अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा



१८ मङि्सर २०७५, इस्लामाबाद

अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुग्नुभएको छ । अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उहाँ इस्लामाबाद आइपुग्नु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आउनुभएको हो ।

अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नुहुनेछ ।

संयुक्तराज्य अमेरिका र अफगानिस्तानले लामो समयदेखि तालिबानका गतिविधिमाथि नियन्त्रण नगरेको र आँखा चिम्लिएको आरोप लगाउँदै आएका छन् । तालिबानको नेतृत्व र उच्च कमान्डरहरु पाकिस्तानमा रहेको अमेरिकी आरोप छ ।

इस्लामाबादले तालिबानलाई खासै संरक्षण नगरेको तर अफगानिस्तानको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्