पर्यटन शुल्कबाट करोडौँ आम्दानी



२६ साउन २०७५, भक्तपुर

भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४ /७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको छ ।

गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो ।

गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेको नपास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिए ।

नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकसँग प्रतिव्यक्ति रु ५०० र तेस्रो मुलुकका पर्यटकबाट भने प्रतिव्यक्ति एक रु हजार ५०० प्रवेश शुल्क उठाउँदै आएको छ ।

भक्तपुर नगरले २०५० साउन ६ गतेदेखि पर्यटकबाट शुल्क उठाउन शुरु गरेको हो । नगरपालिकाले तेस्रो मुलुकका पर्यटकबाट रु ५० शुल्क लिँदै पर्यटन शुल्कको शुरुबाट गरेको हो । त्यसको तीन वर्षपछि नगरपालिकाले पाँच दोब्बर वृद्धि गरी २०५३ साउन १ गतेदेखि तेस्रो मुलुकका पर्यटकका लागि पाँच अमेरिकी डलर वा नेपाली रु ३०० शुल्क उठाएको थियो ।

नगरपालिकाले २०५४ पुस १७ गतेदेखि प्रतिव्यक्ति रु ३० बाट चीनलगायत दक्षिण एशियाली मुलुकका पर्यटकसँग शुल्क उठाउन थालेको हो । अमेरिकी डलरको मूल्य वृद्धिसँगै नगरपालिकाले २०५७ भाद्र १ गतेदेखि तेस्रो मुलुकका पर्यटकको प्रवेश शुल्क रु ३७५ पुर्याएको सुवालले जानकारी दिए ।

नगरपालिकाले २०५७ पुस १७ गतेबाट पर्यटक शुल्कमा दोब्बर वृद्धि गरी तेस्रो मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति रु ७५० वा १० अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकुका पर्यटकले प्रतिव्यक्ति रु ५० शुल्क उठाउन थाल्यो ।

वि.सं २०६७ पुस १७ गतेदेखि नगरपालिकाले तेस्रो मुलुकका पर्यटकसँग प्रतिव्यक्ति एकहजार १०० वा १५ अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकलाई भने रु १०० पुर्याइएको थियो ।

अमेरिकी डलरको मूल्य वृद्धि भएको भन्दै नगरपालिकाले पुनः २०७० पुस १७ गतेदेखि लागू हुने गरी तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार ५०० लिने व्यवस्था गर्याे, भने २०७१ साउन १ गतेदेखि चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकको लागि रु ५०० शुल्क निर्धारण गरेको हो । नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको पर्यटन शुल्कको आम्दानी नगरको सफाइ, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्