काठमाडौंलाई सबैले भाडाको घर ठाने



अनिल शाह, बैंकर्स

तपाईंलाई मनपरेको सहर कुन हो ?
म अहिले जुन ठाउँमा छु, मलाई त्यही ठाउँको सहर मनपर्छ । म अरु देशको भिसा वा पिआर नपाएर काठमाडौंमा बसेको होइन। म नेपालमै बस्न चाहन्छु । त्यसमा पनि मलाई काठमाडौं धेरै राम्रो लाग्छ । म यहीँ जन्मे, यही हुर्कें । मेरो अध्ययन विदेशमा भए पनि मैले यहीँ आएर काम गरेँ । यो सहरमा संघर्ष गरेरै म यहाँसम्म आएँ । काठमाडौं नभएको भए आज म यो ठाउँमा हुने थिइनँ होला। मैले दाम र नाम काठमाडौंमै कमाएँ । त्यसैले म काठमाडौंमै बस्न चाहन्छु । मैले संसारका धेरै देशका सहर घुमेँ तर काठमाडौंजस्तो सुन्दर सहर कहीँ भेटिनँ।

तपाईंको बाल्यकालमा काठमाडौं कस्तो थियो ?
मलाई नौ–दश वर्षको हुँदादेखिको काठमाडौं याद छ । त्यसबेला काठमाडौं निकै फरक थियो । हरियाली बढी थियो । असार १५ मा धान रोपेपछि टुकुचामा गएर हामी नुहाउँथ्यौँ । सहर सफा थियो, सुरक्षित र स्वस्थ थियो । म, मेरो भाइ र साथीहरू साइकल भाडामा लिएर भर्खर बनेको रिङरोड घुम्न जान्थ्यौँ । त्यतिबेला सडकमा साइकल चलाउन जाँदा आमाबाबुलाई कुनै चिन्ता थिएन । अहिले घरको मूलगेटबाट बाहिर निस्केपछि गाडीले किच्ने डर हुन्छ । अहिले भीडभाड बढेको छ । यहाँ सबैथोक गलत छ भन्ने पनि होइन, पहिलेभन्दा धेरै पूर्वाधार निर्माण भएको छ । पहिले समाजको सोच संकुचित थियो, अहिले सोच फराकिलो भएको छ ।
पहिले मानिसहरू खेतबारीमै काम गरिरहेका हुन्थे । अस्पताल र शैक्षिक संस्था कम थिए । रुघाखोकी, झाडापखालाजस्ता रोग लाग्दा समेत उपचार गर्ने ठाउँ थिएनन् । यो हिसाबमा भन्ने हो भने पहिलेभन्दा काठमाडौंमा अहिले सेवा–सुविधा छ । उपत्यकामा हिजो हुन नसकेका काम पनि भएका छन् र हुनैपर्ने तर नभएका काम पनि यहाँ धेरै छन्।

उपत्यकामा हुनैपर्ने तर नभएका काम के हुन् ?
यहाँ सरकारी तवरबाट हुनुपर्ने साना–साना विकासका काम पनि भएका छैनन् । जस्तो चन्द्रागिरिमा बनेको केबुलकारसम्म पुग्न समेत हामी जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छौँ । सडक बनाउने काम सरकारको हो, त्यसैले नबनेको हो । जब हामी चन्द्रगिरि पुग्छौँ, तब यो नेपाल नै होइन कि भन्ने महसुस हुन्छ । उपत्यका आसपासमा जे राम्रो देखिएको छ, त्यो निजी क्षेत्रले नै गरेको हो । हामीले जहाँजहाँ बिजोग देखेका छौँ, ती ठाउँ सरकारले काम नगरेका कारण त्यस्ता भएका हुन् ।

