प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने तयारी



२०७५ माघ २७, काठमाडौँ

सरकारले फागुन ७ गते ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ ।

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरिएको छ । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उप–समितिहरु पनि गठन गरिएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेका गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

सै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउने भनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्