राष्ट्रपति भण्डारीकी आमा भन्छिन् : मलाई गर्व छ मेरी छोरी राष्ट्रको सेवामा छिन्



काठमाडौं, ३ वैशाख

मुलुकमा दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा ७६ वर्षीया मिथिला पाण्डे सुनसरीको बराहक्षेत्रस्थित आश्रममा बस्दै आएकी छन् । दस वर्षअघिदेखि उनी उक्त वृद्धाश्रममा बस्दै आएकी हुन् ।

आमाको मुख हेर्ने दिन राष्ट्रपति भण्डारीले आफ्नी आमालाई बराहक्षेत्रमै गएर भेट्ने गरेकी छन् । उनी आश्रमकी संस्थापक अध्यक्ष समेत हुन् । आश्रममा बसेर अरु वृद्धाहरुको सेवामा समेत सक्रिय उनी चतराधाम क्षेत्रमा हुने धार्मिक–आध्यात्मिक कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् ।

मुुलुकको राष्ट्रपतिकी आमा वृद्धाश्रममा बसेको खबर बाहिरिँदै कुनै बेला धेरै आश्चर्यमा परेका थिए । तर, राष्ट्रपतिकी आमाको पीडा आफू वृद्धाश्रममा भएकोप्रति एकरत्ति छैन । उनलाई त, आफूलाई जोडेर आफ्नी छोरीको आलोचना गरिएको विषयले बढी सताउने गरेको छ । ‘म यहाँ आफ्नो शौखले बसेकी हुँ,’ उनले भनिन्, ‘तर मेरी छोरीलाई मेरो विषयमा जोडेर गरिएको आलोचनाले भने मन दुख्छ ।’

एकपटक आफूलाई भेट्न क्यामेरा बोकेका एक व्यक्ति आएका र उनलाई आफूले भनेका केही कुरा बंग्याएर लेखेको भन्दै उनले असन्तुष्टि जनाइन् । उनले आफू अहिले सार्है खुसी र सुखी आमाको अनुभूति गरिरहेको सुनाइन । ‘समाजसेवा मेरो इच्छा हो, उनले भनिन्, ‘मलाई गर्व छ मेरी छोरी राष्ट्रको सेवामा छिन् ।’

प्रतिक्रिया दिनुहोस्