तपाईंको विचारमा कस्ता कमजोरीले सहर बिग्रिएको होला
हरेक देशको विकास सरकारमा निर्भर हुन्छ, यो सर्वव्यापी कुरा हो । हाम्रो सरकारको ध्यान विकासतर्फ गएन । सत्तामा हुनेहरू व्यक्तिगत फाइदाका निम्ति काम गर्ने भए । जब व्यक्तिगत स्वार्थ सिद्ध गर्नतर्फ लागिन्छ, तब सहरको विकास हुँदैन । हामी आफैँले आफैँलाई हेरौँ त, हामीलाई कुनै उपचार गर्नुपर्यो भने सरकारी अस्पताल रोज्छौँ कि निजी ? खल्तीमा पैसा छ भने छोराछोरीलाई पढाउन कुन स्कुलमा जान्छौँ ? जहाजकै कुरा गर्दा काठमाडौंबाट पोखरा जाँदा तपाईं सरकारी जहाज प्रयोग गर्नुहुन्छ कि निजी ? किन हामी यस्तो स्थितिमा छौँ ? यसमा मैले नागरिकको पनि कमजोरी देख्छु । प्रजातन्त्रमा सबैलाई बोल्ने र खबरदार गर्ने अधिकार छ । अहिले त झन् दैलोमै सरकार पुगेको छ । मैले चाहेँ भने मेरो समस्या तुरुन्तै सरकारी निकायमा जानकारी गराउन सक्छु । कर्मचारीलाई कराउन र समस्या देखाउन सक्छु । यो प्रजातन्त्र हो तर हामीलाई को प्रधानमन्त्री बन्छ, को मन्त्री बन्छ भन्ने चासो छ । आफ्नो घरभित्रको समस्या दबाएर बस्छौँ ।

काठमाडौं अब सधैँ यस्तै रहिरहला
मैले अलि फरक रूपमा हेर्छु यसलाई । अहिले जति पनि बाहिरबाट काठमाडौंमा आएर बस्नेहरू छन्, उनीहरू सबैले काठमाडौंलाई भाडाको घर ठाने । उनीहरूले यहाँ केही अप्ठेरो पर्यो भने गाउँ फर्कौंला भन्ने सोच बनाए । जागिर र आफ्नो स्वार्थसिद्धिका लागि मात्रै काठमाडौंलाई माध्यम बनाए । यिनैले हो, काठमाडौंलाई बिगारेको । जो भाडाको घरमा बस्छ, उसले आफ्नो घरजस्तै माया त गर्दैन । यहाँका ७० प्रतिशत मानिसले काठमाडौंलाई आफ्नो घर नै मान्दैनन् । यहाँ बस्नेले काठमाडौंलाई जबसम्म आफ्नो हो भन्दैनन्, तबसम्म काठमाडौं सुध्रनेवाला छैन ।

सहरवासीले के गर्दा विकास होला ?
सहरवासीले यो ठाउँलाई आफ्नै ठान्नुपर्याे । कसैले पनि भाडाको घर सम्झनु भएन । आफ्नो घरबाट निस्केको फोहोर सही ठाउँमा फाल्नुपर्यो । अरू कसैले सहर कुरूप पार्ने काम गरे भने उसलाई रोक्न सक्नुपर्यो । यो मेरो ठाउँ हो, यसलाई राम्रो पार्नु मेरो पनि जिम्मेवारी हो भन्ने सम्झने हो भने काठमाडौं राम्रो बन्ला । महानगरका प्रतिनिधिले सहर यस्तो बनाउँछु भनेर लाग्नुपर्यो ।

उपत्यका बाहिरका सहर कस्तो लाग्छ ?
उपत्यका बाहिरका सहर पनि राम्रो लाग्छ । पोखरा र चितवन मलाई राम्रो लाग्छ ।

नेपाल बाहिर कुनकुन देशका सहर घुम्नुभएको छ ?
मैले धेरै देशका सहर पुगेको छु । बेलायतको लन्डन, फ्रान्सको पेरिस, अमेरिकाको लसभेगास र वासिंटनलगायत सहर अति नै सुन्दर छन्।

तपाईं पुगेका विदेशी सहर कस्ता थिए
विदेशी सहर आधुनिक र व्यवस्थित छन् । नेपालको प्राकृतिक सौन्दर्य र हावापानी विश्वका कुनै देशमा पाइन्न । हामीलाई त भगवान्ले नै भरिपूर्ण पारिदिएका छन्, हामीले व्यवस्थापन समेत गर्न सकेनौँ ।

