हाम्रो कमजोरी हो । हामी अक्सर नचाहिने कुरामा हिम्मत देखाउँछौँ र चाहिने कुरामा डराउँछौँ । हामीलाई यसले घाटा बाहेक अर्थोक केही दिँदैन । तर हाम्रो यो कमजोरीको फाइदा हामीबाट अरुले भने मज्जाले उठाइरहेका हुन्छन् ।

असफल हुनु त्यति नराम्रो कुरा होइन, तर असफलतासित डराउनु चाहिँ पक्कै नराम्रो हो । घाटा हुनुमा दोष जसको होला होला, तर घाटासित डराएर संभावित नाफाहरुको बाटो थुन्नु पक्कै मूर्खता होला ।प्रेम डरको डोरीमा आफैँलाई बाँधेर गर्ने चीज होइन, रहरको धागोमा बाँधेर उडाउने चीज हो । डरमा प्रेम हुँदैन । र प्रेममा डर हुनुहुँदैन ।चाखेरै थाहा हुन्छ कुनैपनि चीज मिठो हो कि नमिठो । तर स्वादसित डराएर जिब्रोको अधिकार खोस्नू कहाँको बुद्धिमता ?नथाकी यात्रा गर्छु र आँशु नझारी रुन्छु भन्नु उस्तै कुरा हो । यो कुरा यात्रासित डराउने तमाम ती मानिसहरुलाई कसले बुझाउला ?गलतलाई गलत भन्न डराउने सबै मानिस गलत हुन् । सही र गलतको पार्थक्य मानिसले सही ढँगले कसरी छुट्याउला ?

हामी डरसित भाग्नमात्रै जान्दछौँ । डरसित उठ्ने कोशिश गर्दैनौँ । डरसित बस्ने कोशिश गर्दैनौँ । डरसित लढ्ने कोशिश गर्न सक्तैनौँ । हामी डरका अघिल्तिर जहिल्यै आत्मसमर्पणको भावमा हुन्छौँ । डर यदि मुसो हो भने, बिरालो बन्न सक्नुपर्छ । डर यदि यात्रा हो भने, तपाइँ पाइला पाइलामा परिणत हुन सक्नुपर्छ । डर असफलताको हो भने तपाइँ कम्तीमा प्रयासमा अनुदित हुन सक्नुपर्छ । डर यदि घाम हो भने तपाइँ छायाँमा बद्लिन सक्नुपर्छ । डर यदि बर्षात् हो भने तपाइँ ओत बन्न सक्नुपर्छ ।

भन्नुहोला यी सब भन्न धेरै सजिलो छ । तर भनेभन्दा गाह्रो कोशिश गर्नमा पनि छैन । कोशिश नगर्नु भनेको फेरि घुमीफिरी उही कुरा आउँछ, हारसितको डर । संसारको सबैभन्दा ठूलो हतियार हरेक मानिसले आफैँसित बोकेर हिँडेको हुन्छ । हिम्मत । फरक यति हो, थोरैले देखाउँछन्, धेरैले लुकाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्