पार्टी सदस्य समेत नलिई एमालेबाट निर्वाचित नेपालकै कान्छी नगर उपप्रमुख कपिलबस्तुकी शिवकुमारीको प्रेरणादायी जीवनकथा (भिडियो सहित)



२४ माघ २०७५, काठमाडौं

बुवा भग्गु चौधरी र आमा बौरी चौधरीको कोखबाट २०५० साल साउन ९ गते जन्मिएकी शिवकुमारी चौधरी आफ्नो आमाकी तेश्रो सन्तान हुन्। ग्रामीण जीवनशैली र परम्परागत संस्कृतिको परिणाम स्वरुप १७ वर्ष ९ महिनाकै उमेरमा उनी राजेन्द्र चौधरीसँग वैवाहिक जीवनमा जोडिन पुगीन।

विवाहको करिब ३ वर्षपछि आमा बनेकी चौधरी गत स्थानीय सरकारको चुनावमा निर्वाचित भई २०७४ असार २१ गते सपथ खाएसँगै २३ वर्ष १२ महिना २२ दिनको उमेरमै शिवराज नगरपालिका, कपिलबस्तुमा निर्वाचित भएर नेपाल भरिका नगरपालिकाहरु मध्ये सबैभन्दा कम उमेरमा निर्वाचित उपप्रमुखको रुपमा आफूलाई परिचित गराउन सफल भईन।

काँग्रेसी परिवारमा हुर्किएकी चौधरी पार्टीको सदस्य नभई नै तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बन्न सफल भईन । उनी भन्छिन्,” म कम्युनिष्ट पार्टीमा विवाह भईसकेपछि लागेकी हुँ । म राजनीतिमा विश्वास नगर्ने मान्छे विवाह भएपछि राजनीतिमा लागेकी हुँ । मेरो श्रीमान एमाले भएकाले म पनि एमाले नै भए ।”

नेपालकै कान्छी नगर उपप्रमुख शिवकुमारी चौधरीसँगको भिडियो कुराकानी :

माईतिमा हजुरबुवा र बुवाबाट राजनीतिबारे सामान्य बुझेकी चौधरीले १०+२ मा पढ्दै पत्रकारीता र उद्घोषकको तालिम लिएर रेडियोमा कार्यक्रम समेत चलाउने गर्दी रहिछिन्। विवाह पछि पत्रकारीतालाई निरन्तरता दिन नसकेकी चौधरीले त्यसपछि १ वर्ष सामाजिक परिचालकको रुपमा एनजीओमा काम गर्ने अवसर समेत पाईछिन्।

छोरी जन्मिएपछि एनजीओको कामलाई निरन्तरता दिन नसकेकी चौधरीले काखे छोरी हुँदै करिब ४ वर्ष सरकारी विद्यालयमा शिक्षिका भएर बालबालिकालाई पढाउने अवसर समेत पाईन। स्थानीय निर्वाचनको माहोल तातेसँगै उनको मनमा शिक्षिकाबाट राजिनामा दिएर एकाएक राजनीति गरी जनताको सेवा गर्ने भावना जाग्यो रे।

राजनीतिमा नलागेकी चौधरीलाई पार्टी बारे खासै ज्ञान थिएन। उनलाई केवल उम्मेद्वार मात्र बन्ने ध्यान थियो। उनको भित्री अठोट राजनीति गरेर जनताको सेवा गर्ने नै थियो। शुरुमा उनलाई राप्रपाका एक नेताले आफू मेयरमा उठ्ने भएकोले उपमेयर उठाउने कुरा गरेछन। फुरुक्क हुँदै उनले श्रीमानलाई आफ्नो कुरा सुनाईछिन्। आफू विदेशमा भएकोले बुवाआमाले भनेको मान्नु। उहाँहरुले जे भन्नुहुन्छ त्यहि गर्नु- भनेछन। उनले सासु ससुरालाई सोद्धा उनीहरुले राप्रपाबाट उठ्ने अनुमति पाईनन् । त्यसपछि उनलाई उपप्रमुखमा उठ्न अनुरोध गर्दै फोरम, फोरम लोकतान्त्रिक र काँग्रेसका नेताहरुले घरमै आएर अनुरोध गरे। चौधरीले पाएका सबै अवसरहरु सासु ससुराको अनुमति नपाएर गुमेपछि उनको उम्मेद्वार बन्ने जोश विस्तारै सेलाउँदै गएछ ।

उनी भन्छिन्,” परिवारबाट राजनीति गर्न सपोर्ट नपाएपछि मैले मेरो कुरा ‘मेरो एउटा मिल्ने शिक्षक साथीलाई सेयर गरे ।’ उहाँले मलाई चुनाव लड्न मन नै भए सानो सानो पार्टीमा किन जानु भन्नुभयो ? उहाँले मलाई एमाले त ठूलो पार्टी, राम्रो पार्टी भन्नुभयो । घरबाट नै सपोर्ट नपाएपछि मैले हार मान्दै अब चुनाव लड्दिन भन्ने सोच बनाएकी थिए । मैले हार मानिसक्दा पनि मेरो साथीले एमालेमा मेरो बारेमा कुरा उठाउनु भएछ । थारु समुदायको मान्छे उहाँहरुले पनि खोजिरहनु भएको रहेछ । अनि मेरो नामको चर्चा एमालेभित्र समेत चल्न थाल्यो । त्यतिबेला मैले एमालेको कसैलाई पनि चिनेकी थिइन । त्यसपछि एकदिन सबैजना मेरो घरमा आएर मलाई भेट्नुभयो । घरमै धेरै पार्टीका मान्छेहरु आएपनि मैले आमा बुबाको अनुमति बिना कतैपनि जान मानिन । सायद आमाबुबा एमाले पार्टीको भएर होला, जब एमालेका मान्छेहरु मेरो घरमा आए, मैले मेरो सासु ससुराले जे भन्नुहुन्छ म त्यहीँ गर्छु भनिदिए । मेरो सासु ससुराले चुनावमा उठ भने उठ्छु, नत्र उठ्दिन भन्दिए । मेरो सासु ससुरा मान्नुभयो अनि मैले उम्मेदवारी दिए । अनि मैले मेरो माइतीको परिवार पनि यतै लिएर आए ।”