विदेशी र हाम्रा सहरबीच कस्तो भिन्नता पाउनुभयो ?
जे प्रकृतिले दिएको छ, हामी त्यसमा मात्रै अगाडि छौँ । मौसम, पहाड, हिमाल र हेरिटेज प्राकृतिक रूपमै हामीले पाएका हौँ । हाम्रोमा हजारौँ वर्ष पहिलेका मन्दिर छन् । जात्रा पर्व छन् । विदेशी सहर पूर्वाधार विकासमा अगाडि छन् ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर यस्तो होस्, जहाँ सबै सहरवासीले यो मेरो सहर हो भन्ने सोच बोकेका होऊन् । अरु देशका राम्रा सहर, जस्तो : सिंगापुर, जेनेभा, लन्डनवासीले सहरलाई आफ्नै ठान्छन् । सहरमा जे हुन्छ, मेरै निम्ति हो भन्ने सम्झन्छन् । आफ्ना सन्तति पनि यही सहरमा बस्छन् भन्ने सोच छ । हाम्रोमा अधिकांशले अमेरिका र अस्टे«लिया जाने सोच्छन् । म भने नेपाल नै त्यस्तै बनोस् भन्ने सोच्छु । सहरको सरकार र जनताको सोच एउटै होस् । सरकार एकातिर हिँड्ने, नागरिक अर्कोतिर हिँड्ने हो भने सहरको विकास हुँदैन।

अहिलेको उपत्यका कस्तो लाग्छ ?
हामी अन्य मुलुकबाट नेपालको एयरपोर्ट आइपुग्नेबित्तिकै एउटा कालो बादलको मुस्लो देखिन्छ । यो कालो बादल अधिकांश धुलोको बादल हो । अहिले मेलम्चीले गर्दा यहाँ धुलो उडेको हो । मेलम्चीको पानी पिउने भन्दै हामीले आफ्नो फोक्सो त बिगार्न भएन नि ? पानी त खाने तर आर्यघाटमा गएर खानु त भएन नि । सरकारले खास हेर्नुपर्ने यहाँ हो । अरु देशमा हरेक कुरा नागरिकलाई अवरोध नहुने गरी गरिन्छ, हाम्रोमा जनतालाई दुःख दिइन्छ । हाम्रा सरकारको सोच पुगेन । सरकारमा रहनेको सोच कमजोर भयो ।

उपत्यकाको विकास कसरी गर्न सकिएला ?
‘सुरुवात मबाट’ यो वाक्यलाई सबैले अनुसरण गर्ने हो भने सहरको विकास हुन्छ । आफूले फोहोर नगर्ने, अरुलाई सजग बनाउने । जागिरै छाडेर यसमै लाग्नुपर्छ भन्ने छैन । यसो फुर्सदका बेला पनि गर्न सकिन्छ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको जस्तो मौसम र प्रकृति विश्वमा कतै पाइन्न । यहाँ ऐतिहासिक क्षेत्र छन् । तर, हाम्रा नेता प्रकृतिले दिएको र पुर्खाले आर्जेका चिनारी मास्दै छन् । कुनै पनि मुलुकले खर्बौं डलर खर्चिए पनि यहाँको जस्तो प्राकृतिक सौन्दर्य पाउँदैनन् ।

यहाँको मननपर्ने पक्ष ?
भीडभाड, धुवाँधुलो, ट्राफिक जाम र अव्यवस्थित पार्किङ नै उपत्यकाका मुख्य समस्या हुन् । सहरका यी समस्या झन्झन् चुनौतीपूर्ण बन्दै गएका छन्।

उपत्यकानजिक कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
म नगरकोट र धुलिखेल जान्छु । यी ठाउँ उपत्यका नजिकका मनोरम क्षेत्र हुन् । मलाई फोटो खिच्न मनपर्छ । यी ठाउँबाट हिमाल पनि देखिन्छ । थोरै यात्रापछि सहजै आनन्द महसुस गर्न सकिने उपत्यका नजिकका यी ठाउँ अझै पनि सुन्दर लाग्छ । कहिलेकाहीँ नमोबुद्ध, दक्षिणकाली र चन्द्रगिरि पनि जान्छु ।

मन भएर पनि घुम्न नपाएको सहर
त्यस्तो खासै छैन । अफ्रिका थियो, त्यहाँ पनि पुगिसकेँ । नेपालमा जन्मेर अरु देश जानुपर्छ जस्तो लाग्दैन । किनकि यहाँ हिउँ चाहियो भने पनि छ । ताल पनि यहीँ छ  । गर्मी ठाउँ र पहाड पनि यहीँ छ ।

प्रस्तुति : शिवहरि घिमिरे # साभार : नागरिक न्युज

प्रतिक्रिया दिनुहोस्