बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने



२० मंसिर २०७५, बुरुन्डी

बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ ।

सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार आयोगका उच्चायुक्तलाई कार्यालय बन्द गर्न सन्देश पठाएको हो ।

“सबै अन्तर्राष्ट्रिय कर्मचारीलाई हटाउन र कार्यालय दुई महिनाभित्र बन्द गर्न भनिएको छ,” नाम बताउन नचाहने विदेश मन्त्रालयको एक उच्च स्रोतले बतायो ।

राष्ट्रसंघ स्रोतले पनि उक्त समाचारको पुष्टी गरेको छ । “बुरुन्डी सरकार अन्तर्राष्ट्रिय समुदायप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएको छ,” नाम बताउन नचाहने स्रोतले भन्यो । उक्त निर्णय नोभेम्बरमा गर्नेगरी तय भएको पूर्वी अफ्रिकी शिखर सम्मेलनमा सहभागी हुन बुरुन्डीले अस्वीकार गरेसँगै बाहिर आएको छ ।

बुरुन्डीमा जारी राजनीतिक सङ्कटका विषयमा समेत तान्जानीया सम्मेलनमा छलफल हुने अनुमान गरिएको थियो । राजनीतिक सङ्कट समाधानका लागि भएका धेरैवटा मध्यस्थ वार्ताहरु सरकारले निर्वासनमा रहेका विद्रोही समूहसँग भेट्न अस्वीकार गरेसँगै अन्यौलग्रस्त हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्