अर्जेन्टिनाको सिनेटद्धारा गर्भपतनसम्बन्धी कानुन अस्वीकृत, महिला अधिकारकर्मीहरु असन्तुष्टी



२४ साउन २०७५, काठमाडौं

अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ। यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ। यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ।

गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक त्यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो। उक्त विधेयक पारित हुँदा खुशी भएका त्यहाँका महिलाहरू बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उता, इसाई समुदायका सर्वोच्च गुरू पोप फ्रान्सिसको जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुशियाली छाएको बताइएको छ।

एकजना अधिकारीका अनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए। मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए। उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भूर्ण पतन गराउन पाउने प्रावधान रहेको थियो। त्यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए। महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरूले भने सिनेटको यस निर्णयको विरोध गरेका छन्। उनीहरूले पनि जुलुशहरूमार्फत विरोध प्रदर्शन गरेका छन्। यस कानुनका पक्षधर महिलाहरु हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए।

उनीहरूले आँशु झारेका दृश्यहरू पनि टेलिभिजनमा देखाइएको थियो। केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुङ्गामुढा गरेका थिए। उनीहरू गर्भपतनको कानुनका पक्षधर थिए। उनीहरूले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्