सामुदायिक स्वास्थ्यचौकीकी अनमी नै बस्छिन् छाउगोठ



काठमाडौं, १२ माघ

राहदेव सामुदायिक इकाइकी अनमी हुन् आइतु कट्टेल । गाउँमा बिरामीको उपचार गर्दै हिँड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाइ छ । महिनावारी हुँदा घरमा बस्न नपाउने र बिरामीको उपचार पनि गर्न नपाउने गरेको उनको भनाइ छ । ‘महिनावारी हुँदा बिरामीले उपचार गर्न दिँदैनन्, देउता लाग्ने डरले म पनि छाउगोठ नै बस्ने गरेको छु,’ आइतुले भनिन् ।

बलात्कारको जोखिम

महिनावारी भएको वेला किशोरीहरू बलात्कारको जोखिममा पर्ने गरेको खार्पुनाथ–१ का शर्मिला शाहीले बताइन् । कहिलेकाहीँ एक्लै भएको वेला गाउँका पुरुषको अभद्र व्यवहार खेप्नुपरेको उनको भनाइ छ ।

सदरमुकाममा पनि छाउगोठ

सदरमुकाम सिमकोटमा जनचेतनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले तालिम, सभा, गोष्ठी गर्ने गरेका छन् । तर, सिमकोटकै महिला पनि छाउगोठ बस्ने गरेका छन् । सिमकोटका महिला महिनावारीको वेला लुकीछिपी घरबाहिर बस्ने चलन नहटेको सिमकोट गाउँपालिका– ५ का लक्ष्य रावतले बताए ।

कतिपय सदरमुकामका महिला घरको छतमा बस्ने गरेको रावतले बताए । महिनावारीको वेला घरपरिवारभन्दा छुट्टै बस्ने परम्परा हुम्लाको बाहुन र क्षेत्री समुदायमा छ । जिल्लाको उत्तरी भेगमा बसोवास गर्ने लामा समुदायमा भने छाउ बार्ने चलन छैन ।

माइनस १० डिग्रीमा खुला ढोका

हिउँदमा माइनस १० डिग्रीको जाडोमा पनि छाउमा बस्नुपरेको शर्मिलाको गुनासो छ । खुला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ६ दिनसम्म बस्दा धेरैजसो बिरामी हुने गरेका छन् । हिउँदमा महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने चिन्ताले सताउने गरेको उनले बताइन् ।

खार्पुनाथ गाउँपालिका– १ प्युसगाउँकी जसु सार्की छाउगोठमा चिसोले थरथर काँपिरहेकी थिईन् । ओढ्ने कपडा पर्याप्त नहुँदा उनी छाउगोठमा आगो बालेर बस्छिन् । तर, धुवाँ गुम्सिँदा सुत्न नै गाह्रो हुन्छ । ‘आगो बाल्दा गुम्सिन्छ, सुतेको वेला अन्त सल्किन्छ भन्ने डर हुन्छ, आगो नबाल्दा कठ्याग्रिंएर मरिन्छ जस्तो हुन्छ,’ उनले भनिन् ।

देउता लाग्ने डरले छाउ बस्नुपरेको उनले बताइन् । ‘चिसो खप्न नसक्दा घर जाऊँ जस्तो लाग्छ, तर देउता लाग्ने डरले जान सक्दिनँ,’ उनले भनिन् ।

महिनावारी हुँदा विद्यालय जान पाउँदैनन्

मालिका मावि प्युसमा कक्षा १० मा अध्ययनरत शर्मिला शाही महिनावारी हुँदा विद्यालय जान पाउँदिनन् । छाउगोठ बस्नुपर्दा उनको पढाइ छुट्ने गरेको छ ।

कुनै महिना विद्यालयमा नै महिनावारी हुँदा साथीहरूले जिस्क्याउने गरेको उनको भनाइ छ । महिनावारी भएको वेला पोसिलो खानेकुरा आवश्यक भए पनि उनी छाउगोठमा चिसो खाना खान बाध्य छिन् । महिनावारी हुँदा सफा कपडा फेर्न पनि नपाउने शर्मिलाले बताइन् ।

उनीहरूले शौचालय प्रयोग गर्न पनि पाउँदैनन् । साँघुरो छाउगोठमा कहिलेकाहीँ १० जनासम्म कोचिएर बस्नुपर्ने उनले बताइन् । ‘अहिले त गोठ बनाइयो, केही वर्षपहिले आमा–दिदीहरू एक घन्टा टाढा गएर ओढारमा बस्नुहुन्थ्यो,’ कक्षा ८ मा अध्ययन गर्ने सरला शाहीले भनिन् ।

महिनावारी भएको वेला बालबालिका पनि आमासँगै चिसोमा सुत्नुपर्ने बाध्यता छ । जसले गर्दा बालबालिकालाई निमोनियाको जोखिम हुन्छ । – नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्