चुनावी अभियानको क्रममा जित्छु भन्ने लागेको थियो भन्ने प्रश्नमा उनी भन्छिन्,” मलाई जित्छु भन्ने चाहि लागेको थिएन । म भर्खर भर्खर राजनीतिमा आएको भएर होला, एमालेको सबैले सहयोग गर्नुभयो। राजनीतिमा पनि कुटनीति हुँदो रैछ, त्यो कुरा भर्खरै बुझ्दैछु। म उम्मेदवारमा लड्दा धेरै मान्छेले मलाई यति सानो मान्छेले के गर्ला ? समेत भनेका थिए । चुनावको समयमा मलाई धेरै कठिन भएको थियो । यसले कसरी जित्छे, यसलाई त राजनीतिबारे केहि थाहा छैन समेत भन्थे । तर मलाई युवाहरुले चाहिँ धेरै नै समर्थन गर्नुभयो ।”

टिकट पाएपछि सबैभन्दा पहिले कसलाई भन्नु भो र क-कसले सहयोग गरे त ?,” मैले टिकट पाएको कुरा पहिले घरको सदस्यलाई थाहा भयो । श्रीमान घर बाहिर भएकाले सुरुमै त भन्न सकिन । मलाई चुनावको बेला मेरो विदेशमा बस्नुहुने दाईको साथीहरुले पनि निकै साथ दिनुभएको छ। मलाई श्रीमानले पनि निकै राम्रोसँग काम गर्नुपर्छ भनेर सम्झाउनु भएको छ, मलाई सपोर्ट पनि गुर्नभयो ।”

चुनाव खर्च कति गर्नुभयो र क-कसले सहयोग गरे भन्ने प्रश्नमा लजाउँदै भन्छिन् ,”चुनावको बेला श्रीमानसँग ५० हजार मागे। मेरो चुनाव खर्च २ लाखको हाराहारीमा भयो । जनताको माया र विश्वासले गर्दा थोरै खर्चमा नै चुनाव जिते । म उपप्रमुख भएपछि मेरो ठाउँको मानिसले के पाए भन्दा नारीमा सशक्तिकरण भएको छ । मैले जितेपछि त्यहाँका मानिसले महिलाबाट धेरै आश गरेका छन् । मैले जितेपछि लक्षित बर्गका महिलालाई सीपमूलक काममा सहभागी गराएकी छु । अनि शिक्षा र स्वास्थ्यका कुरामा पनि सुधार भएका छन् ।”

तराईमा दाईजोको समस्या निकै छ। तपाईको विवाहमा श्रीमानले दाईजो मागे कि मागेनन् भन्ने प्रश्नमा उनी भन्छिन् ,” मैले विवाह गर्दा मेरो परिवारले मेरो श्रीमानलाई दाइजो दिएको थिएन । मेरो घरमा विहेको कुरा मेरो सासुले नै चलाउनु भएको थियो । त्यसैले दाइजोको कुरै भएन।” उनको तर्क छ, “पहिले महिलाहरु शिक्षामा पछाडी थिए । तर अहिले शिक्षामा धेरै परिवर्तन आइसकेको छ । अहिले घरमा प्राय बालबालिका नपढी बसेको देखिदैन ।”

राजनीति खासै नबुझेकी चौधरीलाई पार्टीका साथीहरु र युवाहरुले निकै सहयोग गरेका रहेछन्, त्यसैले युवाको लागि खेलकुद र उत्पादन तर्फ कृषिमा राम्रो बजेट छुट्याएको उनले दावी गरिन्। भावी योजनाबारे उनी खुलेर भन्छिन्,” म थारु समुदायबाट आएकी छु । मैले इमान्दारीपूर्वक विकासका क्षेत्रमा मात्र नभएर शिक्षा, स्वास्थ्य, कृषि र महिलाहरुको लागि कार्यक्रम ल्याएकी छु । अब ४ बर्षभित्रमा जे जनताले हामीबाट आश गर्नुभएको छ । हामी त्यसलाई पुरा गर्ने कोशिस गर्नेछौँ ।”

युवा भएर चुनाव जितेकोमा गर्व गर्ने चौधरी सबै क्षेत्रमा युवा वर्चश्व हुनुपर्ने धारणा राख्छिन्। कत्तिको काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्,” म अहिले केहिपनि भन्न सक्दिन । अब ४ बर्षपछि मेरो ठाउँमा अरु नै कोहि आएपछि मसँग उहाँको तुलना हुन्छ।”

निर्वाचनमा जितेपछि स्थानीय रोटरी क्लबले उनलाई मानार्थ सदस्यता दिएछ। रोटरी मिटिङ्गमा नियमित नगएपनि रोटरीका हरेक कार्यक्रममा सहभागी हुने चौधरीलाई रोटरी क्लबले गरेका सामाजिक कामहरु अति मन परेकोले सदस्य बनेको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्