बिजुली गाडी चार्ज गर्न अब ‘मोबाइल’ चार्जर !



३० पुष २०७५, काठमाडौं

जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले बिजुली गाडी चार्ज गर्ने अत्याधुनिक चार्जर बनाउने भएको छ । यो वर्षको मध्यमै सार्वजनिक हुने यो चार्जर एक ठाउँबाट अर्को ठाउँसम्म सहजै सार्न सकिनेछन् । यी चार्जर सबभन्दा पहिले जर्मनीकै वुल्फ्सवर्ग सहरमा राखिनेछन् । यसपछि विस्तारै अन्य सहरमा फैलाउने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो चार्जर एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने सुविधा त छँदैछ, गाडी चार्ज पनि अत्यन्तै छिटो हुनेछ । एउटा बिजुली कारको ८० प्रतिशत ब्याट्री पन्ध्र मिनेटमै चार्ज हुने कम्पनीको भनाइ छ ।

’बिजुली गाडी चार्ज गर्न सहज होस्, कहीँ समस्या नहोस् भनेर हामीले यस किसिमको चार्जर बनाएका हौं,’ फक्गवागन समूहका बोर्ड व्यवस्थापनका अध्यक्ष थोमस स्क्मलले भनेका छन्, ’यसले बिजुली गाडी विस्तारमा एक इँटा थप गर्नेछ ।’

थोमसका अनुसार यी चार्जर आवश्यक भएका कुनै पनि ठाउँमा राख्न सकिन्छ । यसनिम्ति बिजुली जडान चाहिँदैन । यो सुविधाले उपभोक्तालाई बिजुली गाडीमा आकर्षित गर्ने उनको विश्वास छ ।

सार्न मिल्ने चार्जरको सफल परीक्षण सकिएकोले आगामी छ महिनामा यी चार्जर जर्मनी, वुल्फ्सवर्गमा उपलब्ध हुनेछन् । सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ ।

यो चार्जर ३६० केडब्लुएच (किलोवाट घन्टा) छ । बिजुली जडान नचाहिने भएकाले जुनसुकै समतल भागमा राख्न सकिन्छ । एउटा चार्जरले १८ वटा बिजुली कारको ८० प्रतिशत चार्ज गर्न सक्छ ।

यसमा संकलित चार्ज २० प्रतिशतमा झरेपछि फक्सवागन कम्पनीको निगरानी शाखामा अलर्ट बज्छ । कम्पनीले यसलाई उठाएर नयाँ चार्जर राख्नेछ । अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ ।

यसमा सौर्य र वायू ऊर्जा संकलन गर्ने प्रविधि पनि छ ।

अध्यक्ष थोमसका अनुसार यी चार्जर ठूल्ठूला कार्यक्रम, समारोहहरूमा उपयुक्त हुनेछन् । यसका साथै सबै ठाउँमा स्थायी चार्जर राख्न नसकिने हुँदा गाडी चालक समस्यामा पर्दै आएका थिए । सार्न मिल्ने यी चार्जरले यो समस्या कम गर्नेछ ।

चार्जर कहाँ–कहाँ छन् भनेर अनलाइन वा एपमार्फत् पत्ता लाउन सकिन्छ । यसमा बिजुली गाडी र दुईपांग्रे दुवै चार्ज गर्न मिल्ने प्लग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्