निकेल प्लान्टमा भएको विस्फोटपछि इन्डोनेसियाका मजदुरद्वारा प्रदर्शन



जाकर्ता । सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को स्वामित्वमा रहेको प्लान्टमा मजदुरले भट्टी मर्मत गर्ने क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ ।

एएफपीले प्राप्त गरेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरको प्रतिनिधित्व गर्ने युनियनले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् । मागमा धातु पगाल्ने संयन्त्रलाई राम्रो अवस्थामा राख्नुपर्ने, आपत्कालीन स्थितिको सामना गर्न स्वास्थ्य क्लिनिकको सुधार गर्नुपर्ने र चिनियाँ मजदुरलाई इन्डोनेसियाली भाषा सिक्नका लागि बाध्य बनाउनुपर्ने रहेका छन् ।

विस्फोटमा मारिनेमा आफ्नी श्रीमती र दुई छोराछोरीलाई छाडेर जाने ४० वर्षीय वेल्डर मुहम्मद तौफिक पनि रहेका थिए । तौफिकका काकाका छोरा परलिन हिदायतले भने, “परिवार शोकमा छ, उहाँ कमाउने व्यक्ति हुनुहुन्थ्यो ।” हिदायतका अनुसार आइटिएसएसले दुर्घटनापछि परिवारलाई छ करोड रुपैयाँ ९३० हजार छ सय २५ अमेरिकी डलर० क्षतिपूर्ति दिएको छ ।

प्रहरीका अनुसार विस्फोटपछि घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मृतकमध्ये आठ चिनियाँ पनि रहेको जानकारी दिए । उनले उक्त दुर्घटनाबाट बेइजिङ ‘अत्यन्त दुःखी’ रहेको बताए ।

उनलै दैनिक प्रेस ब्रिफिङमा भने, “चीनले सधैँ चिनियाँ लगानीको विदेशी परियोजनाहरूमा सुरक्षित उत्पादनलाई उच्च महत्त्व दिएको छ ।” विश्वको सबैभन्दा ठूलो निकेल उत्पादक तथा चीनको सबैभन्दा ठूलो स्टेनलेस स्टिल निर्माता सिङसान होल्डिङ ग्रुपसँग आइटिएसएसमा ठूलो हिस्सा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्