सरकार गठनका लागि गृहकार्य



१६ माघ २०७४

बुटवल — प्रदेशसभा अधिवेशनको मिति तय भएपछि सरकार निर्माणका लागि एमाले र माओवादी केन्द्रले आन्तरिक छलफल थालेका छन् । आकांक्षीबीच मन्त्री हुने होडबाजी चलेपछि व्यवस्थापनका लागि दुवै दलले छुट्टाछुट्टै छलफल सुरु गरेका हुन् ।

त्यसमा प्रदेशस्तरीय नेताले सहजीकरण गरिरहेका छन्। एमाले नेताका अनुसार आन्तरिक रूपमा आकांक्षीको इच्छा बुझ्ने र राय लिने काम भइरहेको छ ।

सबैलाई समेट्न र सहमतीय सरकार गठनका लागि राय/सुझाव लिने काम भइरहेको उनले बताए। सबैसँग राय लिए पनि सरकारमा लैजाँदा भने अनुभव र विज्ञता हेरेर निर्णय गर्ने ती नेताले बताए ।

एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले मन्त्री बन्ने चाहना धेरैको भए पनि थोरै मन्त्रालयले गर्दा समेट्न गाह्रो हुने भएकाले सहजीकरण आवश्यक रहेको बताए । ‘पहिलो पटक ३ सदस्यीय मन्त्रिमण्डल बनाउने योजना छ,’ उनले भने, ‘त्यसपछि विस्तृत तयारीका साथ अन्य मन्त्रालय गठन हुनेछन् ।’ त्यसपछि ७ र १० हुँदै आवश्यक परेमा १३ मन्त्रालयसम्म बनाउने एमालेको योजना छ ।

माओवादी केन्द्रले संसदीय दलको नेता छान्न ढिलाइ गरेपछि वाम गठबन्धनबीच औपचारिक छलफल भने हुन सकेको छैन । दुवै दलबीच एमालेबाट शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने र माओवादीबाट सभामुख बनाउने औपचारिक सहमति भएको छ। सभामुखमा माओवादीले पुरुष पठाउने तयारी गरेको छ । यसो भएमा एमालेले महिलाबाट उपसभामुख बनाउनेछ । उपसभामुखका लागि अहिलेसम्म कसैले दाबी भने गरेका छैनन्। गृह र अर्थ मन्त्रालयमा भने एमाले र माओवादी दुवैको दाबी छ। एमालेका तर्फबाट कपिलवस्तुका सांसद विष्णु पन्थीले चुनाव अघिदेखि नै अर्थमन्त्रीको दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट समेत अर्थ र गृहमन्त्रीमा ४ जनाको दाबी छ । एमालेबाट नवलपरासीका बैजनाथ चौधरी, रूपन्देहीका लीला गिरी, गुल्मीका कमल श्रेष्ठ र अर्घाखाँचीका चेतनारायण आचार्यको नाम चर्चामा छ । महिलातर्फ प्रत्यक्षतर्फ निर्वाचित बाँकेकी आरती पौडेल र रुकुमकी आशा स्वर्णकारमध्ये एकलाई समेट्ने एमालेको आन्तरिक योजना छ ।

एमाले उपमहासचिव तथा प्रदेश नम्बर ५ का प्रमुख विष्णु पौडेलले भूगोल, लिंग, समुदाय सबैलाई सन्तुलन मिलाएर मन्त्रालय गठन हुने बताए । ‘सबै जिम्मा संसदीय दलका नेता छनोट गरेर शंकर पोखरेललाई दिएका छौं ,’ उनले भने, ‘सायद माओवादी केन्द्रले संसदीय दलको नेता छानेपछि उहाँहरूकै अगुवाइमा औपचारिक छलफल अघि बढ्नेछ।’

बैठक राजधानीमामाओवादीले पनि प्रदेश सञ्चालन र सरकार गठनबारे औपचारिक छलफल सुरु गरेको छ। छलफलका लागि प्रदेश ५ का इन्चार्ज वर्षमान पुनको अध्यक्षतामा प्रदेश ५ स्तरीय संसदीय दलको बैठक सोमबार राजधानीमा बस्यो। शपथग्रहणपछि पहिलो पटक बैठक बसेको हो। माओवादीका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले सोमबार पार्टी अध्यक्ष बैठकमा नआएकाले संसदीय दलको नेता र प्रमुख सचेतकको टुंगो लगाउन नसकेको बताए। ‘अध्यक्ष बैठकमा नआएका कारण आजको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक लगायतको छनोट गर्न सकेन,’ उनले भने, ‘भोलि अध्यक्षसहितको बैठक बसेर टुंग्याउने तयारी भएको छ ।’ सम्भवत: मंगलबारको बैठकले सभामुखको टुंगो लगाउनेछ ।

थोरै पदमा धेरैको दाबी रहेकाले भरसक एकैपटक सबै पदबारे निर्णय गर्ने माओवादीको योजना छ। सभामुखदेखि संसदीय दलको नेता र मन्त्री बन्न माओवादीमा रोल्पाका कुलबहादुर केसी, रूपन्देहीका दधिराम न्यौपाने, गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खडका, रुकुमका पूर्ण घर्तीमगर लगायतका नेता लबिइङ गरिरहेका छन्।

मन्त्री हुन महिलामा माओवादी नेता दामा शर्माको नाम सर्वसम्मत जस्तै छ। बाँकेबाट प्रत्यक्षमा चुनाव जितेकी कृष्ण केसीले पनि दाबेदारी पेस गरेकी छन् । क्षेत्रका हिसाबले एमाले–माओवादीमादाङ पश्चिम र दाङ पूर्व लुम्बिनी अञ्चल गरी दुई धार देखिएको छ। पश्चिम क्षेत्र दाङबाट पोखरेल मुख्यमन्त्री बन्ने भएपछि त्यसपछिका शक्तिशाली मन्त्रालय लुम्बिनी क्षेत्रबाट पाउनुपर्ने दुवै दलका नेताको तर्क छ ।
एमाले संसदीय दलका नेता पोखरेलले भने सरकार गठन प्रक्रिया निकै सरल तरिकाबाट हुने बताए। अनौपचारिक कुराकानी भए पनि सरकार गठनका लागि औपचारिक छलफल र संवाद सुरु नभएको बताउँदै उनले पहिलो बैठक बसिसकेपछि मात्रै यसबारे गृहकार्य गर्ने बताए। ‘दुई पार्टी छलफलमा बसेपछि सरकार गठन प्रक्रिया सहजै टुंगिनेछ,’ उनले भने।

(साभार : कान्तिपुर दैनिक )

प्रतिक्रिया दिनुहोस्