धान दिवसलाई विकृत बनाउँदै कृषि मन्त्रीहरु (फोटो फिचर)



१५ असार २०७५, काठमाडौं

कृषिप्रधान देश नेपालमा असार महिनाको निकै ठूलो महत्व रहेको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना भएकोले असार सम्झने बित्तिकै धान रोपेका यादहरु मानसपटलमा ताजा याद बनेर आउँछन् । दहि–चिउरा खाँदै धान रोप्दै मनाईने असार १५  शताब्दीऔँ देखि विशेष चर्चामा भएको पाईन्छ ।  सरकारले असार १५ लाई धान दिवसको रुपमा मनाउन थालेपछि भने यसले आम संचार र सामाजिक संजाल तताउदैं आईरहेको छ ।

बढ्दो विश्वव्यापीकरण, प्रविधिको विकास र जनतासँग टुट्दै गएको नेताहरुको सम्बन्धले गर्दा असार १५ को चर्चा काम गर्ने कृषकमा भन्दा नाटक गर्ने नेताहरु तिर केन्द्रित हुन थालेको छ ।  आजको युगमा सरकार, मन्त्री  र  कृषि मन्त्रालय नेपाली कृषिलाई आधुनिकिकरणतर्फ लान प्रयास गर्नुको साटो असार १५ लाई  साँस्कृतिक पर्व झैँ अनेकौँ नाटक मन्चन गर्न आफैँ लागेका छन् ।  जसले गर्दा यो दिवस कृषकको सहयोगी भन्दा पनि नेताहरुको मनोरन्जन र संगठन विस्तारको दिन बन्न पुगेको देखिन्छ ।

त्यसैले यो दिवसलाई कोण सभा, संगठन विस्तार गर्दै मनोरंजन दिवसको रुपमा रुपान्तरीत गर्दै लगेको देखिन्छ ।  जनतालाई राम्ररी थाहा छ, कृषिमा क्रान्ति गरेका राष्ट्रहरुमा नेताले होईन कृषकले समेत हिलो छुनु पर्दैन ।  हिलाम्य हुनु पर्दैन ।  नेपाली जनताहरु नेता वा मन्त्रीले हिलो छोए वा छोएनन् भन्नेमा होईन । कृषि प्रति उनीहरुको बुझाईलाई आम नागरिकहरुले मजाक मानिरहेका छन् ।

अझ पछिल्लो समयका कृषि मन्त्रीहरुले नै यो दिवसलाई विकृत, अमर्यादित र नाट्य दिवसको रुपमा मन्चन गर्न  थाले ।  जुन क्रम अहिले सम्म पनि रोकिएको देखिदैन ।

कृषिमन्त्री हरिप्रसाद पराजुलीले आफ्नो पदीय हैसियत र सामाजिक मर्याद विपरित धान रोप्ने निहुँमा महिलामाथि अभद्र, अशिष्ट र अमर्या्दित व्यवहार गरेर विकृतिको थालनी गरे । उनको चर्तिकला आम संचारमा छताछुल्ल भएपछि ईतिहासमै सबैभन्दा बढी आलोचित कृषि मन्त्री बनेका थिए । बढ्दो आलोचनापछि आफ्नो हर्कतबारे उनले संसदमा समेत स्वष्टीकरण दिनु परेको थियो ।

त्यसैगरी  अर्का  कृषिमन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले नै आयोजना गरेको औपचारिक  कार्यक्रममा कार्यालय भित्रै  कार्पेट र गलैचामाथि राखिएको गमलामा धान रोपेर जग हँसाए ।  नाटक जस्तो लाग्ने उनको रोपाईमा उनी औपचारिक पोषाकमा थिएभने एक महिला कर्मचारी रोप्ने बिउ समाएर छेउमा बसेकी थिईन भने अर्का पुरुष कर्मचारी करुवामा पानी हाल्न तम्तयार भएर बसेका देखिन्थे ।

उनको कार्यलाई संचार माध्यमले आधुनिक कृषि क्रान्ति भन्दै व्यंग्य समेत गरेका थिए ।  जवाफमा उनले एकदिन खेतमा धान रोपेर औचित्य नहुने बताएपछि उनी झनै आलोचित बन्न पुगेका थिए   ।

वर्तमान कृषिमन्त्री चक्रपाणी खनाल कपिलवस्तुको तिलौराकोटमा आयोजित धान रोपाईंमा सहभागी भएर यस वर्षको धान दिवस मनाए । अघिल्ला मन्त्रीहरु जस्तो आलोचित हुने काम नगरेपनि सेल्फी र नाँचगानले गर्दा उनको काम गराईमा जीवन्तता भने देखिएन् ।  तुलनात्मक रुपमा अघिल्ला मन्त्रीहरु भन्दा क्रान्तिकारी देखिएका उनी औपचारिक पोषाकमा मन्त्रालय धाउने भन्दा फरक हुलियामा भने पक्कै थिए ।

पर्व एक : तरिका अनेक

नेपाली नेताहरु समय, अवस्था र तरिकालाई ख्याल गर्ने सक्दैनन् वा जान्दैनन् । नजानेर हो वा जे गरे नि हुन्छ भन्ने सोचाईले  गर्दा सामाजिक कामहरुमा प्रशंसा भन्दा बढी आलोचित नै हुने गर्छन् ।  यस वर्षको धान दिवसमा पनि नेताहरुको त्यस्तै चर्तिकला देखाए ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा यो पटक बढी आलोचित बनेका छन् ।  खेतको आलिभरी पार्टीको झण्डा गाडेर धान रोप्न खेतमा पसेका उनी सहयोगीको अज्ञानता वा आफ्नै महानताले थोरै धानको विउ (केहि केस्रा) रोप्नु पर्नेमा धानको मुठै रोपिदिएका छन् ।

काठमाडौंको  जोरपाटीमा रहेको साहित्यिक संस्था अभिनव साहित्य समाज लगायत अन्य ५ वटा संस्था मिलेर काठमाडौंको बौद्धदेखि जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकलाई बेहाल बनाएको भन्दै सडकमा धान रोपी प्रतिकात्मक रुपमा सरकारको विरोध गर्दै कार्यक्रम आयोजना गरेका छन् ।

५० भन्दा बढी कविहरुले सडकको हिलो, धुलो, धुँवा, जाम लगायत सडकका नराम्रा पक्षको बारेमा कविता वाचन गरेर धान दिवस मनाईएको संस्थाका अध्यक्ष वेदमणि घिमिरेले परिवर्तन खबरलाई बताए ।

धान दिवसमा रक्षा मन्त्री, गृहमन्त्री, मुख्य मन्त्री अन्य मन्त्रीहरु र जननिर्वाचित प्रतिनिधिहरू समेत सहभागी भएका तस्विरहरुले सामाजिक संजाल तातेको छ ।

प्राप्त तस्विरहरुको आधारमा पूर्व प्रधानमन्त्री एवं सांसद डा. बाबुराम भट्टराई र नेकपा नेत्री तथा सांसद  राम कुमारी झाँक्री फोटो  खिच्न मात्रै रोपाईमा सहभागी नभएका जस्ता देखिन्थे । उनीहरुका तस्वीर हेर्दा वास्तविक झैं देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्